काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताका बारेमा हल्लाको पछाडि लागेर अनावश्यक तर्कवितर्क नगर्न आग्रह गरेका छन् ।


ADVERTISEMENT


राष्ट्रियसभाको आजको दोस्रो बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत राष्ट्रिय योजना आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रपति तथा उपराष्ट्रपति कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि सांसदले उठाएको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री ओलीले त्यस्तो भनेका हुन् । उनले भने, “सो सम्झौतामा के कस्ता विषय समावेश छन् । सो सन्दर्भमा खोजेर पढ्न म सबैलाई आग्रह गर्दछु । हल्लाका पछाडि लाग्नुको कुनै अर्थ छैन ।”


ADVERTISEMENT

# # #


अमेरिकी सेना आउने भो भनेर अनावश्यक रुपमा हल्ला गरिएको र गलत प्रचार गरिएको भन्दै प्रधानमन्त्रीले भने, “कागले कान लग्यो भनेर कागको पछाडि दौड्ने कि कान छाम्ने हो । लहैलहैमा कुद्ने प्रवृत्ति सान्दर्भिक छैन, विकास हुन आट्यो भन्ने चिन्ता हो, कि अनुदान आयो भन्ने चिन्ता हो ?”

प्रधानमन्त्रीले आफूले विगतदेखि नै राष्ट्र, राष्ट्रियताको पक्षमा अडान राखेको र त्यस्तो अडान पदमा रहँदा वा नरहँदासमेत कायम नै रहेको उल्लेख गरे । उनले आगामी साउनको अन्त्यसम्म कोरोना क्रमशः पिकमा पुग्ने र भदौदेखि ओरालो लाग्ने अनुमान प्रस्तुत गरे । उनले नेपालीका ठूला चाडवाड दशैँ, तिहार, छठमा सामाजिक व्यवहारमा ध्यान नदिइएको खण्डमा पुनः कोरोनाको सङ्क्रमण बढ्नसक्ने भएकाले ध्यान दिन आग्रह गरे ।

उनले सरकारले क्रमशः क्वारेन्टिन, उपचारको थप उचित प्रबन्ध गर्दै जाने र विदेशबाट सङ्क्रमित कम आउने सन्दर्भमा कोरोना नियन्त्रण हुने उल्लेख गरे । उनले भने, “कतिपय देशका कार्यकारी प्रमुखले भगवान भरोसा भन्दै हात उठाएको भए पनि नेपाल त्यो अवस्थामा नपुगेको र त्यस्तो दिन आउनै नदिन लागिएको छ ।”

प्रधानमन्त्री कार्यालयमा अनुपयुक्त बजेट विनियोजन नभएको स्पष्ट पार्दै उनले आग्रह तथा पूर्वाग्रहका आधारमा प्रधानमन्त्रीको कार्यालय देख्नै नहुने गरी तर्क गर्नुको समेत अर्थ नभएको बताए। प्रधानमन्त्री ओलीले क्षमताअनुसार कोरोना नियन्त्रणमा बजेट विनियोजन गरिएको र मातहतका सबै निकायमा गरिएको खर्च आवश्यक नै भएको स्पष्ट पारे । कोरानाका कारण शारीरिक मात्रै नभई मानसिक बिरामी बनाएकाले उनीहरुलाई मनोवैज्ञानिक रुपमा सबल बनाउन लाग्नुपर्ने उनले स्पष्ट पारे।

प्रधानमन्त्रीले आफूले अभिभाकत्व लिएको मुगु र सिरहाका बालबालिकासहित देशैभरका विद्यार्थीलाई सहज रुपमा अध्ययन अध्यापन गराउनसमेत पहल गरिरहेको जानकारी दिए । “सरकारले यही असार १ गतेदेखि अनलाइन, रेडियो तथा टेलिभिजनबाट शैक्षिक गतिविधि अगाडि बढाएको छ”, उहाँले भन्नुभयो, “सबै स्थानमा सुविधा, सहुलियत, पहुँच पु¥याउन सकिएको छैन । इन्टरनेट पुर्याउने, कम्प्युटर, टेलिभिजनको पहुँच, टावर, प्रसारणको क्षमता पुगेका छैनन् । त्यस्ता स्थानका विद्यार्थीप्रति चिन्तित छौँ ।” उनले नेपालका विद्यार्थीलाई प्रतिस्पर्धी नागरिक बनाउने गरी सरकारले ध्यान दिएको र सोहीअनुसारको काम गरिने बताए । सरकारले आगामी वर्ष, नेपाललाई साक्षर घोषणा गर्ने योजना बनाएको भए पनि कोरोनाका कारण सम्भव नहुने देखिएकाले अर्को वर्ष लाग्ने प्रधानमन्त्रीको भनाइ छ ।