जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । घटनामा चार जना घाइते भएका छन् ।


ADVERTISEMENT


महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको बम गएराति सवा १२ बजेतिर  विष्फोट हुँदा अन्दाजी ४५ वर्षीय राजेश साह र उनको अन्दाजी २५ वर्षीय छोरा आनन्दको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिएका छन् ।


ADVERTISEMENT

# # #


घटनामा राजेश साहको अन्दाजी १९ वर्षीया छोरी अञ्जली, २५ वर्षको छोरा प्रकाश, प्रहरी निरीक्षक अमिर कुमार दाहाल र प्रहरी जवान रिजनाथ कुमार महतो घाइते भएका छन् । उनीहरुलाई जनकपुर प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ । चारै जनाको अवस्था गम्भीर छ ।

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दाहाल नेतृत्वको टोली खटिएको थियो । त्यहाँ जम्मा भएको भिड हटाउँदै गर्दा बम विष्फोट भएको थियो । प्रहरी निरीक्षक दाहाल र प्रहरी जवान महतोको बायाँ कोखमा बमको छर्रा लागेको छ ।

बम विष्फोट कसले गरायो भन्ने खुलेको छैन । शनिबार बिहानसम्म घटनाको जिम्मा पनि कसैले लिएको छैन । यद्यपि बम विष्फोटमा विप्लव समूहको संलग्नता रहेको अनुमान छ । राजेश साहले ब्याजमा पैसा लगाउने गर्दथे । मिटरब्याजी भएको आरोपमा विप्लव समूहले बम विष्फोट गराएको हुन सक्ने प्रारम्भिक अनुमान छ । अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुरसहितको प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको छ ।