पूर्णप्रसाद मिश्र, काठमाडौँ – ‘यसपालीको महाशिवरात्रिमा पशुपतिनाथ परिसरलाई फूल र प्रकाशले सजाउने सोँच आयो । अनि तत्कालै एउटा प्रश्न पनि तेर्सियो– बाँदरबाट कसरी जोगाउने होला ? त्यही पीरमा बसिरहेको थिएँ, फूलले त सजाउने तर शिवरात्रि पछाडि कसरी व्यवस्थापन गर्नुहुन्छ ? अर्को प्रश्न आयो । त्यस प्रश्नमा मेरो पहिलो जवाफ थियो– पहिले फूलको सौन्दर्यको आनन्द त लिउँ, सौन्दर्यको आनन्द लिनुभन्दा पहिल्यै फोहरको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा किन दिमाग खर्चिनु ? अब थाहा भयो, हाम्रा यी दुवै प्रश्न चिन्ता लिनै नपर्ने खालका रहेछन् । भगवान् श्रीपशुपतिनाथसँग प्रार्थना गर्दछु, हामीलाई सद्बुद्धि दिनुहोस् ।


ADVERTISEMENT


यस वर्षको महाशिवरात्रिको समयमा पशुपतिनाथमा गरिएको सजावटका फूल चोरिएको विषयमा सामाजिक सञ्जालमा चर्चा परिचर्चा बढेपछि पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले आफ्नो फेसबुक वालमा लेखेका छन् । महाशिवरात्रिको भोलिपल्ट उनले लेखेको यो फेसबुक स्टाटस् बडो अन्तक्रियात्मक देखिन्छ । ठीक त्यति नै बेला पवित्र पशुपतिनाथमा बडो आकर्षकरुपमा सजाइएका फूल चोरीका विषयमा नेपालका आमसञ्चारमाध्यममा पनि चर्चा भइरहेको थियो ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जालमा आम नागरिकले यसअघि विम्स्टेक सम्मेलनको समयमा तथा मित्रराष्ट्र चीनका राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणका समयमा काठमाडौँको तीनकुनेमा हरियाली बनाएर सजाइएको दुबोका चपरी तथा बिरुवा चोरीका कथा र त्यस समयका तस्बिरसमेत पोस्ट गरेका थिए । नागरिकले पशुपतिबाट फूल चोरीको सो घटनाले बाँदरभन्दा पनि मानिससँग चेतना कम भएको भन्ने जस्ता अभिव्यक्ति राखेका थिए । मानिसलाई बाँदरसँग तुलना गरेर बरु पशुपतिका बाँदर सभ्य देखिए तर मानिसले भने मन्दिरमा सजाइराखिएको फूलसमेतको माया नगरेर चोरेर लगे भनेर लेखिएका थिए ।

“आज बिहानै मन्दिर क्षेत्र पुग्दा निकै नमज्जा लाग्यो, दिक्क पनि लाग्यो । किन हामी यसरी सुन्दरतालाई लुछ्न उद्यत् हुन्छौँ भन्ने भावना मनमा आयो । जुन बाँदरको यसअघि हामीले चिन्ता गरेका थियौँ, ती ठाउँका फूल सुरक्षित छन् तर हामी मान्छेको हात पुग्ने ठाउँका फूल चाहिँ कतै पनि बाँकी छैनन् । पुग्न नसकिएको ठाउँमा चाहिँ लुछेर फूल चुँडिएको देखिएको छ । केही समयअघि तीनकुनेमा दुबो चोरेका हामी झन् फूलैफूल भएको ठाउँमा त कसरी पो चुप लाग्न सक्थ्यौँ र ?’ सदस्य सचिव डा ढकाल महाशिवरात्रिको भोलिपल्ट मन्दिर क्षेत्र पुगेपछि यो लेखेका छन् ।

