काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मध्य तथा सुदूर पश्चिम क्षेत्रमा विशेष रूपमा मनाइने महत्वपूर्ण सांस्कृतिक पर्व गौरा पर्वका अवसरमा आज स्वदेश तथा विदेशमा रहेकामा शुभकामना दिँदै यो पर्व नेपालीको विशिष्ट पहिचान भएको उल्लेख गरेका छन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीको सन्देशमा भनिएको छ, ‘हाम्रो देश नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरूको अनुपम संगमस्थल हो । भाषा, संस्कृति, वेशभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरू हुन् । यसै सन्दर्भमा परापूर्वकालदेखि मनाइँदै आइएको गौरा पर्व नेपालीको विशिष्ट पहिचानसमेत हो । यस पर्वको महत्वलाई आत्मसात् गर्दै नेपाल सरकारले राष्ट्रिय पर्वका रूपमा लिई सार्वजनिक बिदाको व्यवस्था गरेको पनि स्मरण गराउन चाहन्छुु ।’


ADVERTISEMENT

# # #


उनले यस पर्वका अवसरमा सबैमा सुख, शान्ति र समृद्विको कामना गर्दै गौरा पर्वले नेपालीबीच सामाजिक सद्भाव र भ्रातृत्वपूर्ण सम्बन्ध अझ प्रगाढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

के हो गौरा पर्व ?

भाद्र शुक्ल षष्ठि देखि अष्टमीसम्म गौरा पर्व मनाउने गरिन्छ । पहिलो दिन महिलाहरुले निराहार ब्रत बसी घरमा तामा वा पित्तलको भाँडोमा विरुडा अर्थात पाँचथरीका गेडागुडी भिजाउने गर्छन् ।

गौरापर्वमा व्रतालुले शिव र गौरीको पुजामा विरुडालाई अक्षता र प्रसादका रुपमा प्रयोग गर्ने गर्दछन् । गौरा भित्र्याइसकेपछि विसर्जन नगरिएसम्म गौराघरमा पुरुष र महिलाहरु छुट्टाछुट्टै रुपमा गोलबद्ध भएर स्थानीय लोक भाषामा देउडा, चैत, धमारी खेल्ने गरिन्छ । पर्वको अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ ।

पार्वतीले कठोर तपस्या गरी शिवलाई पतिको रुपमा प्राप्त गरेको पौराणिक कथन अनुसार यसपर्वमा गौरी अर्थात पार्वतीको पुजा अर्चना गरिन्छ ।

यसै अवसरमा राजधानीको टुँडिखेलमा आयोजना हुने देउडा कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने कार्यक्रम छ ।