– बिन्दु अधिकारी


ADVERTISEMENT


माघको शुरुवाती दिन थियो । सिरेटोले हान्दा नमिठो चिसो महसुस भयो । मेरो हातमा केही पाना कापी थियो । जसमा आफन्त, साथीभाई र छरछिमेकीलगायतको नाम र फोन नम्वरसहित ठेगाना पनि उल्लेख थियो । छेउमा यत्रतत्र छरिएका निमन्त्रणा कार्डहरुले ‘कता के…कसो’ भनेर सोधेझैं भान हुन्थ्यो ।


ADVERTISEMENT

# # #


नजिकै आइरहेको श्रीकृष्ण भागवत् सप्ताह महापुराणको निमन्त्रणा आफन्तलगायत साथीभाई सबैलाई समयमा पुर्याउनु पर्ने जिम्मेवारी थियो । बोलाउनु पर्ने मान्यजनहरु काठमाडौं बाहिर पनि धेरै हुनुहुन्थ्यो । चिठी ओहोर–दोहोरको हुलाकी जमाना टेलिफोन र इमेलमा परिणत भएपनि  ‘निम्ता’ कार्ड पठाउने चलन बद्ली भइसकेको थिएन, अझै पनि छैन । त्यही निमन्त्रणा कार्डको जिम्मा मेरो काँधमा आइपरेको थियो त्यो दिन ।

यद्यपी कार्ड मात्रैको पनि के विश्वास ? कहिले पुग्थ्यो कहिले ? पुग्नु पर्ने ठाउँमा समयमा नपुग्दा र पाउनु पर्ने मान्छेले नपाउँदा त्यसको औचित्य पनि थिएन । जादाँजादै कार्यक्रम नै आधा होला या त सकिएला । ‘अर्थ न वर्थ गोविन्द गाई’ भनेझैँ भए त्यसको के महत्व ? त्यसकारण आधुनिक समयको भरपर्दो संचार टेलिफोन हुनाले जो-जसको नाममा कार्डलेखिएको थियो । उहाँहरुलाई घरको ल्यान्डलाइनबाट भटाभट फोन गरेँ । गर्दै गएँ । जति थिए, ती सबैसँग कान–मुखले कुराकानी बाँकी कसरत उहाँहरुकै जिम्मामा नि !

निम्ता भेट्न धाउनेलाई फोनको फाइदा-काइदा…झट्ट घर छाड्नु भन्दा अलि पहिल्यै थाहा पाएपछि आफ्नो रन्थन मन्थन मिलाएर हिंड्न पनि कति सजिलो । यस्तो गज्जब तरिका…! ‘कस्तो बुद्धिमता पूर्ण काम मायालुको…?’ त्यसबखत धेरैबाट धन्यवाद पाएँ मैले । र, त्यसरी खबर गरेपछिको अर्को आनन्द के पनि महसुस भो भने निम्ताकार्ड पठा‘छ फलानो, ढीस्कानोलाई त्यो कता, के भयो भनेर सोच्ने झण्झट पनि भएन । आखिर घरमा कार्यक्रम गर्ने भनेर तय भइ नै सकेपछि धर्म कमाउन फेदबाटै राम्रो भयो भने आफ्नो पनि मन त्यसै प्रफुल्ल । आफ्नो जिम्माले सफलता पाउँदा त साँच्चै आनन्दको रमाइलो…। त्यही कारण होला कठ्याङग्रीने जाडो कत्तिपनि महसुस भएन । कापीमा उतारेका नाममध्ये एउटा ‘मावली दिदी‘ बाँकी थियो । तर उनको ठेगाना न फोन नम्वर केही पनि उल्लेख थिएन ।

