-गंगा बराल
नेपालमा अहिले अवसर र चुनौतीको चाङ लागेको छ । कोरोना भाइरस (कोभिड १९) को कारणले विश्व नै त्रासमा छ । तुलनात्मक रुपमा नेपाल अन्य देशभन्दा कम प्रभावित छ । सुरुमा अन्य देशमा जसरी कोरोना फैलिएको थियो त्यसरी नै नेपालमा पनि फैलिएला भन्ने त्रास थियो तर अहिले कम भएको छ । मानिसमा हत्तपत्त संक्रमण नफैलने भएकाले पनि एउटा खतरा हामीमा टरेको छ । तर बेलैमा सचेतना नअपनाउने हो भने आगामी दिन त्यति सजिलो होला भन्न सकिँदैन । संक्रमित नेपाल आएपछि भने नेपालले गर्न नसकेको व्यवस्थापन सधै आलोचित बन्न पुग्यो ।


ADVERTISEMENT


कोरोनाको त्रास त छँदै छ अर्को कुरा नेपालले शनिबार संविधान संशोधन गरेर ऐतिहासिक काम गरेको छ । भारतले मिचेको भनिएको नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नक्सा समेटेर निशान छाप परिवर्तन गरिएको छ । भारतले सधैं नेपालप्रति नकारात्मक सोच राख्ने र पाएसम्म फाइदा लिई आफ्नो स्वार्थ लिने गरेको कारण नेपाल र नेपालीबाट भारत आलोचित हुँदै आएको छ ।


ADVERTISEMENT

# # #


प्रधानमन्त्री केपी शर्मा ओलीको सक्रियतामा सरकारले गरेको यो काम उल्लेखनीय, प्रशंसनीयमात्र होइन ऐतिहासिक पनि छ । संविधान संशोधनमा सबै राजनीतिक दलबीच एकमत हुनु चानचुने कुरा होइन । यो अवस्थालाई मूल्यांकन गर्ने हो भने देश र जनताको पक्षमा राजनीतिक नेताहरु चिन्तित रहेका छन् भन्न सकिन्छ । प्रतिनिधिसभामा उपस्थित २ सय ५८ सांसदमध्ये सबैले संशोधनको पक्षमा मतदान गरे । संविधान अनुसार दुई तिहाइले संविधान संशोधन गर्ने प्रावधान छ । यो अभियानले प्रधानमन्त्री ओलीले आफ्नो व्यक्तित्व बढाएका छन् । सरकार कमजोर भएको, जनताका भावना सम्बोधन गर्न नसकेको र गफमात्र बढी गर्ने आरोप लागिरहेका बेला सरकारले चालेको अभियान सकारात्मक छ भन्ने कसैले पनि शंका गर्ने ठाउँ छैन ।

भारतले गत कार्तिक १६ गते प्रकाशित गरेको आफ्नो नक्सामा नेपालका ती भूमि समेटेपछि नेपालमा चुनौती थपिएको थियो । त्यसपछि सरकारलाई भूमि फिर्ता ल्याउन चौतर्फी दबाब परेको थियो । सरकारले जेष्ठ ५ गते नेपालको नयाँ नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो तर त्यतिबेलै पनि सरकार अब अघि बढ्दैन होला भन्ने शंका गरिएको थियो । त्यस्तो शंकालाई कमजोर पार्दै सरकारले ७ गते नेपालको नयाँ नक्सा सार्वजनिक गरेर सबै भ्रम चिरिदिएको थियो । संविधान संशोधन भइसकेपछि भारत नराम्ररी रिसाएको छ ।

यस बीचमा सरकार किन चुप लाग्यो रु भन्ने प्रश्न पनि स्वभाविक छ । पटकपटकको दबाबपछि सरकार वाध्य भएर अघि बढेको थियो । भारतको विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तले नेपालले आफ्नो भूमि समेटेर नयाँ नक्सा प्रकाशनसँगै निशान छाप परिवर्तन गरेकोमा आपत्ति जनाएका छन् । भारतले वार्ताको वातावरण बनाउनुभन्दा नेपाल अर्को बाटोमा लागेको पनि प्रतिक्रिया दिएको छ । प्रधानमन्त्री ओलीले अब वार्ताको माध्यमबाट भूमि फिर्ता लिने पहल गरिने जनाएका छन् । दुवै देशले त्यो भूमि आफ्नो नै हो भनेर दावी गरिरहेका बेला यसको समाधानको मध्यमार्गी बाटो के हुने भन्ने अझै पनि प्रष्ट हुन सकेको छैन ।

