– डा. लोकराज बराल, राजनीतिक बिश्लेषक

नेपालमा विकास र परिवर्तनका कुरालाई दुई किसिमबाट हेर्न सकिन्छ । एउटा आफै भएको परिवर्तन र अर्को हाम्रो मेहनेतले भएको परिवर्तन ।  प्रविधिको विकासले अहिले विश्वलाई एक ठाउँमा ल्याइदिएको छ । प्रविधिमा आएको क्रान्तिले प्रत्येक देश उन्नतीतर्फ लम्किरहेका छन् । नेपाल पनि त्यही प्रविधिको प्रयाग गर्दै विकासको बाटोमा अग्रसर देखिन्छ । प्रविधिको प्रयोगमा हामीलाई सहज भएको छ ।अरुले आविष्कार गरेको कुरा हामीले प्रयोग गर्ने मात्रै हो । जस्तो भारतमा सुरुमा रंगिन टेलिभिजन थिएन । नेपालीहरु पनि त्यही भारतीय श्यामस्वेत टेलिभिजन हेर्ने गर्थे । तर, हामीले आफ्नो देशमा सुरुवात नै रंगीन टेलिभिजनबाट गर्‍यौँ । टेलिफोन हुँदै मोबाइल पनि यही प्रक्रियाद्वारा नेपालमा आए । परिवर्तन समयसापेक्ष हुँदैछ । जुन हाम्रो मेहनेत नभई परिवर्तन भए ।

अर्को भनेको हाम्रो मेहनेतले भएका परिवर्तनहरु । जस्तो बाटोघाटो, यातायात, बिजुली, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत आधारभूत तथा भौतिक पूर्वाधारका कुराहरु भए । जुन सरकार र जनताको तर्फबाट भएका छन् ।


ADVERTISEMENT


 # #


२०२७ सालसम्म झापाबाट काठमाडौँ आउन रेलमा सिलिगुढी, दरभंगा हुँदै रक्सौलमा आएर नेपाल प्रवेश गरेर आउनु पर्थ्यो । पैसा हुनेले हवाई जहाजमार्फत विराटनगरबाट आउँथे । अब अहिले एकैदिन वारपार गर्छौं । पूर्व ताप्लेजुङदेखि पश्चिममा दार्चुलासम्म गाडी पुगेका छन् । त्यसकारण परिवर्तन नभएको होइन, भएको छ ।

मानिसमा चेतानाको विकास भएको छ । शिक्षा, स्वास्थ्यको विकास भएको छ । तर, समयको आवश्यकता र गति अनुसार भएन ।

समयसँगै आएका जटिलताहरुलाई हामीले पार लगाउन सकेनौँ । फलस्वरुप ३०–४० लाख युवाहरु रोजगारीका लागि विदेशिएका छन् । भारतमा रहेका त त्यसमा अटेका छैनन् । ती मान्छेलाई भोलि नेपाल फर्काउनु पर्यो भने के गरेर राख्ने ? त्यसको योजना बनाइएको छैन ।

काठमाडौँले अब मान्छे धान्न सक्ने अवस्था छैन । हिंड्नलाई ठाउँ छैन । त्यसकारण यो जटिलतालाई निभाउन सकिएन भने हामी भड्खालोमा पर्ने सम्भावना नजिक छ ।

‘कंगारु’ राजनीतिक परिवर्तन 

राजनीतिक परिवर्तनमा त हामीले क्रान्ति नै ल्यायौँ । वि.सं. २००७ साल पनि मैँले देखेको, १७ सालमा विपीलाई मेरै आँखा अघि पक्राउ गरिएको हो । त्यसपछि जनमत संग्रह पनि देखियो, ४६ सालको आन्दोलन र बहुदलीय व्यवस्था फर्किएको पनि देखियो । हुँदा हुँदा राजतन्त्र फालेर गणतन्त्र पनि एकदमै चाँडो आयो । ५–७ वटा संविधान परिवर्तन भए ।

अन्य देशमा राजनीति एउटा लयमा परिवर्तन भएको हुन्छ । तर, हाम्रोमा हठात हुन्छ । म त्यसलाई ‘जम्प थ्यौरी अफ पोलिटिक्स’ भन्छु ।

यहाँबाट उफ्रेर त्यहाँ, त्यहाँबाट उफ्रेर यहाँ । २००७ साल, १७ साल, ३६, ४६ साल, ०६२, ६३ हुँदै अब के सालसम्म पुगिन्छ थाहा छैन ।

गणतन्त्र पनि आयो, जनताले बनाएको संविधान पनि आयो । अब के खोज्ने ? तर, जनता पर्खिँदा रहेनछन् । दुई तिहाईको सरकार, हामी बलियो भनेर भन्छन् । तर, भनेजस्ते बलियो पनि देखिँदैन । कोही राष्ट्रपति कहाँ कुदेका छन्, कोही अन्तै कुदेका छन् । प्रधानमन्त्री नै अस्वस्थ हुनुहुन्छ । दुई वर्षमा निर्देशन बाहेक उहाँले पनि केही गर्न सक्नुभएन । त्यसकारण दुई तिहाई भएर मात्रै भएन ।

उफ्रिएर मात्रै भएन !

अहिले पनि डेढ घण्टाको बाटा हिंड्दै डोकोमा पानी बाकेर खानु परेको छ । कति ठाउँमा बत्ति बलेको छैन । विद्यार्थी अहिले पनि हिउँमाथि बसेर पढेको देख्न सकिन्छ । पढ्नका लागि सरकारी विद्यालयमा कोही जाँदैनन् । भाषण बढी हुन्छ ।

सस्ता नारा लगाएर यो गर्छु, त्यो गर्छु, रेल चलाउँछु, पानीजहाज चलाउँछु भन्छन् । कामकुरा एकातिर कुम्लो बोकी ठिमीतिर भनेजस्तो भइरहेको छ ।

जनताका स–साना कुराहरु, शिक्षा, स्वास्थ्य र रोजगारमा पो ध्यान दिनुपर्छ ! अनि पो ठूलो कुरा गर्ने हो । त्यो छैन अनि एकैपटक उफ्रिन्छु भन्दा कहाँ हुन्छ ?

राजनीति ठीक छैन । राजनीति ठीक नभएपछि अरु व्यवस्था ठीक हुँदैन । 

जनताबीच नै असन्तुष्टिहरु छन् । जनतालाई समेटेर अघि लैजान सकेको राष्ट्र मात्रै सफल हुन्छ । संविधानले नै महिलालाई ३३ प्रतिशत अधिकार भनेर छ्ट्याएको छ । दलहरुले झन् घटाउँदै ल्याएका छन् । त्यो अनुपातमा अहिले सरकारदेखि पार्टीसम्म महिलाको उपस्थिति छ ?

अहिले पनि महीनावारीबारे भ्रमहरु छन् । महिलाले दुःख पाइराखेका छन् । दलितको अवस्था त्यस्तै छ । अन्य जातजातीहरुको पनि आफ्नै
गुनासाहरु छन् ।

राष्ट्र भनेको सबैलाई मिलाएर लैजाने संस्था हो । तर, हाम्रो मानसिकता नै पूरानो छ । त्यसले नै हो परिवर्तन गर्न नदिएको ।

प्रतिकृया

प्रतिकृया