– डा. लोकराज बराल, परराष्ट्रविद

कुटनीति भनेकै अर्कोपक्षसँगको सम्बन्ध विस्तार हो । हरेक देशको विकासमा कुटनीतिले पनि उत्तिकै भूमिका खेलेको हुन्छ । तर, नेपालको सन्दर्भमा कुटनीति कमजोर रहँदै आएको छ । अहिलेको सन्दर्भ र समयलाई बुझेर परराष्ट्र नीति तर्जुमा गर्नुपर्‍यो ।


ADVERTISEMENT


अहिले हामी ‘एडहक्किज्म’ अर्थात् तदर्थवादमा चलेका छौँ ।

वि.सं. २०४६ साल देखि यसरी नै चल्दै आएका छौँ ।


ADVERTISEMENT

# # #


झन् अहिले साँघुरिँदै आएर चीन र भारतमा मात्रै सीमित हुन थालेका छौँ । बेलाबेला अमेरिका आउँछ । एशिया प्यासिफिक र एमसीसीको सन्दर्भमा मात्रै अहिले अमेरिका आइरहेको छ ।

धेरै मुलुकहरुसँगको सम्पर्क घटेर गएको छ । संयुक्त राष्ट्र संघले हामीलाई बचाउँछ भन्ने आधार छैन । कुटनीति राम्रो भएमा मात्रै कुनैपनि मुलुकले आफू भन्दा पछि रहेका मुलुकलाई ‘एड’ दिने हो ।

१९५२ मा नै अमेरिकी एड नेपाल आएको थियो । त्यसपछि भारत आएको हो ।

एउटा देशले माया/दाया लागेर यत्तिकै सहयोग त गर्दैन । उसको पनि आफ्नै स्वार्थ हुन्छ । तर, आफ्नो हित हेरेर विकासका लागि त्यो सहयोग लिनु पनि पर्छ । कसरी त्यसलाई सदुपयोग गर्ने भन्ने पनि जान्नुपर्छ । त्यही हो कुटनीतिक व्यवस्थापन ।

बाहिरि तत्व/शक्तिको व्यवस्थापनको कलालाई नै कुटनीति भनिन्छ । त्यसकारण कुटनीति भनेको जनता र देशको हितका लागि गरिने नीति हो । राष्ट्रिय स्वार्थ भनेको पनि त्यही हो ।

अहिले अमेरिकाको प्यासिफिक र एमसीसीको सन्दर्भमा सरकारको नीति के हो स्पष्ट छैन । एकातिर सत्तारुढ पार्टीकै अध्यक्षले कहिले के भन्छन्, कहिले के । प्रधानमन्त्रीले संसदबाट पास गराउन चाहेका छन् । तर, त्यो पार्टीमै विरोध छ । भेनेजुएला प्रकरणमा प्रचण्ड चिप्लिए । उनले त्यसरी भन्न पाउँदैनन् । किनकी उनको च्यानल भएको पार्टीले नै सरकारको नेतृत्व गरिरहेको छ । यस्ता कुराहरुमा के गर्ने भन्ने एउटा रणनीति बनाउनु पर्‍यो ।

कतिपयले एशिया प्यासिफकलाई अमेरिकाले आफ्नाे शक्ति विस्तारका लागि गरिएको रणनीति भनेका छन् । रणनीति राजनीतिक मात्रै हुँदैन आर्थिक पनि हुन्छ । यो कुनै सैन्य गठबन्धन नभई एशिया क्षेत्रको विकासको लागि हो, अफ्रिका, ल्याटिन अमेरिकामा छ भनेर अमेरिकी राजूदतले नै भनेका छन् । भोलि अमेरिकाले लडाईं लड्न आउ भन्यो भने नगए भइहाल्यो नि । पहिले पनि चीन र भारतको लडाईंमा हामी गएनौँ ।

१९५० को सन्धि अनुसार (तेस्रो मुलुकसँग केही भइहाल्यो भने दुई मुलुक मिलेर हटाउने भनिएको छ ।) हाम्रा सिपाही सोझै हामीले भारतमा पठाउनु पर्थ्यो । तैपनि हामी गएनौँ नि त ! त्यसकारण हाम्रो छनोटको विकल्प  त छँदैछ ।

परराष्ट्रमन्त्रीले पटक‍ पटक स्पष्टिकरण दिएका छन् यो सहयोग मात्रै हो भनेर । प्रधानमन्त्रीले पनि याे विषयमा साथ चाहेका छन् । तैपनि रणनीति भनेर सत्तारुढ दलकै नेताहरु ‘एड’देखि डराएका छन् । चीनले दिएको बीआरआईमा पनि उसको रणनीति छ । नेपाल भ्रमणका बेला होटेल सोल्टीमा चिनियाँ राष्ट्रपतिले नै हाम्रो रणनैतिक सम्बन्धलाई अझ माथि लैजाने भनेका छन् ।

चीनको बीआरआईको कुरा रणनीति भएन, अमेरिकाले दिएकोमा रणनीति कसरी भयो ? फलानोले दिएको रणनीति हुन्छ, अर्कोले दिएको रणनीति हुँदैन भनेर त भएन नि ! यसमा नेतृत्वको अभाव देखिएको छ ।

बेलाबेला नेपाल र भारतबीच सीमा सम्बन्धी विवादहरु सुनिन्छन् । भारत सबैभन्दा निकट छिमेकी देश हो । सानातिना बिषयहरु उचालिए पनि दुई देशबीचको सम्बन्ध बेजोड छ । एकअर्काका लागि परिपुरक छ । भारत ठूलो भएकाले यहाँ जतिसुकै हो–हल्ला भएपनि त्यसले हिन्दुस्थानमा त्यती ठूलो प्रभाव पार्दैन । त्यसकारण व्यापक सहकार्य र सम्बन्धलाई ध्यान दिँदै नेपाल भारत सम्बन्धलाई निरन्तरता दिनु नै नेपालको हितमा छ ।