काठमाडौं – सांसद गगन थापाले संसदमा बाल कविता वाचन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गरेका छन् । सोमबार प्रतिनिधि सभाको प्रि–बजेट छलफलमा सांसद थापाले ‘म त भाग्यमानी’ शीर्षकको बाल कविता सुनाएका हुन् ।


ADVERTISEMENT


भारतले नेपाली भूमि मिचेको, विदेशमा अलपत्र परेका नागरिकहरुको पीडा सरकारले नसुनेको विषयमा थापाले कविताबाटै प्रधानमन्त्रीको आलोचना गरे।


ADVERTISEMENT

# # #


थापाले कोरोना महामारीको समयमा गरिब जनताले राहत नपाएको, विदेशमा अलपत्र परेका नागरिकहरुको आवाज सरकारले नसुनेको भन्दै व्यंग्य गरे ।

यस्तो छ गगन थापाले संसदमा सुनाएको बाल कविता:

छैन यहाँ देशको नक्सा मेटिएको
न त लिपु लेकलाई डोजरले रेटिएको
यस्तो सबल सरकार छ, सीमा कसले मिच्ने ?
कोही छैनन् जोरी खोज्ने, छैनन् कोही हेप्ने

सयौँ कोश हिंड्दा पनि श्रमिक छैनन् आहत
गरीबलाई सम्मान छ, सरकारबाट राहत
विदेशमा कोही पनि अलपत्र छैनन्
दुःख पीडा सुनाउने ती नेपाली नै होइनन्

जनताको व्यथालाई ध्यान दिएर सुन्ने
कृषक, साना व्यापारीको साह्रै मर्म बुझ्ने
भ्रष्टाचारलाई नहसने सरकारको छ नीति
हावादारी हल्ला हुन्, ओम्नी र यति

सबैतिर वाहवाही यस्तो विकास देख्दा
पत्रकार नै दंग छन् यी समाचार लेख्दा
कोमल हृदयका प्रधानमन्त्री, आँशुकवि हाम्रा
दिन नबिराई सिर्जना छ, आहा कति राम्रा

राहत खोज्दै आउनेलाई तिनै गीत दिउँला
गीत, कविता भट्याउँदै कालापानी जाउँला
सारा नेपाल हाँसेको छ, मेची काली गाउँछ
आँशु आए बरु त्यही गीतले आउँछ

यस्तो नायक गज्जबका ल्यायौँ जानीजानी
अहो ! हामी नेपाली त साह्रै भाग्यमानी
अहो ! साह्रै भाग्मानी, म त साह्रै भाग्यमानी