देवराज सुवेदी, मेलम्ची – हेलम्बु गाउँपालिका–६ इचोक गाउँका कफी कृषकका रूपमा चिनिएका रोमबहादुर पण्डित एकाएक कफीको बिरुवा मर्न थालेपछि पिरोलिएका छन्।


ADVERTISEMENT


डढुवा र किराले अधिकांश बिरुवा फलसँगै सुकाएर मरेपछि व्यावसायिक कफी उद्यमी पण्डित भावुक देखिए। “वार्षिक कफी बेचेर नै रु तीन लाखभन्दा बढी आम्दानी हुन्थ्यो तर यो वर्ष हिउँदसँगै प्रायः बोट मरेको छ, फल खेर गएको छ”, उनले खेतबारी वरिपरि टोलाउँदै गुनासो गरे ।


ADVERTISEMENT

# # #


लाखौँ लगानी र दिनरातको मेहनतको पसिना एकै झट्काले गुम्ने अवस्थामा पुगेपछि अन्योलमा परेको उनले सुनाए । तेह्र रोपनी आफ्नै जग्गामा व्यावसायिकरूपमा पण्डितले एक हजार ३०० बोट कफीको बिरुवा लगाएका थिए । “हिउँदसँगै बिरुवा डढेका छन् । किरा लागेर झरिरहेका छन् । सबैलाई गुहारेका छौँ”, उनले भने ।

तीन वर्षको मेहनत हिउँदसँगै फल टिप्ने बेलामा बोटै मर्न थालेपछि चौतारा साँगाचोकगढी नगरपालिका–१० का यमबहादुर महत भक्कानिए । आठ रोपनी खेतबारीमा उनले ७०० बिरुवा लगाएर कफी खेतीलाई जमाउँदै आएका थिए। “आम्दानी हुने बेला दशा लाग्यो, सबै बोट मरेको देखेर रुन मन लागेको छ हजुर”, उनले भने। तीन वर्षबाट लगातार कफीखेतीमा जमिरहेका उनले रु डेढ लाख बराबरको कफी बिक्री गर्दै आएका छन् ।

कफी खेतीले हराभरा देखिने जमीनमा लाखौँ पैसा र पसिना सुकेका बोटसँगै क्रमशः हराइरहेको उनको अनुभव छ । “हाम्रो सातो गएको छ, यस्तो कहिले हुँदैनथ्यो, के कारणले यस्तो भएको हो बुझ्न सकिएको छैन”, उनले भने ।

पण्डित र महत जस्तै इन्द्रावती गाउँपालिकाको बाँडेगाउँका श्यामबहादुर कटुवाल सबैजस्तो बोट फलले भरिएलगत्तै एकाएक मरेपछि भौँतारिरहेका छन् । “सात रोपनी जग्गामा वार्षिक लाखौँ मूल्य बराबरको कफी लगाइरहेको थिएँ, सबै डुबेजस्तो भएको छ, दिक्क भएर बस्नुबाहेक विकल्प छैन, के गर्ने ?”, उनले प्रश्न गरे ।

यी त केही उदाहरण मात्रै हुन् । डढुवा र किराले कफीको अधिकाशं बिरुवा मरेपछि जिल्लाको तीन नगरदेखि पाँच गाउँपालिकाका गरी दुई हजार १५० कृषक परिवारको व्यथा एउटै छ । डढुवा र किराले कफीको बोट मर्ने क्रम नरोकिएपछि व्यावसायिक कफी खेतीमा एकजुट भएर कस्सिरहेका कृषक निरुत्साहित बनेका छन् । जिल्लाभर १२४ हेक्टर क्षेत्रफलमा कफीखेती भइरहेकामा फल लाग्न शुरु भएलगत्तै मरेको जिल्ला कफी सहकारी सङ्घ, सिन्धुपाल्चोकका अध्यक्ष मञ्जु थापाले जानकारी दिए।

जिल्लाभरका १२ वटा सहकारी र १८ समूहका व्यावसायिक कफी कृषकले फल बोटसँगै मरेको खबर पाएलगत्तै स्थलगत पुगेर रिपोर्टिङसहित सम्बद्ध सबै निकायलाई गुहारिरहेको उनले उदाहरण दिए । “हिउँदे चिसोको रोगका कारण ८० प्रतिशतभन्दा बढी बिरुवा मरेपछि कृषक विचल्लीमा छन्, लगानी डुबेको छ, रोग पहिचान र रोकथामका लागि नमूना परीक्षण गर्न सूचना दिइसकेका छौँ”, उनले भने।

जिल्लाभर वार्षिक उत्पादन हुने ३० मेट्रिक टनभन्दा बढी कफीबाट मात्रै वार्षिक अनुमानित रु दुई करोड आम्दानी हुने गरेको छ । उनका अनुसार अहिले जिल्लाभर रु एक करोड बराबरको बोट र फल मरेर सकिएको छ ।

कृषकको समस्याबारे नेपाल बाली विज्ञान महाशाखा, कफी सङ्घलगायतका सम्बन्धित सम्पूर्ण संस्थालाई सूचना र निवेदन दिइसकेको उनले प्रष्ट्याए । असारमा शुरु गरिने कफी खेतीलाई शुरुमा पूरा फल लाग्न तीन वर्षको समय लाग्ने गर्छ । एउटा बोटमा १० किलोसम्म फल्ने गर्छ । कफी बजारमा प्रतिकिलो ९७ रुपैयाँमा बिक्री हुने गर्छ ।

“आगामी जेठ अन्तिमसम्म कफी बिक्रीका लागि पठाइसक्ने गर्छौं”, उनले भने । विसं २०६४ देखि एउटा सामाजिक संस्थाबाट शुरु गरिएको कफी खेतीलाई सहकारी सङ्घबाट व्यवस्थित बनाएर जिल्लामा शुरु गरिएको हो । जिल्ला कफी सहकारी सङ्घबाट ‘अर्गानिक सटिफिकेसन’ सकेर पैठारी गर्न थालेको आठ वर्ष पुगिसकेको छ । रासस