काठमाडौँ, फाल्गुन २० । केन्यासंग हुने क्रिकेट प्रतियोगिताको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हात पार्दै भारत भ्रमण टुंग्याएर आज स्वदेश फर्किदै छ । ।
नेपालले बिहीबार तेस्रो तथा अन्तिम अभ्यास खेलमा नोएडा वान्डर्सलाई ४० रनले पराजित गरेको थियो । राजवादा क्रिकेट क्लबसँगको पहिलो खेल हारेको नेपालले दोस्रोमा जित पाएको थियो ।


ADVERTISEMENT


केन्यासँग हुने विश्व क्रिकेट लिग च्याम्पियनसिपको तयारी क्रममा रहेको नेपालले ग्रेटर नोएडास्थित गौतम बुद्ध युनिभर्सिटी मैदानमा टस जितेको थियो । नेपालले निर्धारित ५० ओभरमा ५ विकेट गुमाई २ सय ४८ रन बनायो । सुनील धमलाले सर्वाधिक ७४ रन बनाए । १ सय २८ बल खेलेका उनले ६ चौका प्रहार गरे । सुनीलले आसिफ शेखसँग पहिलो विकेटमा ५१ रन जोडे । आसिफले ३२ बलमा ३ चौका र १ छक्का प्रहार गरी २२ रन बनाए । शरद भेषावकर पनि २२ रनमै आउट भए । आसिफका दाजु आरिफले ५७ बलमा २ चौकासहित २८ रन बनाए । राजेश पुलामी २३ बलमा १ चौका र ३ छक्का प्रहार गरी ३० रनमा आउट भए । विनोद भण्डारी ४१ र दीपेन्द्रसिंह ऐरी ३ रनमा नटआउट रहे । ३२ बलको इनिङ्समा विनोदले ३ चौका र २ छक्का प्रहार गरे । नोएडाका विकास मिश्रले २ विकेट लिए ।


ADVERTISEMENT

# # #


जवाफमा नोएडा ४७।२ ओभरमा २ सय ८ रनमै अलआउट भयो । प्रियम गर्गले ४४, शिवम शर्माले ३८, बबी यादवले नटआउट २६ र राहुल चोपडाले २२ रन बनाए । नेपालबाट सोमपाल कामीले ३ विकेट लिए । उनले ७।२ ओभरमा १ मेडन राख्दै २८ रन खर्चेका थिए । शक्ति गौचन र सन्दीप लामिछानेले २–२ तथा वसन्त रेग्मी र करण केसी १–१ विकेट लिन सफल भए । शक्तिले ८ ओभरमा १ मेडन राख्दै २६ र सन्दीपले १० ओभरमा ४५ रन खर्चेका थिए ।

नेपालले केन्यासंग मार्च ११ र १३ (फागुन २८ र ३०) मा त्रिवि क्रिकेट मैदानमा खेल्ने छ ।