काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री पदका लागि रामहरि खतिवडाले उम्मेदवारी दर्ता गराएका छन्।
खतिवडाले राष्ट्रिय सभागृह पुगेर सहमहामन्त्रीको खुला समूहबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। उम्मेदवारी दर्तासँगै उनका समर्थक तथा शुभेच्छुकहरू सभागृह परिसरमा भेला भएका थिए।
खतिवडा यसअघि नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहिसकेका छन्। ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनले संसद्मा सक्रिय भूमिका निर्वाह गरेका थिए।
उनले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।
सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गरेसँगै खतिवडाले पार्टीलाई थप सुदृढ बनाउँदै संगठनमा युवा सहभागिता र प्रभावकारी नेतृत्वलाई प्राथमिकता दिने बताएका छन्।


















