काठमाडौँ – नेकपा सांसद बिन्दा पाण्डेले ललिता निवास जग्गा प्रकरणमा संलग्न दोषी कोही नछुट्ने र कोही निर्दोष नपर्ने गरी न्यायिक निरुपण गराउन सरकारको ध्यानाकर्षण गराएकी छन् ।


ADVERTISEMENT


बुधबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद पाण्डेले नेपाल एयरलाइन्सको ‘वाइड बडी’ खरिद, तारागाउँको सरकारी जग्गा दुरुपयोग र नेपाल आयल निगमको जग्गा खरिद प्रकरणको तत्काल अनुसन्धान गर्न आग्रह गरिन् । यति ‘होल्डिङ’को जग्गा विवाद प्रकरणमा श्वेतपत्र जारी गरी यथार्थ जानकारी गराउन माग गरिन्।


ADVERTISEMENT

# # #


यस्तै नेकपाका विशाल भट्टराईले बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरण ढिलै भए पनि अदालतमा पुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई धन्यवाद दिए। उक्त जग्गा प्रकरणमा संलग्न दोषीमाथि अदालत र अख्तियारले कडभन्दा कडा कारवाही गरोस् भन्दै उनले देशभरका अतिक्रमणमा परेका सार्वजनिक जग्गा खोज्न उच्चस्तरीय आयोग बनाउन माग गरे ।

नेकपा सांसद शशी श्रेष्ठले महिलामाथि भइरहेको हिंसाको अन्त्य गरी समातामूलक भूमिका निर्वाह गर्नुपर्ने राष्ट्रिय महिला आयोगको पदाधिकारी रिक्त रहेको भन्दै तत्काल पदाधिकारी नियुक्त गर्न सरकारको ध्यानाकर्षण गराइन् । अधिकांश संवैधानिक आयोगमा पदाधिकारी रिक्त रहेको भन्दै उनले तत्काल पदाधिकारी नियुक्त गरी आयोगका कामकारबाहीलाई प्रभावकारी बनाउन आग्रह गरिन्।

नेकपा संसदीय दलका सचेतक शान्ता चौधरीले नागरिकलाई सिंहदरबार प्रवेशमा सहज बनाउन सरकारको ध्यानाकर्षण गराइन् । उनले नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा निर्वाधरुपमा सिंहदरबार प्रवेश दिलाउन माग गरिन् ।

नेकपा सांसद शेरबहादुर तामाङले सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा कोरोना भाइरस फैलिएको भन्ने हल्लामा कुनै सत्यता नभएको र त्यस्ता अफवाहको प्रतिवाद गर्दै सत्यतथ्य सार्वजनिक गर्न माग गरे । नेकपा सांसद विष्णु शर्माले छाउगोठ भत्काएर मात्रै कुसंस्कार नहट्ने भन्दै सम्बन्धित क्षेत्रमा चेतना फैलाउन सरकारको ध्यानाकर्षण गराइन् ।