धादिङ – यहाँको सिद्धलेक गाउँपालिका–७ अमिलिटारकी बहुअपाङ्गता भएकी एक वृद्धा सरकारले उपलब्ध गराउँदै आएको अवसरबाट वञ्चित हुनुपरेको छ । गाउँमा माइजू भनेर चिनिने यी ६५ वर्षीया वृद्धाले नेपाली नागरिकता, अपाङ्गतासम्बन्धी प्रमाणपत्र, मतदाता नामावलीजस्ता राज्यबाट उपलब्ध हुने कुनै पनि परिचय नपाएकाले सामाजिक सुरक्षाका अवसर पनि पाएकी छैनन् ।


ADVERTISEMENT


भारती थरकी यी वृद्धाको श्रीमान्को एक वर्षअघि मृत्यु भएको र त्यसपछि उनको दिनचर्या झनै दयनीय बन्दै आएको छ । अहिले उनले जस्ताले बारिएको छाप्रोमा जीवन गुजार्दै आएकी छन् । भाँचिन लागेको खाट, धेरै पुराना र पातला ओड्ने उनको सहारा भएका छन् । उनीसँग एकसरो लगाउने लुगा मात्र छ । वर्षात्को पानीले सहज निकास नपाउँदा उनले प्रयोग गर्ने खाटमुनि पानी जम्ने गरेको छ । टोलबाट बगेर आएको पानीले छाप्रोमा गन्ध आउने गरेको छ ।


ADVERTISEMENT

# # #


सहयोगको याचना गर्दा समेत वरपरका मानिसले त्यति वास्ता गरेका छैनन् । ती वृद्धाले खान पाए नपाएको स्थनीयवासीले चासो दिएका छैनन् । यस्ता नागरिकको राज्यले जिम्मा लिनुपर्ने स्थानीय शिक्षिका जानुका रिजालको भनाइ छ । उनले स्थानीय सरकारले अपाङ्गता भएका नागरिकको सुरक्षा गर्नुपर्ने बताइन् ।

दश वर्षअघि नन्द यानकुमारी गिरीको घरको शरणमा बसिरहेकी यी वृद्धाले अहिलेसम्म सरकारको कुनै सुविधा पाएकी छैनन् । गरिब परिवारमा रहेकी उनकी नन्दले जेनतेन खुवाइरहेकी छन् । राज्यले उपलब्ध गराउनुपर्ने कुनै पनि परिचय नभएकाले संरक्षण गर्नसमेत समस्या परेको हो ।

सिद्धलेक–७ का वडाध्यक्ष लक्ष्मण खतिवडाले उनको वंशजको नाता खोज्न लागिएको बताउँदै अर्को वर्ष सामाजिक सुरक्षाभत्ता दिने गरी नेपाली नागरिकता र अन्य कागज बनाउन सहयोग गरिने आश्वासन दिए । उनले आगामी दिनमा त्यस्ता नागरिकको पहिचान गरेर सुरक्षा दिइने प्रतिबद्धता पनि व्यक्त गरे ।