ललितपुर, फागुन २३ । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्र विकासको मूल मेरुदण्डका रुपमा रहेका युवालाई समयसापेक्ष रुपमा अनुशासन, नेतृत्व विकास, राष्ट्रिय एकता र विपद् व्यवस्थापनसम्बन्धी ज्ञान दिलाउन सके बढ्दो युवा पलायनलाई रोक्न सकिने बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय सेवाद्वारा सञ्चालित १२ ब्याच सिनियर डिभिजन तालिमको दीक्षान्त कबाज समारोहलाई सम्बोधन गर्दै उनले भने– “युवा पलायनलाई रोक्नसके राष्ट्र विकासका लागि पर्याप्त जनशक्ति निर्माण हुने अपेक्षा गर्न सकिन्छ ।”


ADVERTISEMENT

# # #


सामान्य विपद्का बेलादेखि ठूलास्तरका प्राकृतिक विपत्ति, दुर्घटनालगायतमा समेत सेवा दलबाट तालिम प्राप्त व्यक्तिले अमूल्य योगदान दिनसक्ने जनाउँदै प्रधानमन्त्री दाहालले नेपालजस्तो विपद्को उच्च जोखिममा रहेको देशका लागि यो तालिमको अपरिहार्यता झनै बढेको उल्लेख  गरे ।

आफूले सो तालिम लिएको स्मरण गर्दै उनले युवावस्थाको जोश, जाँगर र उत्साहलाई अनुशासन र देशभक्तिको मार्गमा डोेर्याउन उक्त तालिमले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कडा परिश्रम, लगनशील र उत्सुकताका साथ तालिममा सिकेका सैनिक तथा विविध व्यावहारिक ज्ञानले एक अनुशासित र कर्मठ देशभक्त नागरिकको रुपमा कार्य गर्न फलदायी भएको विश्वास व्यक्त गर्दै प्रधानमन्त्री दाहालले भने–“भविष्यमा समाजको सफल नेतृत्वकर्ताका रुपमा स्थापित भएको देख्न पाएमा नेपाल सरकार, नेपाली सेना र राष्ट्रिय सेवा दलको पहलकदमी सार्थक भएको ठहरिनेछ ।”

अहिलेको मुलुकको विकासका लागि खड्किएको मुख्य दुई समस्याका रुपमा आफूले नीति निर्माणमा चुस्तताको अभाव र देशका लागि काम गर्ने कर्मठ जनशक्तिको न्यूनता देखेको बताउँदै उनले भने– “शिक्षित जनशक्ति विदेश पलायन हुने तथा अर्धशिक्षित जनशक्ति नीति निर्माण तहमा पहँुच राख्न नसक्ने हुँदा अथाह सम्भावनाका बाबजुद पनि मुलुकले विकासमा फड्को मार्न सकेको छैन ।”

राष्ट्रिय सेवा दलका प्रमुख सल्लाहकार मानार्थ उपरथी डा. रमीन्द्र क्षत्रीले युवा जनशक्तिलाई राष्ट्र, राष्ट्रियता, अनुशासन, देशभक्तप्रति प्रतिबद्ध तुल्याउँदै नेतृत्व विकासमा योगदान पुर्याउने उद्देश्यका साथ सङ्गठनले सञ्चालन गर्दै आएको तालिमबाट हालसम्म २६ हजार ८०० छात्रछात्रा लाभान्वित भएको जानकारी दिए ।

‘अनुशासन नै राष्ट्र सेवाको मूल जग हो’ भन्ने आर्दश लिएर २०२२ कात्तिकमा राष्ट्रिय सेवा दलको स्थापना भएको थियो । सेवा दलले पछिल्लो समय मुलुकका ६६ जिल्लाका ९० विद्यालयका छात्रछात्रालाई सय दिनको तालिम प्रदान गर्दै आएको छ ।यस वर्षमात्र सेवा दलले विद्यालयस्तरका तीन हजार ५६५ र उच्चमाध्यामिकस्तरका ४३५ जनालाई तालिम प्रदान गरेको जनाइएको छ ।

सेवा दलले नवलपरासी, सुनसरी र बाँकेमा छात्रछात्राका लागि २१ दिने सामूहिक नेतृत्व विकाससम्बन्धी तालिम प्रदान गर्दै आएको छ । आजको दीक्षान्त समारोहमा उपत्यकाका नौ विद्यालयका छात्रछात्राको सहभागिता थियो । सैनिक नागरिकबीचको सम्बन्ध विस्तारको एउटा शृङ्खला र कडीको यो तालिमलाई हेरिँदै आएको छ ।

युवा पुस्तामा राष्ट्रिय सेवा दलद्वारा प्रदान गर्ने तालिमको लोकप्रियता र माग बढेकाले आगामी दिनमा मुलुकका ७५ जिल्लामा विस्तार गरिने सो अवसरमा जानकारी दिइयो ।

सेवा दलले उक्त तालिममा उत्कृष्ट नतिजा ल्याउने छात्रछात्रालाई युवा आदानप्रदान कार्यक्रममार्फत भारत, बङ्गलादेश र श्रीलङ्का पठाउने गरेको जानकारी दिएको छ ।प्रधानमन्त्री दाहालले समारोहमा तालिममा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रालाई दज्र्यानी चिन्ह्र प्राप्त गर्नुका साथै पुरस्कार र प्रमाणपत्र प्रदान गरेका थिए ।

समारोहमा नेपालको भौगोलिक र सांस्कृतिक विविधता झल्कने गीत सङ्गीत र कला प्रस्तुत गरियो ।