भैरहवा – विश्वका विभिन्न मुलुकमा फैलिएको कोरोना सङ्क्रमणको त्रासले बुद्ध जन्मस्थल लुम्बिनी सुनसान बनेको छ । पर्यटक आगमनमा ह्वात्तै घटेकाले लुम्बिनी क्षेत्र सुनसान जस्तै बनेको हो । केही समय अघिसम्म राम्रै चहलपहल रहेको लुम्बिनीमा हिजोआज विदेशी पर्यटक देख्न मुस्किल परेको लुम्बिनीस्थित इगनाइट लाउन्ज एन्ड रेस्टुरेन्टका सञ्चालक बाबुराम पराजुलीले बताए ।


ADVERTISEMENT


केही भारतीय र श्रीलङ्कनहरू फाट्टफुट्ट आएका छन्, उनीहरू पनि एकछिन घुमेर फर्किहाल्छन्, उनले भने, ‘दुई–तीन हप्तादेखि अरू विदेशी त देखि नै छाडे । ’ विश्वका एक सयभन्दा बढी देशमा फैलिएको कोरोनाको सङ्क्रमणका कारण मुलुकको प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनी सुनसान भएको हो ।


ADVERTISEMENT

# # #


नेपाल आउन खोजेका धेरै पर्यटकले होटलको बुकिङ पनि रद्द गराएका छन् । लुम्बिनीका होटलका ७० प्रतिशत कोठाको बुकिङ रद्द भएको लुम्बिनी होटल सङ्घका अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।

चैतसम्म लुम्बिनी घुम्न उपयुक्त मौसम मानिन्थ्यो तर सिजनकै समयमा पर्यटक आगमन घटेको श्रेष्ठको भनाइ छ । केही वर्षयता लुम्बिनी आउने चिनियाँ पर्यटक बढेका थिए । लुम्बिनी विकास कोषका सूचना अधिकारी राजन बस्नेतले चीनबाट सङ्क्रमण सुरु भएपछि पहिले चिनियाँ पर्यटक घटेको र अरू मुलुकका पर्यटक समेत आउन छोडेको बताए । चिनियाँ पर्यटक लगभग शून्यमा पुग्न लागे भन्दा पनि हुन्छ, अन्य पर्यटकको सङ्ख्या पनि अत्यन्तै न्युन भएको छ, उनले भने ।