काठमाडौँ – चन्द्रागिरी नगरपालिकाले १० हजार घरपरिवारलाई राहत वितरण गरेको छ । विश्वव्यापी भएको नोबेल कोरोना भाइरसको सम्भावित सङ्क्रमणलाई ध्यानमा राखेर सरकारले लकडाउन गरेपछि मजदुरी गरेर दैनिक गुजारा चलाउँदै आएका १० हजार घरपरिवारलाई नगरपालिकाले राहत वितरण गरेको हो ।


ADVERTISEMENT


नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरीका १५ वडाका दैनिक मजदुरी गरेर गुजारा चलाउने १० हजार परिवारलाई राहत वितरण गरेको जानकारी दिए । “राहतका लागि अहिलेसम्म १० हजार ७४५ घरपरिवारले नगरपालिकामा आवेदन दिएपनि अहिलेसम्म १० हजार घरपरिवारलाई राहत वितरण गरिसकेका छौँ”, उनले भने।


ADVERTISEMENT

# # #


नगरपालिकाले एकद्वार प्रणालीमार्फत राहत वितरण गरिरहेको छ । चन्द्रागिरीले तीन जनाको परिवारसम्मलाई १० किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन रहेको छ । यस्तै चार वा चारभन्दा बढी परिवार भएका व्यक्तिलाई १५ किलोग्राम मन्सुली चामल, एक किलोग्राम मुसुरो दाल, एक किलोग्राम नुन, दुई किलोग्राम च्यूरा, एक किलोग्राम चिनी र दुई पिस साबुन वितरण गरिने नगरपालिकाले जनाएको छ ।

विश्वव्यापी रुपमा फैलँदै गएको नोबेल कोरोना भाइरसको नेपालमा सम्भावित सङ्क्रमणका कारण सरकारले चैत ११ गते बिहानदेखि वैशाख ३ गतेसम्म ‘लकडाउन’ गरेपछि दैनिक मजदुरी गरेर पेट पाल्दै आएका विपन्न परिवारलाई खानाको अभाव हुँदै आएको छ ।

चन्द्रागिरी नगरपालिकाले कोभिड–१९ को नियन्त्रण तथा राहतका लागि रु एक करोड ५० लाख रकम विनियोजन गरेको थियो । चन्द्रागिरी बागमति प्रदेशकै सबैभन्दा ठूलो नगरपालिका हो । उक्त नगरपालिकामा १५ वडा रहेका छन् । रासस