काठमाडौँ– चीन र भुटानको सीमाना दोक्लम पुगेको भारतीय सेना दुई महिनापछि फिर्ता भएको छ। केही भारतीय सञ्चारमाध्यमले दुबै देशका सेना दोक्लमबाट फिर्ता भएको बताए पनि चीनले भने भारतीय सेनामात्र फिर्ता भएको र आफ्नो सेनाले दोक्लममा गस्ती जारी राख्ने जनाएको छ।


ADVERTISEMENT


सोमबार भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै पछिल्ला केही साता दोक्लम विवादबारे चीनसँग कुटनीतिक तहमा कुराकानी गरेको र दुबै देशले आ–आफ्नो चासो र चिन्ता व्यक्त गर्न सफल भएको बताएको थियो।


ADVERTISEMENT

# # #


‘यही आधारमा दोक्लममा रहेका सीमा सुरक्षा फौज तुरुन्त फिर्ता गर्न हामी सहमत भयौं र फौज फिर्ताको क्रम जारी छ,’ विज्ञप्तिमा भनिएको छ।

तर बेइजिङले भने दोक्लममा आएका सबै भारतीय सैनिक फिर्ता भइसकेको र चिनियाँ सेनाले त्यहाँ गस्ती गरिरहेको जनाएको छ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले आफूहरुले दोक्लमका सबै ठाउँमा जाँच गरेको र भारतीय सेना त्यहाँबाट हटिसकेको बताइन्। ‘चिनियाँ सैनिकले सार्वभौमिकताको रक्षाको लागि दोक्लममा गस्ती जारी राख्नेछ,’ उनले भनिन्।

के हो दोक्लम विवाद ?

चीनसँग सीमा जोडिएको भुटानको २६९ वर्गकिलोमिटर दोक्लम क्षेत्र लामो समयदेखि विवादित छ। यसलाई भुटान र चीन दुवैले आफ्नो भूभाग भनेर दाबी गर्दै आएका छन्।

भुटानको पश्चिम–उत्तर सीमामा रहेको दोक्लम चीनको नियन्त्रणमा छ। उक्त क्षेत्रमा सडक निर्माणका लागि चीनले गत जुन १६ मा निर्माण सामग्री र गाडी पठायो। भुटानले तत्काल त्यसको विरोध गर्यो। भुटानी सेनाले चिनियाँ सैनिक र सडक निर्माणका लागि आएका मानिसलाई पछि हट्न भन्यो। चिनियाँ सैनिकले टेरेनन्। त्यसपछि भारतसँगको रक्षा सन्धिमा टेकेर भुटानले भारतीय सहयोग माग्यो।

जुन १८ मा डोजर लिएर २ सय ७० जना भारतीय सैनिक दोक्लम पुगेका थिए। भारतले आफ्ना सैनिकलाई उक्त क्षेत्रमा पठाएपछि भारत र चीनबीच तनाव सुरु भएको थियो।

चीनले सन् १९९६ मै भुटानलाई दोक्लम सीमा विवाद मिलाउने सूत्र प्रस्ताव गरेको थियो। चीन र भुटानबीच दोक्लमबाहेक भुटानको उत्तरपूर्वमा रहेको पासालुङ र हार्कालुङ क्षेत्रमा पनि विवाद छ। चीनले ४९५ वर्गकिलोमिटरको उक्त भूभाग भुटानलाई दिएर त्यसको सट्टा २६९ वर्ग्किलोमिटरको दोक्लम क्षेत्र आफूले राख्ने प्रस्ताव गरेको थियो।

कतिपय भुटानीहरु चीनसँग लेनदेन गरेर सीमा विवाद मिलाउनुपर्ने पक्षमा छन्। चीनसँगको सीमा विवाद भुटानले थेग्न नसक्ने उनीहरुको राय छ। तर, दोक्लममा भारतीय चासोलाई लत्याउन पनि भुटानलाई सजिलो छैन।