शुभराम बस्नेत, सहमहामन्त्री उम्मेदवार, नेपाली कांग्रेस

आज हामी नेपाली राजनीतिको एउटा अवसर र चुनौतीपूर्ण परिस्थितिको सङ्घारमा उभिएका छौं। कुशासन र भ्रष्टाचारविरुद्ध युवाहरूको आन्दोलनले नेपाली समाजलाई परिवर्तनको प्रस्थान बिन्दुमा पुर्‍याएको छ।

यद्यपि परिवर्तनलाई संस्थागत गर्न र राज्य सञ्चालनका लागि बलियो संस्थाहरू चाहिन्छ। राजनीतिक दल कमजोर भए भने लोकतन्त्र खतरामा पर्छ। त्यसमाथि पनि नेपाली कांग्रेसको लोकतन्त्र र आधुनिक नेपाली राजनीतिका बीचमा गहिरो सम्बन्ध छ। वास्तवमा भन्ने हो भने राष्ट्रियताका सवालमा कांग्रेस नै त्यो शक्ति हो, जसले अतिवादका विरुद्ध लड्दै सतिसाल भएर उभिएको छ।

फेरि एक पटक विश्व राजनीतिमा देखिएको असहज परिस्थितिका बीचमा नेपाली राष्ट्रियता र लोकतन्त्रमाथि देखिन लागेका खतराको पहिचान गर्दै त्यससँग मुकाबिला गर्ने र स्थिर एवं जनतामुखी राजनीतिलाई अघि बढाउने दायित्व कांग्रेसमा छ।

बलियो कांग्रेस निर्माणमा मेरो विगतको भूमिका पनि विभिन्न माध्यमबाट यहाँहरूले देखाउनु भएको छ। यहाँहरूले दिनुभएको स्नेहलाई शिरोधार्य गर्दै कांग्रेसको नीतिगत तहमा पुग्ने अठोटका साथ यहाँहरूको माझमा उभिएको छु। कांग्रेसभित्र देखिएका मनमुटावलाई सौहार्दपूर्ण ढङ्गले समाधान गर्ने, हाम्रो विगतको परम्परालाई कायम गर्दै शीर्ष नेताको सम्मान, दिगो नेतृत्वको साथ र नवयुवा साथीहरूप्रति भरोसा जगाउनु नै मेरो मूल उद्देश्य हुनेछ।

लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै कांग्रेसको विचार र कर्मले नै यो देशको स्वाधीनतालाई कायम गर्दै प्रविधिको उच्चतम स्तरका साथ विकासको खाका कोर्ने वाचा गर्दैछु।

तसर्थ टिमुरबोटे घटनाका जीवित शहीदको छोरा, एउटा खेलाडी विद्यार्थी राजनीतिज्ञ, प्रजातान्त्रिक समाजवादको कांग्रेसको पाठशालामा हुर्किएको यहाँहरूको स्नेही साथीलाई राजनीतिमा एउटा स्थान पुर्‍याउनुहुन्छ भन्ने विश्वास गर्दैछु।

यस पन्ध्रौं महाधिवेशनमा महामन्त्री, खस आर्य पदमा मलाई विजयी गराउनुहुन विनम्र अनुरोध गर्दछु।

जय नेपाल!