नारायण ढुङ्गाना, मनमोहक हिमशृङ्खला, गौतमबुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिक, धार्मिक तथा सांस्कृतिक विविधताका कारण नेपालले अन्य मुलुकलाई झैँ बङ्गलादेशका नागरिकलाई पनि लोभ्याउने गरेको छ । मुलुकको मौलिक विशेषतालाई विश्वसामु पु¥याउने प्रयास कमजोर देखिए पनि जसले नेपालबारे थाहा पाएका छन्, उनीहरुमा नेपाल घुम्ने उत्कृठ चाहना देखिन्छ ।

छुट्टै पहिचान बोकेकै कारण एकपटक नेपाल घुम्न आएका पर्यटक पुनः फर्कने गरेका तथ्याङ्कले देखाउँछ । पाँचपटक नेपाल घुमेका बङ्गलादेशी युवा नेता विप्पादित्य बसु पनि त्यसैको उदाहरण हुन्। उनमा अझै नेपाल भ्रमणको चाहना मरेको छैन । “विगतमा काठमाडौँ, विराटनगरलगायत क्षेत्र घुमेको हुँ, पोखरा जान पाएको छैन, यसपटक जाने इच्छा छ”, उनले रासससँग कुरा गर्दै भने। यसपटक भ्रमण वर्ष परेको र अर्को महिना नेपाल–बङ्गलादेश युवा सम्मेलन पनि रहेकाले ३५ जनाको समूह नेपाल घुम्न जान लागेको उनले बताए ।


ADVERTISEMENT

# # #


नेपाललाई स्वर्ग मान्ने धेरै बङ्गालीको नेपाल घुम्ने चाहना अधुरै हुने गरेको छ । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको गत कात्तिक २६ देखि २९ गतेसम्म भएको नेपालको औपचारिक भ्रमणले दुई देशबीचको कूटनीतिक मात्रै होइन जनस्तरको सम्बन्धमा पनि नयाँ आयाम थपेको छ । भ्रमणका क्रममा राष्ट्रपति हमिदले पुरातात्विक क्षेत्र भक्तपुर र पोखराको प्राकृतिक दृश्यावलोकनले बङ्गलादेशका नागरिकलाई नेपाल घुम्न थप प्रोत्साहन गरेको छ ।

राष्ट्रपति हमिदको भ्रमणलगत्तै नेपाल भ्रमण वर्ष २०२० शुरु भएको छ । नेपालले २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । गत वर्ष ११ लाख ९७ हजार १९१ पर्यटक नेपाल घुमेका थिए । भ्रमण वर्षमा थप आठ लाख पर्यटक भित्र्याउने चुनौती नेपाललाई छ । उचित प्रचार गर्न सके १७ करोड जनसङ्ख्या भएको बङ्गलादेशले सघाउ पु¥याउन सक्छ । बङ्गलादेशमा बढी तराई क्षेत्र भएकाले यहाँका नागरिकलाई नेपालको हिमालयन क्षेत्र औधी मनपर्ने ठाउँ हो ।

नेपालको खुला बजार, हरियाली डाँडाकाँडा, साहसिक र मनोरञ्जनात्मक गतिविधिले उनीहरुलाई लालायित बनाउँछ । बङ्गलादेशको राजशाही विश्वविद्यालयमा उच्च शिक्षा पढ्दै गरेकी लीमा शिरिना एक्टेरलाई नेपाल घुम्न औधी रहर छ । नेपाली संस्कृति र ऐतिहासिक क्षेत्र घुम्न र त्यहाँको स्थलगत अवलोकन गरेर जानकारी लिने इच्छा रहेको उनले बताए । अहिले नेपाल भ्रमण वर्ष चलिरहेको जानकारी रहेको बताउने एक्टेरको सकेसम्म सदुपयोग गर्ने कोसिस छ ।

बङ्गलादेशको विकसित शहर राजशाहीकी साइमा कोमोर गुन्जोन भन्छन्, “नेपालीहरु सहयोगी र समन्वयकारी त छन् नै त्यससँगै नेपालको प्राकृतिक वातारण नै सुन्दर छ, त्यसैले आफूलाई लोभ्याइरहेको छ ।” राजधानी ढाका र ग्रिनसिटी राजशाहीमा भेटिएका विद्यार्थी, व्यवसायी, शिक्षक, पत्रकार, राजनीतिज्ञ सबैले नेपाल घुम्न इच्छा रहेको सुनाउँछन् । पत्रकार जिउल गनी सलिम अर्को महिना समूहमा नेपाल भ्रमणको तयारीमा छन् । व्यवसायी अमिन रिङ्कु पनि सोही भ्रमण टोलीमा सहभागी हुँदैछन् ।

