दमक, झापा – प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्रमा लक डाउनका समय विपन्नहरूका लागि राहत वितरण सुरू गरिएको छ ।


ADVERTISEMENT


झापाको दमक वडा नम्बर १० मा रहेका स्थानीयहरूलाई शनिवारबाट राहत वितरण गरिएको वडाध्यक्ष बोधराज न्यौपानेले हिमालय पोष्टलाई जानकारी दिए । कोरोना संक्रमणबाट बँच्न सरकारले गरेको लक डाउनका कारण देशैभरि जनता घर घरमा बसिरहेका छन् । लक डाउनका समयमा अत्यावश्यक सामग्रीहरूको अभाव भएर जनताहरूले थप समस्या भोग्नु नपरोस भनेर राहत वितरण गरिएको वडाध्यक्ष न्यौपानेले बताए।


ADVERTISEMENT

# # #


वडा नं. १० नम्वर वडा कमिटि सदस्य प्रेम चापागाईंका अनुसार २ सय घरपरिवारलाई राहत वितरण गरिने गरी विपन्न र अत्यावश्यक वस्तुहरूको अभाव भएका परिवारहरूको लगत निकालिएको छ । सोही अनुसार दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने सर्वसाधारणहरूलाई राहत बाँडिने उनको भनाई छ ।

लक डाउनका समयमा वडावासीहरूलाई चामल, दाल, नुन चिउरा, खानेतेल, साबुन लगायतका आवश्यकीय सामग्री राहत स्वरूप बितरण गरिएको वडा सदस्य चापागाईले हिमालयपोष्टसँग बताए । जनताको अभिभावकका रूपमा रहेको स्थानीय सरकारले जटिल अवस्थामा हातमुख जोर्न समेत समस्यामा पर्ने जनताहरूलाई वडाले राहत सहयोग गरेको उनको भनाई छ ।

विश्वव्यापी संक्रमण फैलाईरहेको कोरोना भाईरसबाट आफु बच्न तथा परिवार, समाज र देशलाई बँचाउन सबैले लक डाउनलाई पालना गर्दै सरकारलाई सहयोग गर्न वडाध्यक्ष न्यौपानेले आग्रह समेत गरेका छन् । संकटको समयमा नआत्तिन र सचेत भएर असामान्य अवस्थामा एक भएर लड्न सबैमा उनले अपिल गर्दै जस्तोसुकै परिस्थितिमा समेत स्थानीय सरकार जनतासँगै हुने उनले विश्वास समेत व्यक्त गरेका छन् ।