काठमाडौँ – सुदुरपश्चिम प्रदेशका सबै (९ वटै) जिल्लामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण फैलिएको छ । सोमबार डोटीमा पहिलो पटक कोरोना देखिएसँगै सुदुरपश्चिमका सबै जिल्ला कोरोनाबाट प्रभावित बनेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार सोमबार कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा डोटीका २५ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो ।


ADVERTISEMENT

# # #


५९ जिल्लामा फैलियो कोरोना 

आज डोटीमा पहिलो पटक कोरोना पुष्टि भएसँगै देशका सातवटै प्रदेशका ७७ मध्ये ५९ जिल्लामा कोरोना संक्रमण फैलिएको छ । प्रादेशिक विवरण अनुसार प्रदेश नं. २ मा सबैभन्दा बढी संक्रमित रहेका छन् भने गण्डकी प्रदेशमा सबैभन्दा कम संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश नं. १ का ९ जिल्लामा संक्रमण फैलिँदा १६८ जनामा कोरोना पुष्टि भएको छ । यस्तै प्रदेश नं. २ का सबै (८) जिल्लाका ६९४ जना (एकको मृत्यु), बाग्मती प्रदेशका १२ जिल्लामा ४६ जना (दुईको मृत्यु), गण्डकी प्रदेशका ६ जिल्लामा २६ जना, प्रदेश नं. ५ का १० जिल्लामा ६२१ जना (तीनको मृत्यु), कर्णाली प्रदेश ५ जिल्लामा १९८ जना (एकको मृत्यु) र सुदूरपश्चिम प्रदेशका सबै (९) जिल्लामा ४५ जना (एकको मृत्यु) संक्रमित रहेका छन् ।

यसरी नेपालमा कोरोना संक्रमितको १७९८ संख्या पुगेको छ । आजै थप २२६ जनामा कोरोना देखिएको छ । कुल संक्रमितमध्ये २२१ जना उपचारपछि निको भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुपाल्चोककी २९ वर्षीय महिला, बाँकेका २५ वर्षीय युवा, गुल्मीका ४१ वर्षीय पुरुष, बाराका ७० वर्षीय पुरुष, ललितपुर महानगरपालिका वुङमती–२२ का ५६ वर्षीय पुरुष, अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाका ३५ वर्षीय पुरुष, दैलेखको दुल्लु नगरपालिकाका ३५ वर्षीय पुरुष र बाजुराकी २ वर्षीया बालिकाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।