सगरमाथाको देश नेपाल आफैँमा प्राकृतिक छटाले भरिएकाले आफूलाई घुम्ने रहर जागेको सलिमको भनाइ छ । पत्रकार सलिमको बुझाइमा नेपाल बङ्गलादेशको असल छिमेकी र राम्रो सम्बन्ध भएको मुलुक हो । नेपाल र बङ्गलादेशको सीमा दूरी जम्मा २७ किलोमिटरको मात्रै छ । “घुम्ने धेरै विकल्प नेपालमा छ, हिमाल, पहाड र तराईको संयोजन भएको प्राकृतिक सुन्दरतायुक्त छ, साहसिक गतिविधिमा रम्न सकिन्छ”, त्यसैले बङ्गलादेशी नागरिक नेपाल घुम्न चाहन्छन्”, सलिमले थपे ।

१७ करोड जनसङ्ख्या भए पनि भ्रमण भने न्यून

बङ्गलादेशको राजधानी ढाकाबाट गाडीमा दुई दिनमै नेपाल आउन सकिन्छ । हवाईयात्रा केही घण्टाको मात्रै हो । तराई क्षेत्र बढी भए पनि नेपाल र यहाँका नागरिक, उनीहरुको बानी बेहोरा, खाना तथा भौगोलिक क्षेत्र उस्तैउस्तै छ । बङ्गलादेशमा ९१ प्रतिशत मुस्लिम समुदाय छन् । उनीहरु अन्य मुलुकमा जस्तो कट्टर नभई सहयोगी र खुला भावनाबाट प्रेरित छन् । अन्य देशका नागरिकलाई नेपालीले झैँ सम्मान गर्छन् । भौगोलिक हिसाबले झण्डैझण्डै बराबर भए पनि बङ्गदालेशको जनसङ्ख्या झण्डै १७ करोड छ तर, नेपाल भ्रमण गर्नेको सङ्ख्या वार्षिक ३० हजार पुग्न सकेको छैन ।

अध्यागमन विभागका अनुसार सन् २०१९ मा २५ हजार ८४९ बङ्गलादेशीले नेपाल भ्रमण गरेका थिए । त्यसको अघिल्लो वर्ष सन् २०१८ मा २५ हजार ३३० ले भ्रमण गरेका थिए । नेपाल भ्रमण वर्ष सन् २०२० को पहिलो महिनाको २८ दिनमा दुई हजार १२९ ले भ्रमण गरेका छन् । पहिलो महिनाको आगमनको अनुपात हेर्दा भ्रमण वर्षमा धेरै बढ्ने देखिँदैन । यसपटक नेपाल भ्रमण वर्षमा सरकारले बङ्गलादेशबाट ७२ हजार भित्र्याउने लक्ष्य राखेपछि बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्र एक लाख नागरिकलाई नेपाल भ्रमण गराउने लक्ष्यका साथ काम भइरहेको बताउँछन् ।

बङ्गलादेशी चाहना हुँदाहुँदै पनि नेपालमा उनीहरुको भ्रमण किन न्यून छ ? भन्ने एउटा गम्भीर प्रश्न खडा भएको छ । दुई देशको कूटनीतिक सम्बन्धलाई अझै बढाएर सञ्जाल विस्तार गर्न जरुरी रहेको उनीहरुको बुझाइ छ । प्राकृतिक सुन्दरताले भरिएको नेपालका बारेमा उचित प्रचारप्रसार नहुनु र भौतिक संरचना बनाउन नसक्नुलाई प्रमुख चुनौती मानिँदै आएको छ । पर्यटनविज्ञ प्रचण्डलाल प्रधान नेपालमा पर्यटक बढाउन सक्ने आधारहरु प्रशस्तै भए पनि त्यसतर्फ ध्यान नपुगेको बताउँछन् ।

