धनगढी – कैलाली जिल्लामा निर्माणाधीन राष्ट्रिय गौरवको हुलाकी राजमार्गको स्तरोन्नति गर्न थालिएको छ । भारत सरकारको अनुदान सहयोगमा कैलालीमा निर्माण पूरा गरिएको ‘एक लेन‘को हुलाकी राजमार्गलाई स्तरोन्नति गर्न प्रक्रिया शुरु भएको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीले जनाएको छ ।


ADVERTISEMENT


सो राजमार्गका अधिकांश ठाउँमा ‘दुई लेन‘ र शहरी क्षेत्रमा ‘चार लेन‘को सडक बनाउन लागिएको कार्यालयका इञ्जिनीयर पदमबहादुर मडैले बताए । धनगढीदेखि सत्तीसम्मको राजमार्गलाई ‘दुई लेन‘ बनाउन लागिएको धनगढी उपमहानगरपालिका क्षेत्रमा पर्ने यसको तीन किमी लामो सडक खण्डलाई भने ‘चार लेन‘को बनाउन लागिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै लम्कीदेखि सत्ती(उत्तरदक्षिण) सम्मको हुलाकी राजमार्गको शहरी क्षेत्र लम्की र टीकापुरमा ‘चार लेन‘ र ग्रामीण क्षेत्रमा ‘दुई लेन‘ सडक बनाउन लागिएको छ । भारत सरकारको अनुदानमा कैलाली जिल्लामा हुलाकी राजमार्ग केही वर्षअघि नै निर्माण पूरा गरिएको थियो । “यो सडकको स्तरोन्नतिको प्रक्रिया अघि बढेको छ”, आयोजना कार्यालयका सूचना अधिकारीसमेत रहेका मडैले भने, “अहिले मूल्याङ्कनको काम भइरहेकाले यही फागुनभित्र निर्माण कम्पनीसँग सम्झौता भइसक्ने सम्भावना छ ।” कैलाली र कञ्चनपुरमा नेपाल सरकारद्वारा निर्माण गर्न लागिएको हुलाकी राजमार्ग ‘दुई लेन‘को हुने इञ्जिनीयर मडैले बताए ।

धनगढीदेखि सत्तीसम्मको ६२ किमी लामो हुलाकी राजमार्गमध्ये जिल्लाको कान्द्रा नदीदेखि कटनी पुलसम्मको (पूर्व–पश्चिम) १६ किलोमिटर लामो भागमा यो राजमार्ग हाल निर्माणाधीन छ । यसै क्षेत्रको थप दुई किमी लामो भाग (वसन्ता वन क्षेत्र)मा भने यो राजमार्ग निर्माणको काम शुरु हुनसकेको छैन । यस खण्डको राजमार्ग निर्माण गरिने क्षेत्रमा पर्ने रुख कटानीको अनुमति दिन भएको ढिलाइले निर्माण अघि बढ्न नसकेको हो ।

घरधनी संरचना हटाउँदै

उपमहानगरपालिका क्षेत्रमा पर्ने तीन किमी लामो हुलाकी राजमार्गलाई चौडा बनाई स्तरोन्नति गरिने भएपछि सडक क्षेत्रमा पर्ने घर संरचनालाई सम्बन्धित व्यक्तिले आफैँ हटाएर सहयोग पु¥याउन थालेका छन् । सडक क्षेत्रमा बनाइएका घर संरचना सम्बन्धितले आफैँ हटाउन थालेपछि हुलाकी सडकको स्तरवृद्धि गर्ने काम सहज भएको उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए । उपमहानगरपालिका कार्यालयको पहलमा धनगढीको क्याम्पस चोकदेखि मनहेरा (कालिका मन्दिर) सम्मको तीन किमी लामो यो भागको सडकलाई ‘चार लेन‘को बनाउन लागिएको हो ।

स्थानीयवासी प्रमिला लम्सालले विकासको काममा स्थानीयवासीको भूमिका महत्वपूर्ण हुने महसुस गरी घर अगाडिको सडक चौडा बनाउने काममा सबैले सहयोग गरिरहेको बताए । “चौडा सडक बनाउने भनेपछि आफूहरुले स्वस्फूर्त रुपमा सडक क्षेत्रमा पर्ने घर संरचना भत्काउन थालेका हौँ”, उनले भने ।

हुलाकी सडकको क्षेत्राधिकार ३० मिटर कायम गरिएको छ । कैलालीको धनगढीदेखि भजनी हुँदै सत्तीसम्मको (पूर्वपश्चिम) ६२ किमी लामो हुलाकी राजमार्ग मध्ये ४४ किमी लामो राजमार्ग र लम्कीदेखि टीकापुर हुँदै खक्रौलासम्मको (उत्तरदक्षिण) झण्डै २७ किमी सडकसमेत भारत सरकारकै सहयोगमा केही वर्षअघि निर्माण पूरा भएको थियो । बनेको केही वर्षभित्रै सो राजमार्गको कालोपत्रे ठाउँठाउँमा भत्किन थालेको थियो । कञ्चनपुर जिल्लाको डोके बजारदेखि बेलौरी र बेलडाँडी हुँदै दैजीसम्मको हुलाकी राजमार्गको निर्माण तीन प्याकेजमा निर्माणाधीन छ ।

बैसठ्ठी किमी लामो सो खण्डको अन्तिमविन्दु दैजी बजार हो । बेलौरी बजार नजीकको पचुई क्षेत्रमा भारतीय सीमा सुरक्षा बलका व्यक्तिले राजमार्ग निर्माण गरिने ठाउँ भारतीय क्षेत्र भएको भन्दै विगतमा वाधा अवरोधसमेत पुर्याएका थिए । यी दुवै जिल्लामा गरी सो राजमार्ग सडकमा निर्माण हुने नौ पुलको ठेक्का लाग्न बाँकी छ ।रासस