नेपाल हरेक दृष्टिकोणले राम्रो छ । यहाँका प्रत्येक वस्तुको अलग्गै पहिचान र महत्व रहेको छ । विदेशी पर्यटकले पनि नेपाललाई यी र यस्तै कारणले मन पराएका छन् । नेपालको वातावरण, सुन्दरता, हरियाली र यहाँ पाइने अनेक विशेषताले नेपालको पहिचान र प्रतिष्ठा बढाएको छ । नेपालमा सबै थोक भएर पनि कहिलेकाँही केही नभएजस्तो हुन थालेको छ ।

राजनीतिक नेतृत्वको अदूरदर्शी निर्णय र उनीहरुमा देखिएको विचारमा कमजोरीले देशको समग्र व्यवस्था संकटमा परेको छ । कोरोना भाइरसको कारण विदेशमा बस्ने नेपालीहरु त्रासमा छन् । उनीहरु नेपाल फर्कने वातावरर्ण िमलाउन अझै पनि सरकारलाई आग्रह गर्दै आएका छन् । केही भने फर्किइसकेका छन् । उनीहरु त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा उत्रिने बित्तिकै लामो श्वास फेरेका छन् ।

विदेशमा गरेको श्रमको मूल्यांकन नहुने र सस्तो मूल्यमा श्रम बेच्नुपरेको पीडा एकातिर छँदै छ भने अर्कातिर घर परिवारबाट टाढा हुनुको पीडा कम चानचुने छैन । विदेशमा जो जस्तो पनि श्रम गर्न चाहने र नेपालमा भने त्यस्तै काम गर्न नचाहने पुरानै परिपार्टीले अझैपनि जरो गाडेको छ । नेपालीहरु सीपका धनी छन्, जस्तोसुकै काम पनि गर्न सक्छन् तर मुख्य कुरा भनेको नेपालमा काम गर्न हामीलाई लाज लाग्छ ।

गाउँले, छरछिमेक र समाजले देख्छ भन्ने डरले मानिस नराम्ररी पिरोलिएको छ । विदेशमा जस्तै काम गरेपनि कसैले नदेख्ने भएकाले हाम्रो ईज्जत बढ्नु पनि स्वभाविकै हो । अहिले त प्रत्येक घरका कोही न कोही विदेशिएकाले भनेजस्तो पैसा कमाउन सम्भव पनि भएको छ । श्रीमान वा श्रीमती जो गएर भएपनि दुःखले कमाएका छन्, त्यो कल्पना गर्न त्यति सहज छैन ।

नेपालमा पनि सानातिना काम गरे हुन्छ तर हामी गन मन गर्दैनौ, कामै नगरी पैसा कमाउन पाए हुन्थ्यो भन्ने लाग्छ । विदेशमा कमाएको पैसाको सदुपयोग गर्ने हो यहाँ आर्थिक रुपमा फड्को नै मार्न सकिन्छ । कोही बुझेर, नबुझेर, जानेर, नजानेर वा कसैको उक्साहटमा लागेर विदेशिएका हुन सक्छन् तर उहाँ पुगेपछि भने वास्तविक रुपमा नेपाल सम्झने छन् ।

उता कमाएको पैसा एकमुष्ठ हुने र बचाउन सजिलो हुने भएकाले पनि मानिस त्यतातिर बढी लालयित भएका छन् । कोरोना भाइरसको त्रासले विश्व नै संकटमा छ । विकसित देशहरु पनि कोरोनाको कारण सिकिस्त बनेका छन् । औषधी नहुनु र कसैको नियन्त्रण सम्भव नभएकाले पनि कोरोनाले आतंक मच्चाइरहेको छ । विभिन्न कारणले विदेशमा रहेका, अलपत्र परेका र रोजगारी गुमाएकाहरु नेपाल फर्कदैछन् । उनीहरु अब भने नेपालकै विकासमा समय र ज्ञान खर्चने भन्दै आएका छन् । विकसित देश अमेरिकाले पनि भाइरस नियन्त्रण गर्न सकेको छैन । केही अघिसम्म विदेश भनेपछि फरक पहिचान र अस्तित्व सम्झिनेहलाई पनि कोरोनाले टुंगो लगाइदिएको छ ।

नेपालका अधिकांश खेती बाँझै छन् । कामदारको अभावमा खेती हुन सकेको छैन । युवाहरु विदेशिएकाले बुढा बा आमामात्र घरमा हुँदा उव्जनशील जमिनको उपयोग हुन सकेको छैन । युवालाई सरकारले प्रोत्साहन दिएर काममा प्रेरित गर्नुपर्ने खाँचो छ । अहिले बजारको सम्भावना प्रशस्तै भएकाले पनि उत्पादित बस्तु खेर फाल्नुपर्ने अवस्था छैन । तर मुख्य कुरा हामीमा जोश र जाँगरको अभाव छ । अलिकति शिक्षित व्यक्तिले खेती गर्नु हुँदैन, खेतमा पस्यो भने ईज्जत नै जान्छ भन्ने मानसिकताले पिरोलेको छ ।अहिले तीन तहको सरकार छ ।

