काठमाडौं – उदयपुरको चौदण्डीगढी नगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्र बनाएको छ ।

नगरपालिकाले बुधबार पालिकाको मुख्य बजार बेल्टारमा एकैदिन ३६ वटा पसलमा छड्के अनुगमन गरेको छ । अनुगमन टोलीले विशेषगरी खाद्यान्न, मदिरालगायत दैनिक उपभोगमा आउने वस्तुको म्याद, मूल्यसूची, गुणस्तर, प्याकेजिङ तथा बिक्री–वितरणको अवस्थाबारे जाँच गरेको थियो ।

अनुगमनका क्रममा पसलमा राखिएका विभिन्न उपभोग्य वस्तुको म्याद हेर्नेदेखि मूल्यसूची राखे–नराखेको तथा उपभोक्तालाई तोकिएको मूल्यमा सामान बिक्री भए–नभएको समेत निरीक्षण गरिएको थियो। अनुगमनका क्रममा उपभोगका लागि अनुपयुक्त ६ हजार ६ सय ८२ रुपैयाँ बराबरका म्याद गुज्रिएका सामग्री फेला परेका छन्। बरामद गरिएका ती सामग्री नगरपालिकाको टोलीले नष्ट गरेको जनाएको छ ।

अनुगमन टोलीका प्रमुख श्रीकान्त चौधरीका अनुसार चाडपर्वलाई लक्षित गरेर बजारमा अनुगमनलाई थप प्रभावकारी बनाइएको हो । उनका अनुसार नियमित अनुगमनका कारण व्यवसायीहरूमा समेत सामानको म्याद र गुणस्तरबारे सचेतना बढ्दै गएको छ। नियमित अनुगमन, व्यवसायीलाई सचेतना र उपभोक्ताको सक्रियताले बजारलाई सुरक्षित बनाउन सहयोग पुग्ने नगरपालिकाको भनाइ छ।

नगरपालिकाले व्यवसायीहरूलाई म्याद गुज्रिएका तथा गुणस्तरहीन वस्तु बिक्री नगर्न, पसलमा स्पष्ट मूल्यसूची राख्न र उपभोक्ताको स्वास्थ्य तथा हितलाई प्राथमिकतामा राखेर व्यवसाय सञ्चालन गर्न आग्रहसमेत गरेको छ।