काठमाडौँ – अखिल नेपाल फुटबल महासंघ (एन्फा)ले आफ्ना ७० जना खेलाडीको कोरोना भाइरस (कोभिड–१९) बीमा गर्ने भएको छ ।


ADVERTISEMENT


मंंगलबार एन्फा कम्प्लेक्स, सातदोबाटोमा बसेको कार्यसमितिको आपतकालीन बैठकले राष्ट्रिय फुटबल टिमका महिला तथा पुरुष खेलाडीहरु ३५–३५ जना गरी ७० जना खेलाडीको कोभिड–१९को निम्ति बीमा गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


यस्तै आगामी सन् २०२० को अक्टोबर ८ देखि नेपालमा संचालन हुने विश्व कप फुटबल प्रतियोगिता २०२२ को दोश्रो चरणको खेलका लागि आगामी जुलाई
महिनाबाट नै पुरुष टिमको प्रशिक्षण तयारी संचालन गर्ने निर्णय गरेको छ । एशियाली फुटबल महासंघको निर्देशन अनुरुप राष्ट्रिय खेलकुद परिषद, सम्बन्धित स्वास्थ्य मन्त्रालय र खेलकुद मन्त्रालयबाट समेत आवश्यक स्वीकृति लिई मात्र प्रशिक्षण संचालन गर्ने र आवश्यक अन्य निकायमा पनि पत्राचार गरी स्वीकृति लिने एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए ।

उनका अनुसार आपतकालीन बैठकले संघको विधानको धारा २० बमोजिम संघको बाँकी कार्यकालको अवधिका लागि मानार्थ अध्यक्षमा टासी घलेलाई मनोनयन गरेको छ । यस्तै कोभिड–१९ को राहतस्वरुप फिफाबाट सहमति भए अनुसार ‘अपरेशन कस्ट’ शीर्षकबाट एक लाख अमेरीकी डलर आगामी एक महिनाभित्र फरफारक गर्दै फिफामा आर्थिक प्रतिवेदन पठाउने गरी राहत उपलव्ध गराउने निर्णय गराउने निर्णय समेत भएको छ । साथै फिफाबाट कोभिड–१९ को राहतको निम्ति अनुदान प्राप्त भएपश्चात उक्त रकम सोधभर्ना गर्ने गरी वितरण गरिनेछ ।

यस्तै कास्की जिल्ला फुटबल संघका अध्यक्षको विषयमा छानविन गरी प्रतिवेदन पेश गर्न गठीत छानविन समितिका संयोजक तथा एन्फा सदस्य रत्न कुमार श्रेष्ठको राजीनामा स्वीकृत गर्दै उक्त छानबिन समितिको संयोजक पदामा संघका उपाध्यक्ष वीरबहादुर खड्कालाई मनोनयन गरिएको छ ।