काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले चितवनमा धुर्मुस-सुन्तली फाउन्डेसनद्वारा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि सहयोग घोषणा गरेका छन् ।


ADVERTISEMENT


आईतबार सामाजिक सञ्जाल फेसबुकमार्फत स्टार स्पिनर सन्दीपले आफ्नो प्रत्यके विकेट बराबर ८ हजार ८४८ नेपाली रुपैयाँ गौतमबुद्ध रंगशालालाई सहयोग गर्ने घोषणा गरेका हुन् । उनले यही माघ २२ देखि २९ गतेसम्म काठमाडौँमा हुने आइसीसी क्रिकेट वर्ल्ड कप लिग २मा अमेरिका र ओमानविरुद्धका खेलमा आफूले लिने प्रत्येक विकेट बराबर उक्त रकम गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


गौतम बुद्ध अन्तर्राष्टिय क्रिकेट रंगशाला नेपाली क्रिकेटको भविष्य भएको भन्दै उनले सहयोग गरेको बताएका छन् । ‘नेपाल क्रिकेटको भविष्यमा लगानी गर्न म पहिलो कदमी लिन चाहन्छु ।’ सन्दीपले भनेका छन्, ‘घोषणा गर्दछु कि म अमेरिका र ओमानविरुद्धको सिरिजमा नेपालका लागि मैँले लिने प्रत्येक विकेट बराबर ८,८४८ नेपाली रुपैँया सहयोग गर्नेछु ।’

प्रतियोगितामा आफूले बढीभन्दा बढी विकेट लिनका लागि शुभकामना दिन पनि सन्दीपले नेपाली क्रिकेट समर्थकलाई आग्रह गरेका छन् ।

के भने सन्दीपले ?

नेपाल क्रिकेटका लागि मेरो एउटा सपना छ । एउटा सपना, जसले हाम्रा युवा प्रतिभावान पुस्तालाई हाम्रो सगरमाथाको भन्दा पनि उचाईंमा पुग्ने सपना देख्नका लागि सहयोग गरोस् ।  हामीसँग अहिले सिमित क्रिकेट सुविधाहरु छन् । यद्दपी हाम्रो टिमको धैर्यता, दृढ संकल्प र हिम्मत कहिल्यै डग्मगाएन ।

यो सपना र नेपाल क्रिकेटको भविष्यमा लगानी गर्न म पहिलो पहलकदमी लिन चाहन्छु र घोषणा गर्दछु कि म अमेरिका र ओमानविरुद्धको सिरिज (आइसीसी क्रिकेट वर्ल्ड कप लिग २, जुन माघ २२ देखि २९ गतेसम्म काठमाडौँमा हुँदैछ) मा नेपालका लागि आफूले लिने प्रत्येक विकेट बराबर ८,८४८ (सगरमाथाको उचाई बराबर) नेपाली रुपैँया सहयोग गर्नेछु ।

उक्त सबै सहयोग गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको सपनाका लागि जानेछ । जहाँ देशकै अत्याध्निक क्रिकेट सुविधा मिल्नेछ। कृपया नेपाली क्रिकेटलाई समर्थन र सहयोग गर्नुहोस् र मलाई बढीभन्दा बढी विकेट लिन शुभकामना दिनुहोस् ।