कास्की – यहाँका पाँचवटै स्थानीय तहले रोजगारी, विभिन्न पेशा तथा व्यवसायमा हाल भारतलगायत अन्य देशमा रहेकाको तथ्याङ्क सङ्कलन शुरु गरेका छन् । कोरोना भाइरसको जोखिमले गर्दा रोजगारी गुमाइ विदेशमा अप्ठ्यारो अवस्थामा परेर स्वदेश फर्किने इच्छा राखेकाको नामावली सङ्कलनमा स्थानीय सरकार जुटेका हुन् ।


ADVERTISEMENT


जिल्लाको मादी, अन्नपूर्ण र रुपा गाउँपालिकामा विदेशमा रहेकाहरुको तथ्याङ्क सङ्कलन गर्ने काम सकेका छन् भने पोखरा महानगरपालिका र माछापुच्छ«े गाउँपालिकामा भइरहेको छ । हाल विदेशमा रहेकाहरु कोभिड–१९ का कारणले स्वदेश फर्किन चाहेको तथा उनीहरुलाई सरकारले उद्धार गरेर ल्याएको अवस्थामा क्वारेन्टिन निर्माण तथा आगामी दिनमा उनीहरुलाई कसरी व्यवस्थापन गर्ने भनेर स्थानीय सरकारले तथ्याङ्क खोजेका हुन् ।


ADVERTISEMENT

# # #


आगामी आर्थिक वर्ष विसं २०७७-७८ को वार्षिक बजेट तथा नीति कार्यक्रमको तयारीमा रहेका स्थानीय सरकारले बजेटअघि नै विदेशबाट फर्किन चाहनेहरुको सङ्ख्या यकिन गरी सोहीअनुसार कार्यक्रम बनाउने योजनामा छन् । स्थानीय तहले वडाका जनप्रतिनिधि, टोल विकास संस्थालगायतबाट घरघरमै पुगेर विदेश भएकाहरुको खोजीनीति गरेका हुन् । विदेशमा भएको व्यक्तिको नाम, उमेर, हाल रहेको देश, विदेशमा रहनुको उद्देश्य, हाल विदेशबाट फर्किन चाहे-नचाहेको तथा सम्पर्क नम्बरसहितको विवरण खोजी गरिएको हो ।

भौगोलिकरूपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले अनलाइनका माध्यमबाट विदेश रहेकाहरुको जानकारी लिन शुरु गरेको छ । महानगरको वेवसाइटमा विदेश भएकाहरुले आफ्नो विवरण उल्लेख गर्न सकिने व्यवस्था गरिएको महानगर प्रमुख मानबहादुर जिसीले जानकारी दिए । यसका साथै वडा कार्यालयमा समेत विवरण सङ्कलन गरिएको छ । महानगरमा स्थायी बसोबास भएर हाल विदेशमा भएकालाई अनिवार्यरूपमा विवरण भर्नसमेत महानगरले आग्रह गरेको छ ।

माछापुच्छ्रे गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडीले नौ वटै वडामा विदेश भएका र हालको विषम परिस्थितिका कारणले स्वदेश फर्किन चाहनेहरुको विवरण सङ्कलन भइरहेको बताए । सङ्कलित विवरणले गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति कार्यक्रम निर्माणमा समेत सघाउने उनको भनाइ छ ।

“गाउँपालिकाबाट हाल भारतलगायतका मुलुकमा रहेका र स्वेदश फर्किन चाहेकाहरु विवरण सङ्कलन भइरहेको छ । स्वदेश आउनेहरुलाई गाउँमै कुन क्षेत्रमा रोजगारी दिने भन्नेमा नीति कार्यक्रममा समेट्छौँ”, उनले भने।

मादीमा दुई हजार

मादी गाउँपालिकाले विदेशमा भएकाहरुको तथ्याङ्क सङ्कलन गरिसकेको छ । मादीका १२ वटै वडाबाट गरेर एक हजार ९६८ जना विदेशमा रहेको विवरण छ । जनप्रतिनिधि तथा टोल विकास संस्थाबाट विदेश भएकाहरुको विवरण जम्मा गरिएको थियो । रुपा गाउँपालिकाले विदेशबाट आउन चाहनेहरुले दैनिक सम्पर्क गर्न थालेको भन्दै थप क्वारेन्टिन निर्माण शुरु गरेको छ । गाउँपालिकामा एक हजार ७९३ विदेशमा रहेको बताइन्छ ।

सातवटै वडाका घरघरमा पुगेर उनीहरुको विवरण सङ्कलन गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिए । विदेश भएकाहरु अवस्था सहज हुनेबित्तिकै स्वदेश फर्किने भएकाले उनीहरुलाई राख्नका लागि हंसपुरको रामकोट माध्यमिक विद्यालयमा ५० जना क्षमताको क्वारेन्टिन निर्माण शुरु गरिएको बताइन्छ । गाउँपालिकाले यसअघि देउरालीमा २५ र भिरचोकमा १० श्ययाको क्वारेन्टिन तयार गरेको छ । भिरचोकमा हाल चार क्वारेन्टिनमा बसेको उनले जानकारी दिए । रासस