काठमाडौँ – आइसीसी लिग २ अन्तर्गत तेस्रो खेलमा नेपालले ओमानलाई २५० रनको चुनौति दिएको छ ।


ADVERTISEMENT


कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २४९ रन बनाएको छ । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे ।


ADVERTISEMENT

# # #


७६ बलमा ५६ रन बनाएका उनले ६ चौका र एक छक्का प्रहार गरे । पहिलो विकेटका लागि सुवास खकुरेलसँग ४८ रनको साझेदारी गरेका उनले पारस खड्कासँग दोस्रो विकेटका लागि ५९ रनको साझेदारी गरे ।

यस्तै पारस खड्का ३८ रनमा आउट भए । त्यसक्रममा उनले ३४ बलमा ५ चौका र एक छक्का प्रहार गरे । सुवास खकुरेलले ४२ बलमा एक चौकासहित २२ रन जोडे । दीपेन्द्र सिंह ऐरी शून्य रनमा आउट हुँदा आरिफ शेख र कुल मल्लले समान २८-२८ रन जोडे ।

यस्तै रन आउट हुनुअघि विनोद भण्डारीले ४७ बलमा ५ चौकासहित ३५ रन जोडे । करण केसी २० रनमा आउट हुँदा सन्दीप लामिछानेले ७ बलमा एक छक्काको मदतमा १० रन बनाएर नटआउट रहे । १०औँ नम्बरमा ब्याटिङ गर्न आएका कमलसिंह ऐरीले ६ बलमा एक चौकासहित ९ रनका साथ नटआउट रहे ।

ओमानका लागि अकिल इल्याजले ४ विकेट चट्काए । १० ओभर बलिङ गरेका उनले ३६ रन खर्चिए । यस्तै मोहम्मद नादिमले तीन विकेट लिए । ८ ओभरमा एक मेडेन फाल्दै उनले ४४ रन खर्चिए ।

जारी सिरिजअन्तर्गत पहिलो खेलमा ओमानविरुद्ध हार ब्यहारेको नेपालाई आज बदला लिने अवसर छ । यता यसअघिका दुबै खेल जितेको ओमान तेस्रो जितको खोजीमा रहेको छ ।  ओमानले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।