काठमाडौँ –प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख अग्निप्रसाद सापकोटाले सपथ ग्रहणपछि पदभार ग्रहण गरेका छन् ।


ADVERTISEMENT


सभामुख सापकोटाले आजै राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपालको संविधानबमोजिम पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसलगत्तै सिंहदरबार पुगेर पदभार ग्रहण गरेका हुन् । सिंहदरबारमा उनलाई संघीय संसद सचिवालयका कर्मचारी र शुभचिन्तकले स्वागतसहित शुभकामना दिएका थिए ।


ADVERTISEMENT

# # #


पदभार ग्रहण पछि बोल्दै सभामुख सापकोटाले सभामुख सापकोटाले सदनमा दर्ता भएका विधेयकका साथै सङ्कल्प प्रस्ताव, सार्वजनिक महत्वका प्रस्तावलाई प्राथमिकता क्रम छुट्टयाएर अगाडि बढाउने बताए । ‘हामीले चुनेर पठाएका प्रतिनिधिले लोकतान्त्रिक बाटोबाट छलफल गरेका छन् भनेर जनताले अनुभव गर्नेगरी सदनलाई अगाडि बढाउँछु’, उनले भने, ‘केही विधेयक प्रमाणीकरण गर्न बाँकी छ । प्राथमिकता प्राप्त विधेयकलाई शीघ्र अगाडि लैजाने र विधेयकको प्राथमिकता छुट्टयाएर काम गर्नेछु ।’

पछिल्लो समय निकै चर्चाको केन्द्रमा रहेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले संसदबाट पास गर्नका लागि हतार नभएको प्रक्रिया दिए । ‘यसबारे बहस छेडिएको छ । जब बहस छेडिन्छ, निचोडतिर पुग्छ ।’ उनले भने, ‘अध्यनन गर्दै जाउँ न सबैले । यसलाई अहिले किन हतार गर्नुपर्‍यो र !’

सापकोटा आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।प्रतिनिधिसभाको सभामुखमा सापकोटाको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। उनको समर्थकमा नेकपा संसदीय दलका नेता सुवास नेम्वाङ, राजपाका लक्ष्मणलाल कर्ण र पूर्व सभामुख ओनसरी घर्तीमगर रहेका थिए। बैठकको अध्यक्षता गरेका प्रतिनिधिसभाका जेष्ठ सदस्य महन्थ ठाकुरले सापकोटालाई प्रतिनिधिसभाको सभामुख भएको घोषणा गरेका थिए।

संसद् सचिवालयका एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले गत असोज १५ गते पदबाट राजीनामा दिएका थिए । हाल उनी पुर्पक्षका लागि थुनामा रहेका छन् ।

महराको राजीनामापछि झण्डै चार महीना सभामुखको पद रिक्त थियो ।

तस्बिर : रासस