काठमाडौँ – नेपाल र चीनबीचको रसुवागढी–केरुङ नाका बुधबारदेखि अन्तर्राष्ट्रिय नाकामा स्तरोन्नति गरिएको छ । अन्तर्राष्ट्रिय नाकाको रुपमा रुपान्तरण भए पश्चात अब रसुवागढी-केरुङ नाकाबाट नेपाली र चीनियाँ नागरिकका साथसाथै तेश्रो मुलुकका नागरिकहरु समेत आवतजावत गर्न सक्ने भएका छन् ।


ADVERTISEMENT


नेपाल र चीनको तिब्बत स्वशासित क्षेत्रबीच रहेको रसुवागढी–केरुङ नाका बि. सं. २०७१ मंसिर १५ देखि द्विपक्षीय नाकाको रुपमा संचालन हुँदै आएको थियो । उक्त नाकाबाट नेपाली र चीनियाँ नागरिकहरु वैधानिक राहदानी र भिसा लिएर एक अर्काका मुलुकमा आवत जावत गर्न सक्ने अवस्था थियो ।  यस नाकालाई अन्तर्राष्ट्रिय नाका बनाउनका लागि सन् २०१७ को जुन महिनामा नेपाल र चीनका परराष्ट्र मन्त्रालयहरुबीच कूटनीतिक पत्र आदान प्रदान भएको थियो ।


ADVERTISEMENT

# # #


उक्त नाका अन्तर्राष्ट्रिय नाकाको रुपमा संचालन भएको घोषणासहित पत्रकारहरुलाई जानकारी गराउन चीनको तिब्बत स्वशासित क्षेत्र सरकारले ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्द बहादुर कार्कीको उपस्थितिमा ल्हासामा एक पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।

उक्त पत्रकार सम्मेलनमा तिब्बत सरकारका तर्फबाट बोल्दै तिब्बत सरकारका सहायक अध्यक्ष लुओ मेइले ल्हासास्थित रसुवागढी-केरुङ नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा घोषणा गर्न पाउँदा खुसी लागेको बताइन् । साथै, उनले चीनतर्फ उक्त नाकाको भौतिक पुर्वाधार पुनर्निर्माण तथा स्तरोन्नतिको कार्य लगभग पूरा भएको र यो नाकालाई अन्तर्राष्ट्रिय नाकामा रुपान्तरण गरेबाट दुई देशबीचको व्यापार, पर्यटन तथा जनस्तरको सम्पर्कमा अभिबृद्धि हुने तथा यसबाट चीनको वान बेल्ट वान रोड कार्यान्वयनमा समेत सहयोग पुग्ने बताइन् ।

उक्त पत्रकार सम्मेलनमा ल्हासास्थित नेपाली महावाणिज्यदूत गोविन्द बहादुर कार्कीले मन्तव्य राख्दै रसुवागढी-केरुङ नाकालाई अन्तर्राष्ट्रिय स्तरको बनाइएबाट दुई देशबीचको व्यापार, पर्यटन, लगानी तथा जनस्तरको सम्बन्ध अझ बढ्ने कुरा बताए ।