काभ्रे – पाँचखाल नगरपलिका–८ ले मातृशिशु पोषण कार्यक्रमअन्तर्गत गर्भवती तथा सुत्केरी महिलालाई अण्डा र घ्यू वितरण गर्ने अभियान शुरु गरेको छ । मातृशिशुको पोषण सुरक्षाका लागि हरेक गर्भवती महिलालाई एक क्रेट अण्डा र आधा किलो घ्यू दिन थालेको नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का अध्यक्ष सञ्जय तामाङले बताए ।


ADVERTISEMENT


उनका अनुसार गर्भवती महिला र शिशु भएका महिलालाई मासिक एक क्रेट अण्डा र आधा केजी घ्यू वितरण गर्न शुरु गरिएको छ । “अभियानको पहिलो दिन १४ गर्भवती महिलालाई सो सामग्री वितरण ग¥यौँ”, वडाध्यक्ष तामाङले भने, “गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराएको विवरण सङ्कलन गरी त्यसका आधारमा वितरण प्रक्रिया थालनी गरेका छौँ ।”


ADVERTISEMENT

# # #


गर्भवती भएर स्वास्थ्य संस्थामा जाँच गराउन थालेदेखि सुनौलो हजार दिन सम्मका महिलालाई वडाले अण्डा र घ्यू उपहार दिने अभियान सञ्चालन भइसकेको वडाध्यक्ष तामाङले बताए। त्यससँगै सुत्केरीपछिका दिनमा पनि बच्चा र आमालाई एक सेट कपडाका साथै खाना थालेपछि सर्वोत्तम पीठोको व्यवस्था गर्ने अभियानमा रहेको उनले बताए ।

सुनौलो हजार दिनसम्म गर्नुपर्ने सबै प्रकारका सहयोगका लागि वडा कार्यालयले आवश्यक सहयोग गर्ने अभियान शुरु भइरहेको वडाध्यक्ष तामाङको भनाइ थियो । रासस