महाशिवरात्रि र त्यसको अघिल्लो दिनको सौन्दर्य भोलिपल्ट हराइसकेको थियो । फूलैफूलले झकिझकाउ यस पवित्र पशुपतिनाथमा भोलिपल्ट हेर्दा रङ्गीविरङ्गी फूलहरु थिएनन्, उजाड थियो । पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा ढकालले पशुपति क्षेत्रको सजावटमा राखिएको फूल चोरी भएपछि सामाजिक सञ्जालमा लेख्नुभएका यी शब्दले मन्दिर छिर्ने मानिसको सोच प्रतिविम्बित गर्दछ । मानिसले कुनै विध्वङ्सात्मक कार्य गर्नेको उदाहरण दिनुपर्दा ‘पशुपतिको बाँदरजस्तो’ भन्ने गरेको सुनिन्छ । तर पनि ती पशुपतिका बाँदरलेसमेत केही नगरेको फूललाई मानिसले लुछेर लगेको, पुग्न नसकेकालाई तहसनहस पारेको घटनाले मानिस बाँदरभन्दा पनि नबुझ्ने जात हो ? भन्ने प्रश्न पक्का पनि उब्जाइदिएको छ ।

नेपाल भ्रमण वर्षसँग जोडेर यस वर्षको महाशिवरात्रिलाई भव्य बनाउने तयारीमा कोष लागेको थियो । त्यसका लागि के के गर्ने भन्ने सोच गर्दा फूल र प्रकाशलेसमेत पशुपति क्षेत्रलाई आकर्षक बनाउने सामूहिक निष्कर्षमा कोष पुगेको थियो । फूलका लागि दाता भेट्न असहज नभए पनि त्यो सौन्दर्यलाई लामो समय जोगाउन नसकिएकामा कोषका पदाधिकारीले दुःख व्यक्त गर्दै आएका छन् । उनीहरु भन्छन–यसबाट ठूलो पाठ सिकेका छौँ, आगामी वर्ष अझ बृहत् सजावट गरेर त्यो सौन्दर्य जोगाउने नै छौँ, यसका लागि हामी शुरुदेखि नै सजग भएर काम गर्नेछौँ । तर अहिले भने हामीलाई पनि चोट लागेसरह भएको छ ।

पावन पशुपति क्षेत्रलाई फूलैफूलले सजाउने कोषको यो सोंचमा सहयोग गर्ने दाता थिए भारतीय नागरिक सञ्जीव सिपा र चेतन हाडा । उनीहरुले फूलले पशुपति सिँगार्न सहयोग गरेका थिए। “सजावटका लागि प्राविधिकसमेत भारतबाटै ल्याइएको थियो । फूल कम्तीमा पनि १५ दिन ताजा देखिने गरी रु पाँच करोडको लागतमा फूल ल्याएर साजसज्जा गरिएको थियो । फोममा पानी राखेर फूल सजाइएकाले बाँकी रहेका फूल अहिले पनि ओइलाएका छैनन् ।” कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए।

मन्दिर आएर प्रसादका रुपमा भन्दै फूल चुँड्नेलाई कोषका तर्फबाट खटिएका सुरक्षाकर्मीले फूल बारम्बार अनुरोध पनि गरेका थिए । अनुरोधसम्म गरे पनि लाठीले प्रहार गर्न नसकिने भएकाले यसपटक कसैलाई कानूनी कारवाहीको प्रक्रियामा नलगिएको कोषले जनाएको छ । भक्तजनको व्यवहारले एउटा फूल बराबर एक सुरक्षाकर्मी राख्नुपर्ने वातावरण बन्यो । तर त्यस्तो त सम्भव भएन, अबका दिन सोँच्नुपर्ने ठाउँ भने यसले दिएको छ, कोषका एक कर्मचारीले भने ।

कोषले बनाएको योजनाअनुसार १५ दिनसम्म फूलको साजसज्जाले ढाकिएको पशुपतिमा दैनिक लाखौँ पर्यटक आउने थिए । तर दर्शनार्थीका रुपमा पशुपति क्षेत्र प्रवेश गरेका भक्तजनका कारण त्यो अवसर गुमेको छ । भ्रमण वर्ष भएकाले यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराई नै महाशिवरात्रि मूल समारोह समितिको अध्यक्ष बसेका थिए ।

महाशिवरात्रिमा सजावट गरेपछि रामनवमी, अक्षय तृतीया, साउनको सोमबार, तीज, बाला चतुर्दशीलगायत पर्वमा अझ बढी प्रभावकारीरुपमा प्रकाश एवं फूलको व्यवस्था गर्नुपर्ने चुनौतीसमेत कोष सामु खडा भएको छ । कोषका सदस्य सचिव डा ढकाल आगामी दिनमा पनि पशुपतिमा सजावट गरिने जानकारी दिन्छन् । आमसञ्चार माध्यममार्फत प्रचारप्रसार गरी अर्कोपटक फूल चुँड्नेलाई कानूनी कारवाहीकै प्रक्रियामा अघि बढाइने सोँच बनाएको जानकारी पनि उनले दिए ।

