दुल्लू – भारतसँग सिमाना जोडिएको बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमित भेटिएपछि दैलेख जिल्लाका सबै नाका सिल गरी उच्च सतर्कता अपनाइएको छ ।


ADVERTISEMENT


जिल्लाका दूध र तरकारी बेच्न किसानलाई सामाजिक दूरी कायम गर्दै बिहान ६ देखि ८ बजेसम्मको समय तोकिएको छ । कोरोना भाइरस सङ्क्रमण फैलिन नदिन स्थानीय प्रशासनले सुरक्षा समितिको बैठक बसी सबै नाका सिल गरी संयुक्त सुरक्षाकर्मी परिचालन गर्ने भए पनि तरकारी र दूध किसानका लागि र प्रयोगकर्ताका लागि सामाजिक दूरी कायम गर्दै बिहान दुई घण्टाको समय निर्धारण गरेको हो ।


ADVERTISEMENT

# # #


प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले दैलेख सदरमुकाममा तरकारी र दूध नगरभित्रका किसानले ल्याउने हुँदा उनीहरुको परिश्रम खेर जान नदिन र आम नागरिकलाई अत्आवश्यक पर्ने भएकाले समय तालिका निर्धारण गरी सहजता ल्याइएको जानकारी दिए ।

तरकारी किसानका लागि जिल्लाभरि नै सामाजिक दूरी कायम गरी बिक्री वितरण गर्न सकिने पनि परिपत्र स्थानीय सरकारमार्फत जानकारी गराइएको छ । किसानलाई उनीहरूले उत्पादन गरेको तरकारी र दूध बिक्री गर्ने वातावरण मिलाएको प्रति किसान खुशी भएका छन् । किसानको उत्पादित तरकारी र दूध बिक्री गर्न नपाएमा उनीहरूको परिश्रम खेर जाने र उनीहरूको दैनिकीमा पनि समस्या आउने हुँदा स्थानीय प्रशासनको यो निर्णयबाट निकै खुशी भएका हुन् । अखिल नेपाल किसान सङ्घ दैलेखका अध्यक्ष चन्द्रबहादुर थापाले स्थानीय प्रशासनले किसानको मर्म बुझेर यो निर्णय गर्दा निकै खुशी लागेको बताए ।

सदरमुकाम रहेको नारायण नगरपालिका मात्र दैनिक लाखौँको तरकारी र दूध उत्पादन हुने र किसानको कृषि वस्तुमा रोक लगाएको भए लाखौँको नोक्सानी हुने अनि सदरमुकामवासी ती वस्तुको अभावमा बस्नुपर्ने अवस्था हुने भएकाले किसान र सबैका लागि यो निर्णय उचित भएको थापाले बताए । उनले सदरमुकाम मात्र दैनिक सयौँ लिटर दूध खपत हुने र सयौँ किलो तरकारी आवश्यक पर्ने भएकाले उपभोक्ताले हाहाकार बस्नुपर्ने र किसान लाखौँको नोक्सानीबाट जोगिने पनि बताए ।

जिल्ला कृषि विकास कार्यालय दैलेखका प्रमुख तिलक पाण्डेले एघार स्थानीय तह र ९० वडा रहेको दैलेखमा वार्षिक रु १५ करोडको तरकारी र दूध उत्पादन हुने बताए । रासस