गौशाला – महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा अहिले साइबेरियाली बकुल्ला आउन थालेका छन् । हजारौँको साइबेरियन बकुल्लाले यतिखेर महोत्तरीको गौशाला नगरपालिका र बजार वरपरका रुख सेताम्मे देखिन्छन् । रुख नै ढाकेर सेतो हुने गरी बसेका बकुल्लाजस्तो देखिने साइबेरियन चरा हेर्न अहिले गौशालामा भीड लाग्ने गरेको छ ।


ADVERTISEMENT


अहिले ती चराले महोत्तरीको गौशाला इलाका प्रहरी कार्यालय परिसरमा रहेका रुखलाई आफ्नो वासस्थानका रुपमा प्रयोग गर्ने गरेका छन् । इलाका प्रहरी कार्यालय वरिपरि भएका रुखमा रहरलाग्दा गुँड बनाएर यी चरा बस्ने गर्छन् । यतिखेर महोत्तरीको गौशाला नगरक्षेत्रमा चरा महोत्सव भएजस्तै साइबेरियन चराले भरिभराउ छन् ।


ADVERTISEMENT

# # #


नेपालको यस स्थानमा मात्र आउने साइबेरियन चरा वर्षेनी गर्मी मौसमको शुरुआतसँगै आउने र असोजको अन्तिम सम्ममा पुनः फर्कने गरेका छन् । बकुल्ला जस्तै देखिने सेतो रङका चरा बकुल्ला प्रजातिको भएको र करिब छ महिनासम्म यस स्थानको बसाइँ गर्दछन् । यो समय यी पक्षीका लागि प्रजननको समय भएकाले यस स्थानमा आउने गरेको बताइएको छ । दश वर्षदेखि यी चरा यस स्थानमा आउने गरे पनि सो क्षेत्रका रुख दिन प्रतिदिन पातलिँदै गएपछि सङ्कटमा पर्न लागेको जनगुनासो बढेपछि अहिले वृक्षरोपण पनि शुरु गरिएको छ । रासस