काठमाडौं – भोजपुरबाट काठमाडौं आई विभिन्न पेशा, व्यवसाय, रोजगारी गरि बसेका तर लकडाउनले समस्यामा परेका जिल्लावासीलाई सोही जिल्लाकै मनकारी भोजपुरेहरुले राहत सहयोग गरेका छन्।


ADVERTISEMENT


‘लकडाउनको कारण कोही भोजपुरे भोको नरहोस्’ भन्ने नाराका साथ अभियान अघि बढाएका उनीहरुले ४०० भन्दा बढी भोजपुरेहरुलाई सहयोग गरेका हुन् । लकडाउनले खासगरी विध्यार्थी वर्ग र दैनिक काम गर्ने मजदुर वर्गलाई समस्या परेकाले उक्त अभियान अघि बढाएको अभियन्ता तथा भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ दोर्ची शेर्पाले बताए । उनले भने, ‘चुल्हो बाल्नै गार्हो परिसकेका भोजपुरे दाजुभाइ दिदीबहिनीहरुलाई एकसरो सहयोग पुर्याउने हाम्रो उद्देश्य बमोजिम यो काम गरेका हौँ ।’


ADVERTISEMENT

# # #


लकडाउन बढ्दै जान थालेपछि जिल्लाबासीका पीडा सामाजिक संजालहरुमा व्यक्त हुन थालेपछि आफूहरुले केही किन नगर्ने भनेर पहिले ३–४ जनाबाट अभियान शुरु गरेको अभियानका मुख्य अभियन्ता पारुहाङ राईले बताए । सकभर अरुसँग राहत संकलनका लागि पैसा नमाग्ने बरु राहतलाई सम्बन्धित व्यक्तिकहाँ पुर्याउने अभियानका उद्देश्य भए पनि थप्रैले सहयोग गरेको उनले बताए ।

‘सहयोग गर्नेसँग सकभर पैसा नमाग्ने बरु सहयोगीहरुले किनिदिएको राहत सहयोग चाहनेको घरमै पुर्याईदिने सोचबाट काम थालेका थियौँ’ उनले भने, ‘धेरै सहयोगी हात आफसेआफ जुटिदिनु भयो र फिल्डमा खट्ने साथीहरुको पनि कमी रहेन ।’ उनले सहयोग गर्नेलाई सबैलाई धन्यवाद दिए ।

यद्दपी अहिले भने उक्त अभियान हाललाई स्थगित गरिएको अभियन्ता तथा भोजपुरे सेवा समाजका अध्यक्ष शेर्पाले जानकारी दिए । हाल बसेको स्थानीय निकायका वडाहरुबाट नै राहत प्राप्त गर्न सकिने वातावरण धेरै सहज र प्रभावकारी बन्दै गएकाले अभियान स्थगित गर्नुपरेको उनले बताए ।

मुख्य अभियन्ता राईकाअनुसार अभियानमा अभियन्ताको रुपमा रामप्रसाद राई स्मृति प्रतिष्ठानकी अध्यक्ष तारादेवी राई, नागरिक हेल्थ ट्रष्टका गोपीकृष्ण न्यौपाने, रोटरी क्लब अफ पशुपति काठमाडौं, च्याङ्रेली सद्भाव समाज, भोजपुरे सहकारी संस्था लिमिटेडका नयन थापा, दाँवाली मिलन क्लबका अध्यक्ष रोशन श्रेष्ठ, नेकपा भोजपुर काठमाडौं सम्पर्क मन्च लगायतका दर्जनौँ व्यक्ति तथा समूह रहेका थिए ।

यस्तै राहत वितरण गर्न सहयोग पुर्याएकोमा अभियानले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाललाई धन्यवाद ज्ञापन गरेको बताएको छ।