– डा. बि. पी. बडाल


ADVERTISEMENT


कोरोना भाइरसले हाल विश्व प्रताडित छ । के कारणले कोरोना फैलियो ? यस प्रश्नको उत्तर दर्शनमा आधारित हुन्छ । कारण धेरै हुन्छन । ज्ञान असिमित हुन्छ । कोरोना के हो ? यसको उपचार के हो ? यी प्रश्नको उत्तर विज्ञानले दिन्छ । विज्ञान सिमित हुन्छ । तर, यो ब्रह्माण्डमा धेरै असिमित यथार्थहरु छन् ।


ADVERTISEMENT

# # #


महान साहित्यकार बालकृष्ण समले भने झैँ ‘ज्ञान मर्दछ हाँसेर विज्ञान मर्दछ रोइ’ अर्थातर, विज्ञानलाई ज्ञानले प्रतिस्थापन गर्दछ र अन्त्य दुखदायी हुन्छ । पश्चिमी मुलुकहरु विज्ञानमा अगाडि छन् अर्थात् सिमिततामा अगाडी छन् । सत्य भन्दा अगाडि धेरै ज्ञानमार्ग छन् । जसको कुनै लेखा जोखा गर्ने योग ध्यान साधना र अभ्यासको विकास पश्चिमी समाजमा हुन सकेको छैन । पश्चिमी समाज विज्ञानको समाज हो भने पूर्वीय समाज सम्पूर्ण ज्ञान र विज्ञानको समाज हो । कुनै पनि वाद, धर्म, सिद्धान्त र मिमाम्सा भन्दा धेरै अगाडि रहेको पूर्वीय दर्शन विज्ञानको परिधिभित्र अटाउन सक्दैन । त्यसैले अल्पज्ञानी विद्वानहरु यो समाज र सभ्यतालाई बुझ्दै नबुझी अवैज्ञानिक भन्छन् ।

ज्ञानलाई तौलने, जोख्ने र निकाल्ने अभ्ययन विधिबाट कती किलोग्राम ज्ञान निकाल्ने हो ? कहिलेसम्म निकाल्ने हो ? यो अन्योल छ । त्यसैले हालको पश्चिमी अध्ययन विधि अपूर्ण छ । अथाह ज्ञानलाई जोखेर तौलेर राख्नु सम्भव देखिँदैन । समशेरबाट आफुलाई जनप्रिय बनाउन सम लेखेका महान साहित्यकार बालकृष्ण सम तथा ‘कुन मन्दिरमा जान्छौ यात्री’ भनेर मुर्ति पूजाको विरोध गर्ने महकवि लक्ष्मीप्रसाद देवकोटा प्रारम्भमा मार्क्सवादी दर्शनबाट प्रभावित थिए भने पछि पूर्णरुपमा आफ्नै मौलिक वैदिक ज्ञान विज्ञानमा रमेको देखिन्छ । महाकवि लक्ष्मी प्रसाद देवकोटा लेख्छन् :
रहेछ संसार निशा समान, आएन ज्यूँदै रहँदा नि ज्ञान ।
आखिर रहेछ श्रीकृष्ण एक, न भक्ति भो, ज्ञान, नभो विवेक ।

विज्ञान, मार्क्सवाद मात्र होइन, ज्ञान त्यो सीमा भन्दा पनि पर छ । ज्ञान असिमित छ । धर्म र दर्शन असिमित हुन्छन । कोरोना सम्बन्धि ज्ञान जरुरि छ । ज्ञानले कर्म गरिरहेको छ र त हामी सुरक्षित् छौं । अब विज्ञानले काम गर्छ र उपचार पद्दति पत्ता लाग्दछ । पूर्वीय दर्शनभित्र ज्ञान भित्र नै विज्ञान समाहित छ । त्यसैले पूर्वीय दर्शन महान देखिन्छ ।

माओवादी युद्धका सुप्रिम कमान्डर तथा नेकपाका अध्यक्ष प्रचण्ड सद्गुरु योगी जग्गी बासुदेवको स्वत स्फुर्त अनुयाई भएका रहेछन । एशिया महाद्वीप ज्ञानको भण्डार हो । विज्ञान पश्चिमम तिर पाइएला तर ज्ञान यतै पाइन्छ । हो अध्यान अनुसन्धान जरुरी छ । तर, अनुशन्धान विधि पनि पूर्वीय नै हुनु पर्दछ । विद्वान विष्णु प्रभात भन्छन् – सामान्य अर्थमा ‘दर्शन’ शब्दले विचारपूर्वक हेर्नु, दृष्टि दिनु अथवा ज्ञानार्जन गर्नु भन्ने बुझाउँछ । संस्कृत भाषाको ‘दृश्’ धातुबाट निर्मित यो शब्दको विशिष्ट अर्थले भने जीवन र जगतका प्रत्येक काम–कुरा, घटना–प्रक्रिया र नियमसँगै दृष्टिकोण, पद्धति र परिणामको एकत्व बुझाउँछ । अंग्रेजी ‘फिलोसफी’ को तात्पर्य पनि ‘बुद्धिप्रेम’ अथवा ‘ज्ञानप्रतिको अनुराग’ भनिएको छ । प्रकृतिको तत्वपक्ष र समाजको ज्ञानपक्षको एकतामा दर्शन निर्माण हुन्छ र यो समग्र ज्ञानको विज्ञान हो । अर्थात् पद्दतिमा राखिएको सीमामा बाँधिएको ज्ञान नै विज्ञान हो । ज्ञान भित्रै विज्ञान हुन्छ । त्यसैले ज्ञानको प्रेम नै दर्शन अर्थात् फिलोसोफी हो ।

