फागुन, १९ । म्याग्दीमा प्रस्तावित रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै स्थानीय आन्दोलित बनेका छन् ।


ADVERTISEMENT


स्थानीय तहको पुनःसंरचनाका लागि गठित आयोगले ठूलो जनसङ्ख्यालाई सास्ती हुने गरी रघुगङ्गा गाउँपालिकाको केन्द्र अस्थायी रुपमा पाखापानी तोकेको विरोधमा उनीहरु आन्दोलित बनेका हुन् । रघुगङ्गा गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिले आज सडकमा चक्काजाम, बेनीमा दबाबमूलक प्रदर्शनलगायतका दबाबमूलक आन्दोलन थालेका छन् ।


ADVERTISEMENT

# # #


उनीहरुले गाउँपालिकामा समेटिएको पिप्ले गलेश्वरमा सवारी साधन आगमनमा रोक लगाउँदा बेनी–जोमसोम सडकखण्डका सवारी साधन आवतजावत गर्न सकेका छैनन् । उनीहरुले पिप्लेतर्फको गलेश्वरस्थित रघुगङ्गा खोलाको पुलमा धर्नासहित अनिश्चितकालीन यातायात बन्द गराएका छन् । व्यावहारिक रुपमा गाउँपालिकाको केन्द्र तोक्न माग गर्दै जिल्ला निर्वाचन कार्यालय र जिविसमा समेत तालाबन्दी गरिएको सङ्घर्ष समितिका बालकृष्ण सुवेदीले बताए ।

पिप्ले, भगवती, बेगखोला, दग्नाम र चिमखोला गाविसका प्रतिनिधिहरु सम्मिलित टोलीले गाउँपालिकाको केन्द्र मौवाफाँटलाई तोक्नुपर्ने भन्दै विरोधस्वरुप बुधवार दुई कार्यालयमा तालाबन्दी गरेका थिए । उनीहरुले निर्वाचन कार्यालय र जिविसमा तालाबन्दीपछि प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेललाई समेत आफ्नो आन्दोलनका कार्यक्रमबारे ध्यानकर्षण गराएका छन् ।

सरोकार समितिले उठाएको आन्दोलनमा जिल्लामा क्रियाशील राजनीतिक दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टीका जिम्मेवार नेताहरुले समेत ऐक्यबद्धता जनाएका छन् ।

गाउँपालिकामा समावेश भएका गाविसको प्रशासनिक सुगमता र भौगोलिक बनावटका साथै बस्ती विस्तारको सम्भावनाले मौवाफाँटलाई केन्द्र बनाउन पटक पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराए पनि सुनुवाइ नभएपछि चरणबद्ध सङ्घर्षका कार्यक्रमसहित आन्दोलनमा उत्रिनुपरेको सङ्घर्ष समितिका विनोद केसीले बताए ।