ती सरकारले किसानलाई अनुकुल हुने कार्यक्रम ल्याउनु जरुरी छ । घरमै बसेर काम गर्ने हो भने एकातिर मानिस घरायशी खानपनिले स्वस्थ्य हुन्छ भने अर्कातिर पारिवारिक बेमेलको समेत अन्त्य हुन्छ । दुःखका साथ भन्नुपर्छ, विदेशिनेको घरमा प्रायजसो मेलसँगै बेमेल र द्धन्द्ध पनि हुने गरेको छ । लामो समयसम्म श्रीमान र श्रीमतीको भेटघाट नहुँदा कतै आपसी अविश्वास पनि बढ्दै गएको छ ।

उताबाट कमाएको पैसा यता उडाउने र फजुल खर्च गर्दै रमाउने प्रचलन पनि कायम छ । यतिमात्र होइन कतिपयका श्रीमती त घर आइपूग्दा नभएका उदाहरण पनि छन् हामीसँग । यो एउटा मानसिक र सामाजिक समस्या हो, दुवैजना सँगै बसे दुःख सुख साट्ने र आपसी विश्वास बढाउने आधार पनि हुने थियो । कतिपय पुरुषले विदशेमै प्रेमिका बानएर उनको प्रेममा फसेपछि घरलाई वेवास्ता गर्दै आएका छन्, जसको परिणाम कहालीलाग्दो मात्र छैन यसै कारणले कतिले उतै अनाहकमा ज्यान समेत गुमाएका छन् । पैसा कमाउने बानी लागेपछि मानिस नेपाल फर्केर आए पनि धेरै बस्न मन गर्दैन किनभने उसले कमाएको पैसाको झलझली सपना देखिरहेको हुन्छ ।

कोरोना भाइरसका कारण नेपालमा गरिएको लकडाउन ८० दिनमा आएर बिहीबारबाट केही खुकुलो भएको छ । लामो समयको लकडाउनमा मानिसमा मानसिक समस्यामात्र भएन आर्थिक क्षेत्र पनि नराम्ररी तहसनहस भयो । मानिसहरुको दैनिक जीवन समेत अस्तव्यस्त भयो । यो समस्या तत्काल अन्त्य हुने सम्भावना पनि छैन तर सँगसँगै घरभित्रै लुकेर वा भागेर बस्ने हो भने पनि समस्याबाट सहजै मुक्ति पाउन सकिँदैन ।

पटकपटकको दवावपछि सरकार लचिलो भएको हो । हिजो २०७२ सालमा भूकम्प जाँदा मानिसले जसरी दुःख भोगेका थियो त्यो सम्झँदा अझैपनि कहाली लाग्छ । भूकम्पका बेलामा जसरी दलहरुबीच एकमत भयो त्यो उल्लेखनीय छ । त्यतिबेला नेपाली कांग्रेसको सरकार थियो, जसको नेतृत्व सुशील कोइरालाले गरेका थिए । जुनसुकै विपतमा पनि पार्टीभन्दा माथि उठेर निर्णय गर्न दलहरु सहमत भएका छन् । भूकम्पपछि देखिएको राजनीतिक सहमति यति फलदायी बन्यो कि त्यसैको जगमा टेकेर नयाँ संविधान बन्यो । हुन त संविधानको पक्ष र विपक्षमा अझैपनि विमति नभएको होइन ।

साँच्चै भन्ने हो भने भूकम्पपछि राजनीतिक एकता नभएको भए संविधान बन्दैनथ्यो । संविधानसभाको निर्वाचन २०६४ सालमा नै भएको हो, संविधानसभाको पटकपटक म्याद थप्दा पनि संविधान बनेन र अन्त्यमा संविधानसभा नै भंग भयो । त्यस्तै अवस्था नआउला भन्न सकिँदैनथ्यो संविधान निर्माणमा फेरि पनि तर जे भयो संविधान बन्यो, यो ऐतिहासिक कदम हो । नेताहरु मात्र होइन हामी नेपालीहरु अन्तिम समयमा आएर निर्णय गर्छौं कतिपय सही वा कति गलत हुन सक्छन् । समय छउञ्जेल रमिता हेर्ने र अन्तिममा आएर दौडधुप गर्ने परम्पराको अन्त्य हुन सकेको छैन । अहिले पनि कोरोनाको त्रासले हामीलाई एकजुट हुन पाठ सिकाएको छ । यो महामारीको अन्त्य गर्दै पार्टी, गुट, राजनीतिक स्वार्थ र व्यक्तिगत चाहनाभन्दा माथि उठेर देश र जनताको विषयमा सोच्नु जरुरी छ ।