काठमाडौँ – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अति जरुरीबाहेकका भेटघाट आजबाट बन्द गरेका छन् ।


ADVERTISEMENT


कोरोना भाइरसको सङ्क्रमण जोखिम कम गर्न मुख्यमन्त्री शाहीले अत्यावश्यक बाहेकका भेटघाट बन्द गरेको उनका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले जानकारी दिए । मुख्यमन्त्री शाहीले कोरोना भाइरसले निम्त्याएको सङ्कटको समाधानका लागि उच्च सावधानी अपनाउन सर्वसाधारण नागरिकलाई आग्रह गरेको सल्लाहकार शर्माले बताए ।


ADVERTISEMENT

# # #


मुख्यमन्त्री शाहीले स्वास्थ्य निर्देशिकाको अनिवार्यरूपमा दायित्व सम्झेर पालना गर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् । सङ्क्रमणबाट जोगिन प्रत्येक नागरिक आफैँले उच्च सावधानी अपनाउन, अनावश्यक हिँड्डुल, भेटघाट तथा सम्पर्क नगर्न, भीडभाड तथा बजारमा नजान र स्वास्थ्यकर्मीले दिएको सुझाव अवलम्बन गर्नसमेत उनले सुझाएका छन् ।

कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि प्रदेश सरकार गम्भीरताका साथ लागिरहेकाले अनावश्यक हल्लाको पछि नलाग्न र त्रसित नहुन पनि मुख्यमन्त्री शाहीले अनुरोध गरेका छन् । “यो विषम परिस्थितिको सामना गर्न मुख्यमन्त्री र प्रदेश सरकार नागरिकको साथमा छ”, सल्लाहकार शर्माले भने । कोरोनाको सङ्कट समाधान गर्न सरकारले थालेको प्रतिकार्य योजनालाई साथ दिन मुख्यमन्त्री शाहीले सरकारका आधिकारिक निकाय, स्वास्थ्य संस्था, सुरक्षा निकायको निर्देशनलाई पालना गरी सहयोग गर्न सबै नागरिकलाई अनुरोध गरेको जनाइएको छ ।