काठमाडौँ – पर्साको वीरगञ्जमा तीनजनालाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले तीनजनामा कोभिड–१९ पोजेटिभ देखिएको पुष्टि गरे ।


ADVERTISEMENT


गएराती राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएका नमूनाहरुमध्ये उनीहरुको नमूनाहरु पोजेटिभ देखिएको हो । उनका अनुसार नमूना पोजेटिभ देखिनेमा ३३ वर्षीय, ४४ वर्षीय र ५५ वर्षीय पुरुष रहेका छन् ।


ADVERTISEMENT

# # #


संक्रमित तीनैजनाको अवस्था सामान्य रहेको र हाल वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको प्रवक्ता डा. देवकोटाले जानकारी दिए । संक्रमितको सम्पर्कमा आएको व्यक्तिहरुको खोजी (कन्ट्याक्ट ट्रेसिङ)को काम पनि सुरु भइसकेको उनले बताए ।

उनले भने, ‘पछिल्लो पटक देखिएका यी तीनवटै केसहरुको कन्ट्याक्ट ट्रेसिङको लागि हाम्रो टोली मूभ भइसकेको छ । ट्रेसिङको कार्य सूचारु भइसकेको छ ।’

यससँगै नेपालका कोरोना संक्रमितको संख्या १२ पुगेको छ । जसमध्ये पहिलो संमण देखिएका व्यक्ति उपचारपछि घर फर्किएका छन् । अन्यको उपचार भइरहेको छ ।

संक्रमितको संख्या वृद्धि भइरहेको अवस्थामा स्वास्थ्य मन्त्रालयले मुख्यगरी दुईवटा रणनीति अघि सारेको प्रवक्ता देवकोटाले बताए । उनका अनुसार मन्त्रालयले पहिलो रणनीति लकडाउनको पूर्ण पालना गरी क्वारेन्टाइनमा रहनु बनाएको छ । जसले गर्दा संक्रमण एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न पाउँदैन र बाहिरबाट घरमा संक्रमण आउन पाउँदैन ।

अर्को रणनीतिका रणनीतिका रुपमा मन्त्रालयले परीक्षणको दायरा बढाइरहेको उनले बताए । त्यसका लागि र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) प्रविधि अघि सारेको छ । जसले गर्दा संक्रमितको पहिचान गर्दै अन्य व्यक्तिलाई संक्रमण फैदिनबाट रोक्न सकिन्छ ।