मैले आफ्नो सजिलोको लागि बनाएको लिष्टमा दिदीको नम्वर समावेश नहुनु, उनको सबै मुखाग्रथ्यो । मनमनै विचार गरेँ– ‘दिदी भएको ठाउँ फुत्त आजै जाउँ कि भोली ? हैन, हैन कि एक कल फोन गरौँ…?’ दुई मन झुकझुक गर्दागर्दै हतारमा सम्झेँ उनको स्वास्थ्यलाई । ‘केही दिनदेखि बिमारी दिदी डाक्टरकोमा चेक-जाँच बाहेक अनेत्र खासै हिंडकी थिइनन् । उनको त्यो बिमारी अलि सन्चो भएको भए त ठीकै हो, नत्र के सक्लिन् होला र पुराण सुन्न पनि । बतासे ठण्डीको यस्तो जाडो छ । फेरि यहाँसम्म हिंडेर आउन पनि कसरी…।’ थोरै आशामा धेरै जिज्ञासा बटुलेर खै के पो कामधन्दा तिर लागें पत्तै पाइनँ ।

दिदीको घर पुग्न उति टाढा थिएन । आफ्नो रफ्तारमा हिंडे जम्मा पाँच मिनेट मै पुग्थें । कार्ड छोड्ने बहानाले दिदीलाई भेट्न मन पनि नलागेको होइन । तर घरमा अष्ट्रेलियादेखिका आफन्तजन भेला हुनाले आँगन कटेर घर–घर पुग्न सेकेण्ड फूर्सद खोइ ? पूजा सामाग्री किनमेल पनि कसरी पो भ्याउने…? के के सोच्दासोच्दै किन हो फेरि दिदीकै सम्झना आयो । निम्तासम्म पुर्याउन सके धार्मिक स्वभावकी मेरी दिदी पक्का आउँछिन् । त्यसैले धेरै सोच विचार नगरी ‘जे त पर्ला होस्’ भनेर उनको घरमा फोन गर्ने गरेँ ।

बिन्दु अधिकारी

हामी दिदी बहिनीको चिनाजानी भएको लगभग आठ-नौं वर्ष मात्रै भएको थियो । मेरो मावली गाउँ तेह्रथुमकी लिम्बुकी छोरी थिइन् दिदी । मामा उपचार गर्न काठमाडौं आउँनु भएको बेला हो उहाँकै माध्यमबाट हाम्रो भेट भएको । त्यसपछि घरको टेलिफोन नम्वर साटासाटपछि हाम्रो सम्वन्ध अटुट बन्दै गयो । र, त्यही क्षण मेरो लागि जहिल्यै पनि अविष्मरणीय पल भयो ।

उमेरका हिसाबले दिदी म भन्दा झण्डै दोब्बरले जेठी भए पनि हामी बीच सबै खाले गफगाफ हुन्थे । आफुभन्दा ठूलासँग कस्तो खाले व्यावहार गर्ने ? जुन आदर सत्कार मैंले जानेर हो वा अन्य कारण । उनले मलाई औधि नै माया गर्थिन् । कति फराकिलो सोच थियो मेरी दिदीको । घरीघरीको भेटमा उनी मसँग भन्थिन् ‘बैनि मायालु ! उता हामी त पहाडमा तिम्रो मामा घर र हाम्रो घर त स“गै मात्र हैन, एउटा भा“डोमा पकाको खाना खा‘का मान्छे पो…।’ यसबेला गाउ“ टाढा भए पनि हामी बीचको आपसी प्रेम र सद्धभाव पहिला जस्तो थियो, अहिले पनि उस्तै छ ।

‘धर्तीमा रहुन्ज्याल रमाउनु पर्छ, बैनि । मृत्यु आखिर को अघी ? को पछी…? हिजो जो आफन्त थियौं, आज पनि छौं । र, भोलीका दिनमा पनि हुनेछौं । मसँगै मेरी आमा पनि हुनुहुन्छ । दशैंमा टीका लाउन मेरो घर आयौ भने नि बैनि, तिम्रो मामा घरको सम्झना पनि खेर नजाला । आफ्नो भन्ने कुरा मैले भनिहाले । तिम्रो पालो सोचेर महसुस गर है…।’ उनको कुरा सुनिसकेपछि सोचेँ, ‘आहा ! कति मनकारी दिदी…? हुर्किने क्रममा भलै मेरा कोही दिदी थिएनन्, त के भो…? रछिन्, र त पाएँ ।’ मनको खुशी एक्लैले थाम्न नसकेर आमा र मामालाई तुरुन्ता तुरुन्तै वृतान्त बताउन फोन गरेँ ।