अहिले भइरहेको संरचनामा मनोरञ्जनात्मक गतिविधि थपेमात्रै पनि पर्यटक वृद्धि हुने उनको विश्वास छ । राजदूत मिश्र कलाकार गायक गायिका, पत्रकारलाई भ्रमण गराउनेदेखि विशेषदूत बनाएर होस् या कार्यक्रम गरेर होस्, प्रचारप्रसारलाई कुनै कमी नगरेको दाबी गर्छन् । सन् १९७१ डिसेम्बर १६ मा पाकिस्तानबाट स्वतन्त्र भएदेखि नै बङ्गलादेशसँग नेपालको सम्बन्ध हार्दिकता र घनिष्ठ छ । बङ्गलादेशलाई मान्यता दिने नेपाल सातौँ राष्ट्र हो । सन् १९७२ मा नेपालले दौत्य सम्बन्ध कायम गरेको थियो । पछिल्लो एक दशकमा उसले आर्थिक वृद्धिमा ठूलो उपलब्धि हासिल गरेको छ । नेपाल र बङ्गलादेशको आर्थिक लगानी र व्यापारिक सम्बन्धमा अझै प्रगति हुनसकेको छैन ।

“हाम्रो र बङ्गलादेशमा एकै प्रकारका सांस्कृतिक विविधता छ, भाषामा पनि एकअर्कामा मिल्छ”, राजदूत डा मिश्रले भन्नुभयो । नजिकको र ठूलो जनसङ्ख्या भए पनि भ्रमणको आदानप्रदान लाखौँमा हुनुपर्नेमा त्यो हुन नसकेको उनी स्वीकार्छन् । “समस्यारहितको सम्बन्ध छ, किन घुम्दैनन् भन्ने कारण खोज्दै जाँदा मुख्य कुरा सम्पर्क सञ्जालको असहजता देखियो, पहिले त झन् हवाईसेवा एउटा थियो, अहिले बल्ल दुई उडान छन्, यतीले मात्रै पुग्दैन बढाउनुपर्छ, दोस्रो कुरा सतहमार्गबाट गर्नुपर्ने कामसमेत गर्न सकिएको छैन”, मिश्रले भने ।

सडकमार्ग भएर जाँदा भारतीय भिसा चाहिने अर्को समस्या देखापर्ने गरेको छ । बोडरमा गएर फर्किएका धेरै उदाहरण रहेका उनले बताए । नेपाल भ्रमण वर्षका कार्यक्रम प्रबन्धक रोहिणी खनाल धेरैजसो ढाकाका मानिसमात्रै नेपाल घुम्ने भएकाले पनि सङ्ख्या कम भएको बताउँछन् । यसपालि प्रचारात्मक कार्यक्रम प्रभावकारी भएकाले बढ्ने उनको विश्वास छ । संसारका आठ हजार मिटरमाथिका अग्ला १४ हिमालमध्ये आठ हिमाल नेपालमा छन् । विश्वमै सबैभन्दा पहिले आरोहण भएको आठ हजार मिटरमाथिको हिमालमध्ये कास्कीमा रहेको अन्नपूर्ण पहिलो हो ।

विश्वकै अग्लो चुचुरो (८,८४८ मिटर) सगरमाथा र विश्व शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीले विश्वकै ध्यान तानिरहेको छ । अभूतपूर्व कला र संस्कृतिको सङ्गम नेपालमा उचित वातावरण निर्माण गर्नुपर्ने देखिन्छ । हिमाल, पहाड र तराईको विविधताले भरिएको नेपाल ताल, नदी, झरना, वनजङ्गल र वन्यजन्तु, चराचुरुङ्गी, राष्ट्रिय निकुञ्ज, संरक्षण क्षेत्र, ऐतिहासिक तथा पुरातात्विकस्थल, मठ मन्दिर, गाउँपरिवेश, कला, संस्कृति, वेशभूषा र रहनसहनको अनुपम सङ्गम हो ।

मनोरम हिमशृङ्खलाले घेरिएको र प्राकृतिक छठाले भरिपूर्ण नेपालका स्थानीय जातजातिले गर्ने स्वागत सत्कार विश्वकै नौलो र आकर्षक मानिन्छ । संस्कारले भरिएका मानिस यहाँ छन् । दुर्लभ पाटेबाघ, हात्ती, गैँडाजस्ता जङ्गली जनावरको बासस्थान र स्तूप, प्यागोडा तथा शिखरशैलीका मन्दिर, उत्सव, चाडपर्व, जिउँदो देवीदेवता नेपालको नौलो पहिचान हो । यसैलाई विश्वमा पुर्याउन सके पर्यटन प्रवद्र्धन हुने पर्यटनविज्ञको भनाइ छ । नेपाल सधैँ बङ्गालीको हृदयमा बसेको छ । सार्क स्थापनामा नेपाल र बङ्गलादेशले विशेष पहल गरेका थिए । उनीहरु नेपाललाई पहिलो सम्बन्धसूत्रको देश बनाउन चाहन्छन् । रासस

प्रतिकृया

प्रतिकृया