“सर्वे भवन्तु सुखिनः” वैदिक दर्शन होस् या “भवतु सब्ब मङ्गलम” बौद्धिक दर्शन, वास्तविकता त जनताको सुख समृद्धि नै त हो । केहि ऊटपटयांग पण्डितहरु दुवै दर्शनलाई फरक–फरक भनेर बिचमा घृणा फैलाउने कुकर्म गर्दै छन् । पूर्वीय दर्शन यसरी टुक्रियर कमजोर देखिएको हो । बुद्ध र वेद हाम्रा निधि हुन् । हाम्रा सम्पूर्ण ज्ञान विज्ञान यिनै विधामा गाँसिएका छन् । हामी समृद्ध छौं तर पश्चिमी शैलीको ज्ञान नाप्ने औंजार भने हाम्रा ध्यान योग साधना र जोखना हेर्नु नै हुन् । यस सम्बन्धमा अनुसन्धान जारी छ । पूर्वीय अनुसन्धान विधि पुनर्जीवित हुँदै छ । नमस्कार गरी अतिथिको स्वागत गर्नु, योग साधना र अभ्यास गर्नु, पाठ, प्रार्थना र अध्ययन गर्नु, नित्य स्नान गर्नु र सात्विक भोजन गर्नु, हत्या हिम्सा नगर्नु, सबैलाई प्रेम गर्नु पूर्वीय दर्शन हुन् ।

यी सापेक्ष र निरपेक्ष दुवै हुन्छन । पुर्वीय दर्शनको अनुसरण गर्नाले कुनै पनि किसिमको भाइरसले आक्रमण गर्न सक्दैन । पश्चिमी दर्शन व्यक्तिगत आचरणको बारेमा मौन छ । सांख्य दर्शनका प्रणेता कपिल मुनीले स्थापना गरेको कपिलवस्तुमा जन्मेका गौतम बुद्धको उपदेश जीवन दर्शनको लागि काफी छ । कोरोना फैलिएपछि विश्वभरि अहिले नमस्कार गर्ने चलन बढेको छ । पूर्वीय दर्शन तथा सभ्यताको महत्व कोरोनाले पुष्टि गरेको छ ।

बैदिक धर्मको सार “अहम ब्रह्मा अस्मि” अर्थात् म नै ब्रम्हा हुँ र बुद्ध धर्मको सार “अप्प दिपो भवः”को वास्तविक अर्थ एकै हो । आत्मा आत्माको संयोजन परमात्मा हो । जसरी एउटा दियोबाट हजारौं दियो बाल्न सकिन्छ अथवा पानी जता सुकै भए पनि समुन्द्रमा पुगेपछि एकै हुन्छ । हरेक व्यक्तिको आत्मा हो दियो । हामी सबै आत्माहरु परमात्माका अंश हौँ । अर्थात् साना साना परमात्मा ब्रह्मा हौँ । हाम्रो आफ्नै सिर्जना छ । आफ्नै पौरखको कमाई आफ्नै सृष्टि त हो । हामी सबैको सानो सानो संसार छ । त्यहि साना साना संसार मिलेर यो ठुलो संसार बनेको छ ।

आफ्नो परिवारको सिर्जना गर्ने (GENERATE), संचालन  गर्ने (OPERATION)  र भंग गर्ने (DISOLVE)  GOD खुद आफैं हो । भगवान आफैं भित्र छ । आत्मा नै भगवान हो र हामी सबै भगवान हौँ । पानीका थोपा जस्तै या दियो जस्तै । अब हाम्रो कर्म भनेको भगवानको कर्म हो । भगवानको जस्तै माया करुणा हुनु पर्यो । भगवानको जस्तै ज्ञान र पराक्रम हुनु पर्यो । राम, र कृष्ण खुद भगवान थिए, तापनि यो धरतीमा आएपछि कर्म गर्नु थियो । कर्म गर्दा दुःख त हुन्छ । दुःख गर्नु पर्छ । राम, कृष्ण, बुद्ध सबैले दुःख गरेका हुन् र हामी पनि दुःख गर्दछौं । दुःख गर्नु पर्छ, सरसफाई गर्नु पर्दछ । तर डराउनु हुँदैन । डर भ्रम मात्र हो । कोरोनाबाट सुरक्षित् रहने हो डराउने होइन ।

संसारका सबै प्राणी बराबर आत्मा हौँ । हामी सबै एक परिवार हौँ । यो विविधता त सुन्दरता मात्र हो । मायाको लिला हो । अब भगवानले गर्ने कर्म गरौँ । मन, समाज सबै स्वस्थ हुन्छन । आफ्नै परिवारको हत्या गरेर मासु खाँदा पाप लाग्छ । त्यो पाप नै सार्स, प्लेग, बर्ड फ्लु, स्वाइन फ्लु, म्याड काउ अनि कोरोना हो । विश्वका सम्पूर्ण राष्ट्रहरु कोरोनाको त्रासमा छन् । त्रसित हुनु जरुरी छैन । विज्ञानले छिट्टै औषधि पत्ता लगाउने छ । समाजमा रहेको विकृति विसंगति असमानतालाई सन्तुलनमा ल्याउने छ । विश्व जगतमा शान्ति, सद्भाव, प्रेम र साकाहारको सृजना हुने छ । कोरोनाको अन्त्य सुनिस्चित छ ।
अस्तु !