बिमलबहादुर विष्ट, डोटी – सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा बसोबास गर्ने बादी समुदायको माटाका भाडा बनाउने पुर्खौली पेशा हाल संकटमा पर्न थालेको छ ।


ADVERTISEMENT


परम्परागत रुपमा माटोबाट हण्डी, घैटा, गमला, सुल्पा, चिलिम, दिया, कलश, माट, सिरौटा, चुला लगायतका आकर्षक सामग्रीहरु तयार पारी बिक्री गर्दै आएका यहाँका बादी समुदाय आफूसँग जमीन नभएका कारण भाँडा बनाउन आवश्यक माटो नपाइने हुँदा पेशा नै संकटमा पर्दै गएको बताउँछन् ।


ADVERTISEMENT

# # #


माटोमा मिसाउने कच्चा पदार्थ र आधुनिक प्रविधि तथा जमीनको अभावमा उत्पादित माटाका सामग्री आयातित धातु एवं प्लाष्टिकका सामग्रीसँग प्रतिस्पर्धा गर्न नसकेपछि पेशा संकटमा परेको दिपायल पिपल्लाका तेजबहादुर बादीले बताए ।

उनले भने “हामीले विगतका दिनमा माटाका भाँडाहरु बनाइ मालिक स्थानीय भाषामा (खले प्रथा दिनेलाई) हरुलाई दिने र बाँकी रहेका सामग्री गाउँगाउँमा बिक्री गर्दै आएका थियौँ, माटो नपाउँदा काम ठप्प भएकाले साँझ बिहानको हातमुख जोर्न पनि धौँ धौँ परेको छ ।” परम्परागत रुपमा बादी समुदायले गर्दै आएको पेशा संकटमा परेपछि हाल उनीहरु जीवन धान्नका लागि पनि संकटमा परेको बादी समुदायका अगुवा पदम दासले बताए । उनले भने, “डोटीका बादी जातिका हातमा न त नागरिकता प्रमाणपत्र नै छ, न त जग्गाधनी लालपूर्जा नै, हामीले के गरी खाने ।”

यति मात्र नभई यहाँका केही बादी जातिका सदस्यले बिहान बेलुकीको छाक टार्नकै लागि भए पनि यौन पेशा लगायतका काममा लाग्नुपर्ने बाध्यता रहेको स्थानीयवासी बताउँछन् । पेशा संकटमा परेपछि अन्य रोजगारीको कुनै अवसर नहुँदा बादी समुदाय अहिले के काम गर्ने भन्नेबारे विषयमा अन्यौलमा परेका छन् ।

बादी समुदायका लागि यहाँको दिपायल सिलगढी नगरपालिकाले जग्गा खरिद गरेपनि सबै बादीले जग्गा भने पाएका छैनन् । शिक्षा क्षेत्रमा खासै चासो नराख्ने डोटीका बादी समुदायमा हालसम्म चारदेखि पाँच जनाले मात्र एसएलसी पास गरेको बताइएको छ ।

जिल्ला भरीमा कूल ५०० परिवार बादी समुदाय रहेको बताइएको छ । आफ्नो जमीन नभएका कारण बादीहरु पूरै जिल्ला भरीमा छरिएर रहेको बादी समुदायका अगुवा पदम दासले जानकारी दिए। आधुनिक बजारीकरणमा आएका प्लाष्टिक सामग्री बढी मात्रामा प्रयोग हुने भएकाले माटोबाट बन्ने सामग्री बिक्री नहुने अवस्था देखिएको दिपायल पिपल्लाका स्थानीयवासी तथा व्यवसायी ध्वजबहादुर देउवाले बताए।

जिल्ला सदरमुकाम सिलगढी तथा सुदूरपश्चिमको पुरानो क्षेत्रीय सदरमुकाम दिपायलमा बसोबास गर्दै आएका करिब १४÷१५ घर परिवार बादी समुदायले आफ्नो पेशा संकटमा परेकाले पुनः सञ्चालनमा ल्याउनका लागि जिल्लास्थित विभिन्न सङ्घसंस्थासँग माग गरेका छन् । दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मञ्जु मलासीले संकटमा परेको बादी समुदायका पेशा सञ्चालनका लागि पहल भइरहेको बताए । उनले भेन, “बादीको पेसा पुनः सञ्चालनका लागि हामीले पहल चालेका छौँ, सबैको लागि जमीन खरिद गर्ने प्रक्रिया शुरु भएको छ, पेशा सञ्चालन गराउने छौँ ।” सबै बादीको आफ्नो जमीन तथा घर नहुँदा उनीहरु दिपायल पिपल्लास्थित सेती प्राविधिक शिक्षालय नजिकको सडकमा बसीरहेका छन् । रासस