करिव घण्टी नै सकिन लागेको थियो । बच्चा झैं आवाजमा कसैले फोन उठायो । मैले आफ्नो परिचय दिंदै उसको नाम सोधेँ । दिदीको माइलो भदो रहेछ । ‘बाबु भदा ! के छ तिम्रो हाल खबर ? हिजोआज स्कूल पनि जाडो बिदा भो होला ? घरमा बस्नुपर्दा चकचक गरेर होहल्लाले पिर्छौ कि, बिमारी फुपुलाई ? उहाँलाई धेरै दुःख नदिनु ल ! हेर न घरमा व्यस्त हुनाले त्यता नआको पनि धेरै भो । आज साँझ अथवा भोली बिहान आउँछु…।’ बोल्दै गरेकी मलाई रोकेर भदोले भन्यो, ‘फूपु ! फुपु !! याँ हाम्रो फुपु त बित्नु भो नि…!’ ‘हैट, हैन होला…? हुनै नसक्ने कुरा…। किन त्यस्तो अशुभ बोलेको बाबु…? जे पायो त्यही…।’ उसै त मेरो चर्को आवाज । त्यसमाथि चिच्याएर खुब सँगले कराएछुँ । पाँच कक्षा पढ्ने विद्यार्थी जो थियो भदो । बिचरा ऊ किन झूट बोलोस्…?

दिदीको कान्छो भाइको छोरा । सहोदर फुपुलाई झैं मलाई पनि फुपु कै साइनो उद्धिृत गथ्र्यो । हिंड्दाखेरी बाटोतिर कतै भेट्दा पनि शिर झुकार दर्शन-नमस्ते भन्थ्यो । लाहुरे बाउ आमाको कुशल बच्चा पढ्न लेख्नमा पनि खुब मेहनेती थियो । उसले फेरि भन्यो, ‘फुपु त…बित्नु…भो नि । हो क्या…।’ खुद घरको मान्छेले भनेको कुरा नपत्याऊ पनि कसरी ? पत्याउदा सत्यलाई झूट सावित गर्ने तागत खोइ त मसँग ? कहिले ? कहाँ ? कसरी-कुन किसिमले गइन्, मेरी दिदी…? सोध्नै नसक्ने गरी बेहोसी झैं आत्तिएछुँ । लुगलुग शरीरमा भर्र काँडा उम्रिए । एकैछिनमा मुख सुकेर च्याँप्प…बोल्नै नहुने भो । मेरो हातबाट झरेको टेलिफोनको रिसिभर टेवलमाथि ठोक्किँदै भूईंमा बजारियो । रिसिभरलाई हतार हतार माथि उचालेर सोध्न थालेँ, ‘दिदी बितेकी आज कति दिन भो ? उनको छोरो उता, अमेरिकाबाट आयो-आएन ? तिम्रो फुपु अन्तिम हुदा किन मलाई खबर नसुनाको…? ‘बोल्नलाई मुस्किल गर्दै उसले भन्यो, ‘याँ फुपु त साँझमा बित्नुभो, उतै अस्पतालमा । रातभरी रुघेर बस्यौं । भोली पल्ट नेपाल बन्द थियो । ०७१ साल माघ पाँच गते नि…। सम्झन सक्नुहुन्छ ? हो, त्यही दिन…। यता, कोटेश्वरदेखि मलामी हिडेर पशुपतिआर्यघाटसम्म ताँतीले पुर्यार त फूपू, उहाँलाई उतै छाडी आयौँ…।’

कठै ! मेरी मावली दिदी !! कस्तो अनर्थ सुन्नु परो मैले ? लाउँला र खाउँला कै उमेर थियो । परीझैं वैशालु छोरीको बिहे गर्दिन भ्याइनन् । अमिर जस्तो छोरोको पनि सपना थियो होला । आमाको इच्छा-चाहना शिरोधार्य गर्ने । तर धन दौलत न डाक्टरको ओखती केहीले पनि दिदीको सासलाई थुम्थुम्याउन सकेन । उनका लागि हजार कोशिस तर सबै फेल ! ती तामाका मुनाले आमाको अन्तिम सासलाई कसरी हेरे होलान्…? बिछोड पछि आँखाबाट अश्रुधारा कति-कसरी बगाए होलान्…? हे, ईश्वर कहाँ छौ तिमी ? यदि देउता नै हौ भने किन हो यस्तो अचाक्ली निष्ठूरी पन…?

