बुटवल – रुपन्देहीको तिलोत्तमा नगरपालिका–१० मा पाँचजनाको सामूहिक हत्याको घटना अनुसन्धान गर्न ५ नं प्रदेश प्रहरी कार्यालयले टोली गठन गरी अनुसन्धान शुरु गरिएको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजकुमार बैदवारको नेतृत्वमा गठन गरिएको तीन सदस्य अनुसन्धान टोलीले आजदेखि नै अनुसन्धान शुरु गरेको जनाएको छ ।


ADVERTISEMENT


अनुसन्धान टोलीको नेतृत्व गरेका प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले घटनास्थलको स्थलगत अध्ययन, स्थानीय केही व्यक्तिसँग सोधपुछलगायतको काम भएको जानकारी दिए । अनुसन्धान टोलीमा प्रदेश दङ्गा नियन्त्रण गणका प्रहरी उपरीक्षक विकाश खनाल, इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौर रहेका छन् ।


ADVERTISEMENT

# # #


तिलोत्तमा नगरपालिका–१० मैनहवास्थित कृष्णबहादुर पुनको गङ्गादेवी पशु फार्ममा काम गर्ने तीन र गाउँका अरू दुई गरी पाँचजनाको सोमबार राति सामूहिक हत्या भएको थियो । सैनामैना मुर्गियाका ४१ वर्षीय माधव मुसहर, ३७ वर्षीया जानकी मुसहर, १४ वर्षीय पोषराज मुसहर, १७ वर्षीय करण चौधरी र आशिष चौधरीको हत्या भएको हो । माधव र जानकी श्रीमान्–श्रीमती हुन् । करण र आशिष पोषराजका साथी हुन् । उनीहरु रमेशसँग समय बिताउनका लागि प्रायः रातिमा गोठमा आएरै बस्ने गरेको फार्म सञ्चालक पुन बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीका अनुसार मृतकहरुको धेरैजसो टाउको र घाँटीमा चोट देखिएको छ । घटनास्थलबाट फर्किएका प्रहरी वरिष्ठ उपरीक्षक बैदवारले मृतकहरुको शव परीक्षणका लागि पठाइएको र छिट्टै नै घटनाको गहिराइमा पुगिने जानकारी दिए ।

सोही गाई फार्ममा सँगै काम गर्ने घटनास्थल नजीकै परालको थुप्रोमा लुकेर बसेका ३१ वर्षीय झसेन्द्र सिञ्जालीलाई हत्या आरोपमा प्रहरीले बिहान पक्राउ गरेको छ । उनले फरुवाले हानेर हत्या गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । हत्या आरोपमा पक्राउ परेका झसेन्द्र करीब दुई महिनाअघि मात्रै सो फार्ममा काम गर्न आएका थिए । यसअघि उनी तिलोत्तमाकै शिवपुरस्थित अर्को पशु फार्ममा काम गर्दछे । त्यहाँ उनी श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि छाडेर गङ्गादेवी पशु फार्ममा आएका हुन् । रासस