पशुपतिको सजावटलाई २४ घण्टाभित्रै ध्वस्त बनाएपछि मानव अधिकारवादी तथा सफाइ अभियानकर्मी उत्तम पुडासैनीले सामाजिक सञ्जालनमा लेखे, “हामी बद्लियौँ, तर हाम्रो सोच बदलिएन, अधिकारको वकालत ग¥यौँ तर कर्तव्यको पालना गर्नै जानेनौँ, आफूलाई माया गर्न जान्यौँ तर माटोको माया गर्न सिकेनौँ, अबको पुस्तालाई सभ्यता, संस्कृति र स्वाभिमानका बारेमा सिकाऔँ ।”

केही मानिसले रमाइलो एवं घर सजाउने लोभमा फूलका थुङ्गा चुँड्दा केही व्यापारीलेसमेत अङ्गालाका अङ्गाला फूल ओसार्न भ्याए । पुरानो बानेश्वरकी कमला नेपाल केही मानिसले भारीका भारी फूल चोरेर लगेको आफूले देखेको सुनाउँछिन् । उनले भनिन्, “फूल पसलेले यसरी फूल ओसारेको देख्दा मन कटक्क खायो, मन्दिरमा चढाएको फूल पनि नछोडेको देख्दा बडो अचम्म लाग्यो ।”

त्यस्ता व्यापारीले पशुपतिनाथको फूल चोरेर केही दिन हजारको व्यापार गरे पनि फूल रहन दिएको भए यहाँ आउने भक्तजनका कारण थप लाखौँ व्यापार हुने थियो । मानिसको छोटो सोचले यस्तो भएकाले दीर्घकालीनरुपमा सोच्न कार्यकारी निर्देशक खतिवडाले आम भक्तजन, व्यवसायी र स्थानीयवासीमा आग्रह गरे।

पशुपतिका फूल जसले झिके, तिनलाई लाखौँ मानिसले सामाजिक सञ्जाल, आमसञ्चारमाध्यम लगायतबाट गाली पनि गरे । फूल चोरी हुनुमा मनोवैज्ञानिक दर्शनसमेत लुकेको हुनसक्ने पनि बताइन्छ । यति धेरै फूलको सजावट पहिलो पटक देखेका कारण मन लोभिएको र मन थाम्न नसकिने अवस्था पनि आएको हुनसक्छ ।

यस वर्ष पशुपतिमा फूल चोरी भएपछि कोषले मोबाइल लिएर जान दिने सम्बन्धमा कडाइ गर्ने तयारी शुरु गरेको छ । यससम्बन्धी कार्यक्रम नै बनाएर व्यवस्थित गर्नेगरी कार्ययोजना मस्यौदा हुन लागेको कोषले जनाएको छ । तर चुनौतीका बीच फूल र प्रकाशले पशुपति क्षेत्रलाई झिलीमिली बनाउने अभियानलाई आगामी पर्वमा पनि निरन्तरता दिइने सदस्य सचिव डा ढकालको प्रतिबद्धता छ । फूलका दातालाई कोषले भक्तले प्रसादका रुपमा फूल लगेको भनी विश्वस्त बनाएकाले आगामी दिनका लागि गलत सन्देश जान नदिएको उनले सुनाए ।

कोषले पशुपतिको मुख्य क्षेत्रमा सदाबहार प्रकाशको व्यवस्था गर्न ठेक्का आह्वान गरिसकेको छ । छ महीनामा विद्युत्को प्रकाशले पशुपति उज्यालो भइसक्नेछ । फूल चोरीले फूलमालाको सजावटमा सतर्कताका साथ निरन्तरता दिने निष्कर्षसमेत कोषले निकालेको छ ।

प्रायः सधैँजसो बिहान पशुपतिनाथको दर्शन गर्न पुग्ने रामचन्द्र अर्याल भन्छन्, “दुबो र फूलमा मन थाम्न नसकिएको हो, भगवान्लाई चढाइने श्रद्धाको प्रतिकका कारण पनि मानिसको मन लोभिएको हुनसक्छ ।” शिवरात्रिको भोलिपल्टै पशुपतिनाथ पुग्दा आफूलाई पनि निकै खिन्नता भएको उनले सुनाए ।