नयाँ पेट्रोल पम्म सञ्चालनको स्वीकृति दिन नेपाल आयल निगमले थप अध्ययन गर्ने भएको छ । एउटै नगरपालिकाबाट १० वटासम्म आवेदन परेपछि सबैलाई स्वीकृति दिन मिल्ने नमिल्ने बारेमा थप अध्ययन गर्नु परेको निगमले जनाएको छ ।


ADVERTISEMENT


नयाँ पम्प आउँदा पुरानालाई पर्ने असर, नयाँ पम्पले गर्नसक्ने व्यापार, लक्षित उपभोक्ता, सिङ्गो पेट्रोलियम उद्योगको अवस्था र पम्पलाई लिइने मार्जिनमा पर्ने असरका बारेमा थप अध्ययन गर्नुपर्ने भएको छ । पम्पको आवश्यकता कहाँ छ त्यसको पहिचान गरिने भएको छ ।


ADVERTISEMENT

# # #


नयाँ पम्प आउँदा पुरानालाई पनि असर गर्ने निगमको दाबी छ । नयाँ पम्प सञ्चालन गर्न एक हजार २५ व्यवसायीले आवेदन दिएका थिए । निगमले विशेष गरी काठमाडौँ उपत्यका बाहिरका र ठूला तथा साना सहरोन्मुख क्षेत्रहरूका लागि गत वैशाखमा आवेदन खुलाएको थियो । आवेदनमध्ये सबैभन्दा धेरै प्रदेश दुईबाट ३४३ वटा परेका छन् । सबैभन्दा थोरै कर्णाली प्रदेशबाट २२ वटा मात्र छन् । त्यस्तै, प्रदेश १ बाट १८९, बाग्मती प्रदेशबाट १३१, गण्डकीबाट २७, प्रदेश पाँचबाट २०० र सुदूरपश्चिमबाट ५६ वटा आवेदन परेका थिए ।

चलिरहेको पम्पहरूको केही सुधार गर्ने र दुई वर्षअघि आवेदन खुलाएको नमुना पेट्रोल पम्पको प्रावधान यथावत राखी नयाँ पम्पको लागि नयाँ नियमावली ल्याएर निगमले आवेदन खुलाएको थियो । नेपालमा हाल एक हजार पाँच सय वटा पम्प छन् । एक हजार २५ वटा नयाँ आवेदन परेका छन् । नयाँ सबैले इजाजत पाए भने पम्प २५ सय २५ वटा हुनेछन् । निगमले आवेदनमाथि प्रक्रियागत छानबिन अन्तिम चरणमा पुर्‍याएको छ । निगमको छानबिन समितिले मापदण्ड अनुसारका निवेदनको पहिचान गरिसकेको छ ।