काठमाडौँ – यो वर्षको एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुँदैछ । यस परीक्षाका लागि आवश्यक सबै तयारी पूरा गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।परीक्षाका लागि परीक्षा केन्द्र तय गर्ने, उत्तरपुस्तिका तथा प्रश्नपत्र सम्बद्ध स्थान पुऱ्याउने केन्द्राध्यक्षको नियुक्ति लगायतका सबै तयारी सकिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले जानकारी दिए। सबै जिल्लामा केन्द्राध्यक्षको अभिमुखीकरण कार्यक्रमसमेत सकिएको छ ।


ADVERTISEMENT


यस पटकको परीक्षामा जम्मा चार लाख ८२ हजार ७०७ जना परीक्षार्थी सहभागी हुने जानकारी परीक्षा नियन्त्रण कार्यालय ९पनिका०ले दिएको छ । यिनमा छात्रतर्फ दुई लाख ३९ हजार ९१ जना र छात्रातर्फ दुई लाख ४३ हजार ६१६ जना परीक्षार्थी हुनेछन् । परीक्षामा छात्रको तुलनामा छ हजार बढी छात्रा सहभागी हुनेछन् । परीक्षा साधारण विषयतर्फ चैत १४ र प्राविधिक विषयतर्फ १७ गते सकिने कार्यतालिका छ ।


ADVERTISEMENT

# # #


परीक्षा केन्द्र एक हजार ९९५
यस पटकको परीक्षामा जम्मा एक हजार ९९५ वटा परीक्षा केन्द्र तय गरिएको छ । यसअनुसार प्रदेश १ मा ३७५, प्रदेश २ मा २६६, बाग्मती प्रदेशमा ४२१, गण्डकी प्रदेशमा २२०, प्रदेश ५ मा ३२६, कर्णाली प्रदेशमा १७६ र सुदूरपश्चिममा २११ वटा परीक्षा केन्द्र तय गरिएको छ । सबैभन्दा धेरै परीक्षा केन्द्र बाग्ग्मती प्रदेशमा तय गरिएको छ ।

विद्यार्थीलाई मानसिक रूपमै परीक्षाका लागि तयार बनाउन तथा भयरहित हिसाबले परीक्षा सञ्चालन गर्न सबै परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गरिएको छ । प्रदेश तथा स्थानीय सरकारसितको समन्वयमा त्यो काम गरिने भएको छ । स्वास्थ्य र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको संयुक्त बैठकबाट सो निर्णय गरिएको हो । बिरामी अवस्थाका विद्यार्थीलाई परीक्षामा सहभागी गराउनुपर्ने अवस्था आएमा सबै परीक्षा केन्द्रमा अलग्गै कोठाको व्यवस्था गर्न केन्द्राध्यक्षहरूलाई निर्देशसमेत गरिएको छ ।

प्रश्नपत्रको सुरक्षित प्याकिङ
यस पटकको परीक्षामा सुरक्षा र गोपनीयताको हिसाबले विशेष सावधानी अपनाइएको छ । प्रत्येक दिनको परीक्षाका लागि अलग अलग कपडाको थैलामा प्रश्नपत्र प्याकिङ गरी लाहाछाप लगाइएको परीक्षा नियन्त्रक खकुरेलले जानकारी दिए ।
यसअघि सबै विषयको प्रश्नपत्र एउटै कपडाको थैलामा प्याकिङ गर्ने र त्यसभित्र प्लास्टिकले प्याकिङ गर्ने गरिएको थियो । तर प्लास्टिकमा लाहाछाप हुँदैनथ्यो । यस पटक भने सावधानी अपनाइएको जनाइएको छ ।

स्रोत : गोरखापत्र