काठमाडौँ – नेपाल ओलम्पिक कमिटीले आज टोकियो ओलम्पिकको छनोट खेल खेल्ने, वाइल्ड कार्डका लागि तयारी गरेका र छात्रवृत्ति पाएका खेलाडी, प्रशिक्षक तथा सङ्घसँग भिडियो कन्फरेन्स छलफल गरेको छ । लकडाउनमा खेलाडी, प्रशिक्षकको अवस्था बुझ्न र उनीहरुलाई केही समस्या परेको भएको सामाधानसमेत गर्ने उद्देश्यले भिडियो कन्फरेन्स गरिएको हो ।


ADVERTISEMENT


कोभिड १९ का कारण यही चैत ११ देखि लकडाउन भएकाले खेलाडी घरभित्रै हुँदा उनीहरुलाई मानसिक, शारीरिक रुपमा तन्दुरुस्त राख्न विभिन्न चरणमा भिडियो कन्फरेन्समार्फत छलफल गरिएको छ । छलफलपछि पोषणविद्सँग नियमित सम्पर्क गराएर खेलाडीको खेलअनुसारको डाइट दिनेलगायतको कार्य हुनेछ भने कमिटीले बनाएको डाक्टरको समूहले अनुगमन गर्ने छन् ।


ADVERTISEMENT

# # #


कमिटीले आइतबारबाट खेलाडी तथा प्रशिक्षकका लागि मनोवैज्ञानिक कक्षा अनलाइनमार्फत सञ्चालन गर्ने छ । छलफलमा सहभागी खेलाडी प्रशिक्षकले एनओसीले अप्ठ्यारो परिस्थितिमा अभिभावकत्व ग्रहण गरेको भन्दै खुशी व्यक्त गरेका थिए ।

कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले ओलम्पिक २०२१ को २३ जुलाईदेखि ८ अगस्टसम्म हुने भएकाले यसलाई अवसरका रुपमा लिनका लागि आजैबाट परिस्थितिलाई बुझेर काम गर्नुपर्ने बताए ।

ओलम्पिकका लागि ५ जुलाईसम्म अन्तिम ‘इन्ट्री’को समय रहेको छ । सो छलफलमा राष्ट्रिय खेलकूद परिषद्का उपाध्यक्ष पीताम्बर तिम्सिनाले १३ औँ दक्षिण एशियाली खेलकूदमा पदक जितेका खेलाडीका लागि घोषणा गरिएको पुरस्कार राशि उपलब्ध गराउन थालिएको जानकारी गराए । ओलम्पिक दीपक विष्टले खेलाडीले जस्तो परिस्थितिमा पनि अभ्यास गर्न सक्नुपर्ने विचार व्यक्त गर्दै खेलाडीले घरमै बसेर अभ्यास गरिरहेको र सामाजिक दायित्व पूरा गर्ने कामसमेत भइरहेको जानकारी गराए ।

छलफलमा कीर्तिमानी पौडी खेलाडी गौरिका सिंहले प्रशिक्षकसँग अनलाइनमार्फत छलफल गरेर घरभित्रै अभ्यास गरिरहेको बताइन् । डा. सरोजकृष्ण श्रेष्ठले घरभित्रै बस्ने र केही समस्या भएर डाक्टरसँग परामर्श लिन आग्रह गरे ।