काठमाडौं – नेपाल टेलिकमले भ्वाइस तथा डाटा सेवामा विशेष महसुल दर तथा प्याकेज ल्याएको छ । मुलुकमा कायम रहेको लकडाउनको अवस्थामा कम्पनीले फोनको शूल्क र इन्टरनेटको दर कम गरेको हो ।


ADVERTISEMENT


सरकारले डाटा सेवामा २५ प्रतिशत छुट दिने निर्णय गरेअनुसार कम्पनीले आज बिहिबारदेखि चैत २६ गतेसम्म  जीएसएम मोबाइल डाटा सेवाको आधारभूत दरमा ३० प्रतिशत र सीडीएमए मोबाइल डाटा सेवाको आधारभूत दरमा २७ प्रतिशत छुटको व्यवस्था गरेको छ । जसअनुसार जीएसएम मोबाइल डाटा र सीडीएमए मोबाइल डाटामा प्रतिएमबी करसहित महसुल क्रमशः ९० पैसा र ५१ पैसा लागू हुनेछ ।


ADVERTISEMENT

# # #


टेलिकमले जीएसएम सेवामा नयाँ डाटा प्याक उपलब्ध गराउने निर्णय गरेको छ । पहिलो प्याकेजमा १ सय रुपैयाँमा १ जीबी डाटा खरिद गर्दा ३ जीबी बोनस स्वरुप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ५ दिनभित्र खपत गर्न प्रयोग गर्नुपर्नेछ । यसैगरी दोस्रो प्याकेजमा २ सय रुपैयाँमा २ जीबी डाटा खरिद गर्दा ८ जीबी डाटा बोनस स्वरूप प्राप्त हुनेछ र प्राप्त हुने बोनस कम्पनीको फोरजी नेटवर्कमा ७ दिन भित्र खपत गर्न प्रयोग गर्नु पर्नेछ ।

यसरी १ सयमा बोनससहित कुल ४ जीबी र २ सयमा बोनससहित कुल १० जीबी डाटा प्राप्त हुनेछ ।

यसैगरी कम्पनीकै नेटवर्कभित्र भ्वाइस कल गर्न जीएसएम र सीडीएमए सेवामा हाल उपलव्ध भ्वाइस प्याक खरिद गर्दा ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय भएको छ । सुविधाअनुसार पहिलो प्याकेजमा ४० मिनेटको भ्वाइस प्याक एक दिनका लागि २५ रुपैयाँ मा खरिद गर्दा २० मिनेट बोनस उपलब्ध हुनेछ । यसैगरी दोस्रो प्याकेजमा १९० मिनेटको भ्वाइस प्याक ७ दिनका लागि एक सय रुपैयाँमा खरिद गर्दा ९५ मिनेट बोनस उपलब्ध हुनेछ । यसरी २५ रुपैयाँमा एक दिनका लागि बोनससहित ६० मिनेट र १ सय रुपैयाँमा ७ दिनका लागि बोनस सहित २ सय ८५ मिनेटको भ्वाइस सेवा प्राप्त हुनेछ । कम्पनीले एक्स्ट्रिक १४१५ ह्यास डायल गरेर, टेलिकमको एप वा वेबसाइटबाट नयाँ प्याक खरिद गर्न सकिने जानकारी दिएको छ ।

यसका अतिरिक्त कम्पनीको ल्यान्डलाइन सेवाको महसुल ढिलो भुक्तानी भएमा जरिवाना लाग्ने व्यवस्था गरेको छ । यसैगरी फागुन र चैतको महसुलवापत हुने जरिवाना आगामी वैशाख मसान्तसम्मका लागि मिनाहा हुनेछ । साथै, पूर्ण लकडाउनको अवधिमा कम्पनीका एडीएसएल र एफटीटीएचलगायत वाइम्याक्स सेवाका ग्राहकवर्गलाई सेवा निरन्तर उपलब्ध गर्न यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरका लागि काटिने छैनन् ।