काठमाडौँ, फागुन २० । नेपालको सामाजिक–आार्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्दै भारतका वित्तमन्त्री अरुण जेट्ली नेपालको दुई दिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा तथा उद्योगमन्त्री नवीन्द्रराज जोशीको निमन्त्रणामा नेपाल लगानी सम्मेलनमा प्रमुख वक्ताका रुपमा सहभागी हुन मन्त्री जेट्ली बिहीबार अपराह्न राजधानी आएका थिए । ।


ADVERTISEMENT

# # #


राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका उनले उपप्रधानमन्त्री महरा र मन्त्री जोशीसँग द्विपक्षीय चासो र आपसी हितका विविध विषयमा विचारविमर्श गरेका थिए ।

उनले राष्ट्राध्यक्ष, सरकार प्रमुख तथा वरिष्ठ मन्त्रीहरूसँगको भेटवार्तामा नेपालको सामाजिक–आर्थिक विकासमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुका साथै भौतिक पूर्वाधार निर्माणमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन भारत सरकार तयार रहेको जानकारी दिएका थिए

भारतसँगको व्यापार घाटा कम गर्न नेपालले निर्यात प्रवद्र्धन गर्नका लागि उद्योगधन्दा स्थापनामा जोड दिनुपर्ने बताउँदै उनले चाँडोभन्दा चाँडो माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजना शीघ्र पूरा हुनसकेमा बिजुली निर्यातले पनि त्यसलाई भरथेग गर्ने विश्वास व्यक्त गरे ।

भारतका वित्तमन्त्रीले ती जलविद्युत् आयोजना कार्यान्वयनमा वन क्षेत्र र जग्गा प्राप्ति जटिल समस्या बनेकाले तिनको समाधान पनि शीघ्रातिशीघ्र हुनुपर्ने आवश्यकता औँल्याएका थिए।

मन्त्री जेट्लीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा अर्थ मन्त्रालयका सचिव शान्तराज सुवेदी, उद्योग मन्त्रालयका सचिव शङ्कर कोइराला, यहाँस्थित भारतीय दूतावासका प्रमुख विनयकुमार र नायब शिष्टाचार महापाल तेजबहादुर क्षेत्रीले बिदाइ गरेका हुन् ।