काठमाडौं – नेपालस्थित जनवादी गणतान्त्रिक चीनको राजदूतावासले नेपाल प्रहरीलाई मोटरसाइकल सहयोग गरेको छ । राजदूतावासले महानगरीय प्रहरी कार्यालय काठमाडौंलाई सहयोग स्वरूप ५६ लाख ३२ हजार ७ सय रूपैयाँ मूल्य बराबरका २३ वटा मोटरसाइकल हस्तान्तरण गरेको हो ।


ADVERTISEMENT


मंगलबार आयोजित एक कार्यक्रमको आयोजना गरी महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई चिनियाँ राजदुतावासका फर्स्ट सेक्रेटरी वाङ जियाहो लोङले मोटरसाइकलको साँचो हस्तान्तरण गरेका छन् ।


ADVERTISEMENT

# # #


सो अवसरमा चिनियाँ राजदूतावासका फर्स्ट सेक्रेटरी लोङले महानगरीय प्रहरी कार्यालयस्थित परिचालन कक्ष र सिसिटिभि कक्षको अवलोकन भ्रमण समेत गरेका थिए । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक थापा क्षेत्रीले प्राप्त मोटरसाइकलहरूको प्रयोगबाट प्रहरी परिचालनमा थप तीव्रता आउने विश्वास व्यक्त गर्दै सहयोगका लागि चिनियाँ राजदूतावासलाई धन्यवाद व्यक्त गरे ।

उपलब्ध भएका २३ वटा मोटरसाइकललाई आवश्यकता अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका प्रहरी कार्यालयहरूलाई वितरण गरिने समेत उनले जानकारी दिए ।

राजदूतावासका फर्स्ट सेक्रेटरी लोङले शदियौंदेखिको नेपाल चीनबीचको मैत्री सम्बन्धलाई थप प्रगाढ पार्ने विश्वास व्यक्त गर्दै मोटरसाइकलहरूको सहयोग यसै प्रगाढ सम्बन्धको प्रतिक भएको उल्लेख गरे ।

उक्त सहयोगले काठमाडौं उपत्यकाका अत्यधिक जनघनत्व र भौतिक संरचनाहरूको कारणले चारपाङग्रे सवारी साधन सबै ठाउँमा पुग्न कठिन हुने अबस्थामा घटनास्थलमा तत्काल प्रहरीको पहुँच पुग्ने विश्वास लिइएको छ ।