राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा सञ्चालित खयरकन्द्रा सामुदायिक घरवास (होमस्टे) मा पर्यटक नभएर सुनसान देखिएको छ ।


ADVERTISEMENT


कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी (लकडाउन) का कारण पर्यटकको सङ्ख्या शुन्यमा झरेपछि घरवास सञ्चालक चिन्तित बनेका हुन् । बैंकबाट ऋण लिएर घरवास सञ्चालन गर्दै आएका यहाँका आठ परिवारले ऋण कसरी तिर्ने भन्ने चिन्तामा छन् । उनीहरुले घरवास सञ्चालनका लागि रु एक लाखदेखि आठ लाखसम्म बैंकबाट ऋण लिएका छन् ।


ADVERTISEMENT

# # #


“लकडाउनका कारण घरवास बन्द भएपछि कमाइको स्रोत नै गुमेको छ । बैंकबाट लिएको ऋणको ब्याज र साँवाको किस्तासमेत बुझाउन पाएको छैन”, घरवास सञ्चालक समितिका अध्यक्ष पुरन डगौराले भने, “आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेपछि घरवास व्यवस्थापनका लागि बैंकले ऋण लगानी गर्न इच्छा देखाएका थियो । विगतमा राम्रै कमाई भएपनि लकडाउनका कारण अहिले हामी मर्कामा परेका छौं ।” “घरवासबाट भइरहेको आम्दानी देखेर नै बैंकले ऋण दिएका थिए”, उनले भने, “विश्वव्यापीरुपमा फैलिएको कोरोना महामारीका कारण देश नै लकडाउन भएपछि घरवाससमेत बन्द गर्नुपर्यो । आम्दानी गुम्दा बैंकबाट लिएको ऋणको ब्याज र साँवाको किस्ता बुझाउन सकेका छैनौँ ।”

घरवासमा बस्ने घरहरु निर्माणका लागि राष्ट्रिय प्रकृति कोषले रु १३ लाख अनुदान रकम प्रदान गरेको थियो । अनुदान रकममध्ये रु ५० हजार कार्यालय सञ्चालन र रु ५० हजार भ्रमणमा खर्च गरिएको थियो । अनुदानवापतको बाँकी रु १२ लाख घरवास सञ्चालकले रु एक लाख ५० हजारका दरले बाँडेका थिए । अनुदानको रकम अपुग भएपछि उनीहरु घर निर्माण तथा घरवासमा आउने पाहुना बस्नका लागि फर्निचर, सयन कक्षको साजसज्जामा लाग्ने खर्चको व्यवस्थापनका लागि बैंकबाट ऋण लिएका हुन् । घर निर्माणकै लागि बैंकबाट रु सात लाखभन्दा बढी ऋण लिएका अध्यक्ष डगौराको भनाइ छ ।

बैंकलाई मासिक रुपमा १३ प्रतिशत ब्याज र साँवाको किस्ताबापत रु १७ हजार रकम बुझाउनु पर्ने हुन्छ । घरवास सञ्चालन हुँदा मासिक रुपमा रु १५ हजारदेखि ३० हजारसम्म आम्दानी भइरहेको थियो । “उक्त आम्दानीबाट बैंकको ऋणको ब्याज र साँवाको किस्ता बुझाउँदै आएका थियौँ”, घरवास सञ्चालक टीकुराम डगौराले भने, “घरवास बन्द भएपछि ऋणबापत लिएको रकमको ब्याजसमेत बुझाउन पाइएको छैनौं ।” “बैंकले ब्याज बुझाउन ताकेता गर्दै आएका छन् । आम्दानी छैन । अन्य स्रोतबाट बैंकको ऋण बुझाउनका लागि पैसाको व्यवस्था गर्न सकिएको छैन”, उहाँले भने ।

पाहुनाका लागि सांस्कृतिक कार्यक्रम देखाउन सामुदायिक भवन निर्माण गर्न दुई कट्ठा जग्गा रु १७ लाखमा खरिद गर्दा घरवासमा संलग्न आठ परिवारले रकम व्यहोरेका छन् । जसका लागि सबैले बैंक, सहकारी र गाउँका समूहबाट समेत ऋण झिकेका छन् । घरवासको जग्गा खरिदका लागि गाउँकै त्रिशक्ति समूहबाट रु एक लाख रकम ऋण झिकेका दिलबहादुर डगौरालाई समेत समस्या परेको छ । “घरवास सञ्चालन गरी तीन महिनाको अवधिमै ऋण चुक्ता गर्ने भाखा राखी ऋण लिइयो”, उनले भने, “ऋण लिएकै केही दिनमै लकडाउनका कारण होमस्टे नै बन्द भएपछि समस्यामा परेको छु ।”

सामुदायिक भवन निर्माणका लागि तारागाउँ विकास समितिले रु चार लाख रकममध्ये रु तीन लाख रकम उपलब्ध गराएपछि खरिद गरिएको जग्गामा भवन निर्माणको कार्य शुरु गरिए पनि रकम अभावले सो कार्य पनि अगाडि बढ्न सकेको छैन । लकडाउनका कारण भवन निर्माणका लागि रकम जुटाउन नपाइएको उनीहरुको भनाइ छ । एक वर्षअघिदेखि सञ्चालन हुँदै आएको घरवासमा बास बस्न पुग्ने पर्यटकलाई थारु समुदायका मौलिक परिकारका रुपमा रहेका माछा, घोँघी, सिध्रा, ढिक्री, पतौला, फुलौरा र स्थानीय जातका कुखुराको मासुका परिकारसँगै सखिया नृत्य देखाउने गरिएको छ ।

थारु समुदायले बस्नका लागि प्रयोग गर्दै आएका परम्परागत शैलीका घरमा पर्यटकलाई बास बस्ने व्यवस्था गरिएको छ । बाहिरबाट पुराना शैलीका घर देखिने गरे पनि घरभित्र पर्यटकलाई बस्नका लागि आधुनिक शैलीका शयन कक्ष, शौचालय र स्नान घरको व्यवस्था गरिएको छ । एक कोठामा दुईजना पर्यटकलाई सहज रुपमा बस्नका लागि व्यवस्था गरिएको खयरकन्द्रा सामुदायिक घरवासका सचिव दानसिंह चौधरीले बताए ।

घरवासको माध्यमबाट रोजगारी सिर्जना गर्न, लोप हुँदै गएको संस्कृति जोगाउन, मौलिक पहिचान स्थापित गर्न र ऐतिहासिक वस्तुको संरक्षणमा योगदान दिन होमस्टे सञ्चालन गरिएको हो । जोनापुर थारु समुदायको पुरानो गाउँ हो । विसं १९६५ मा यो गाउँ बसेको बुढापाकाको भनाइ छ । यो गाउँमा थारु, ब्राह्मण, दलित र क्षेत्री गरी १६२ परिवारको बसोबास छ । परम्परागत थारु संस्कृतिको धरोहरका रुपमा यो गाउँ चिनिने गर्छ ।

जोनापुरको दक्षिणी भेग शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खैकन्द्रा नाम गरेको ठूलो प्राकृतिक ताल रहेको छ । यसै तालको नामबाट यो घरवासकोे नामकरण गरिएको छ । ताल कमलको फूल, चराचुरुङ्गी र जलचरका लागि प्रख्यात रहेको छ । रासस