दैवको खेलमा भिनाजु परिसकेपछि बाबुआमा दुवैको माया दिएर लालाबाला स्याहार्दै थिइन् दिदीले । तर किन देखि सहिनस् पापी काल ? अन्यायको पनि हद हुन्छ नि…! मैलेपनि जिन्दगीमा बल्लतल्ल दिदी भेटेर खुशीसाट्ने मौका पाएकी थिएँ । कस्तरी चुडेर लगिस् ! नत्र ‘युरिक एसिड’ रोगले जीवनबाट हार खायौ दिदी ? डाक्टरको सल्लाह अनुसार पथ परेज गर्दा पनि किन सकस भो तिमीलाई ? सुगर पनि हुन्छ नि धेरै मान्छेलाई । खानपान विचार गर्दा त्यति पनि थेगिनौ ? मुटु सुनिन थालेपछि भित्रभित्रै फुलेर बाहिर शरीर ‘सिन्का’ झैं सुकेकी त मैले पनि देख्या थिए । पाको उमेर नहुनाले उपचारले ठीक गर्ला भनेको तर कस्तरी कल्पना बाहिर भयौ, दिदी…?

जीवनको अन्तिम सासमा अचाक्ली दुःखाई पनि, ‘डा. साव, मलाई मर्न मन छैन । तपाईको कुनै जुक्तिले बाँच्न चाहन्छु, कि अप्रेसन गर्दिनु हुन्छ ? त्यसोगर्दिए बेथाजति फालेर तगडा भै घरपुग्थेँ । मलाई भेट्न आउने साथीभाइ सबैसँग हाँसेर बोल्थेँ । मेरा छोराछोरीको बिहेमा डाक्टर सावलाई पनि भोजको निमन्त्रणा दिन कार्ड बोकेर आफैले गाडी हाँकी आउथेँ । ल…मेरो…अप्प्रेसन, …अ..प्…प्रे…स..न…, डा…सा…व…‘ भनेर हार गुहार चिच्याएर चल्मलाउदा चल्मलाउदै छिनमै थिइनौ रे । आफ्नो शरीर छाडेर भाग्दा अदृष्य बनेको रुप । कहाँ पुग्यौ, कता छुट्यौ ? अथवा हावा भै उड्यौ…!

मन भित्रैबाट मुटुभरी अगाध मायाकी खानी मेरी मावली दिदी ! तिमी नै सिकिस्त भएर थला परेपछि कसले गर्ने खवर ? त्यो बुझ्दछु म । अरुहरुको सूचना दिने आफै कहिल्यै नउठ्नेगरी ढल्यौ, तिमी । ढीलो थाहा पाएँ मैले । यसपल मलाई थाहा छैन, स्वर्गमा पुग्यौ-पुगिनौ…? शोक गर्ने सिमा छैन । कति रुनु ? कति कराउनु ? र, कति चिच्याउनु ? जो नहुनु थियो । खरानीभर सक्किनै त गयौ भने पछुताएर मात्रै पनि केही हँुदैन, अब । दिदी मतिम्रो अन्तिम संसकार मै थिइन । छुटेँ । तिम्रो मलामी खुवाउने दिन भदाले बोलाएपनि तर गइन । मेरा आँखाबाट चुहिएका यी आँसु ढीका हेर । शक्ति खोज्दैछु…। अन्त्यमा दिदी ! तिम्रो बास स्वर्गमै होस् भनेर कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेँ, तिम्रो आत्मालाई । आखिर जीवन भन्नु त खै के नै पो रहेछ र ? अहिले छ भरे छैन…।