दार्चुला– दार्चुलामा निर्माणधीन चमेलिया जलबिद्युत परियोजनाका लागि बलाँच–अत्तरिया १३२ केभी प्रशारणलाइन परीक्षण कार्य आइतबारदेखि सुरु भएको छ ।


ADVERTISEMENT


बलाँच–अत्तरिया १ सय ३२ केभीको प्रशारणलाइन र सबस्टेशनको परिक्षण गर्न लागिएको हो । जडान गरिएको उपकरणहरु, १ सय ३१ किलोमिटर प्रशारणलाईन, दार्चुलाको बलाँचमा रहेको सबस्टेशन लगायतको आयोजनाका उपकरणहरुको परिक्षण कार्य सुरु भएको आयोजना प्रमुख अजय कुमार दाहालले जानकारी दिए ।


ADVERTISEMENT

# # #


९९.१९ प्रतिशत काम सम्पन्न भइसकेका बेला आइतबारदेखि बलाँच-अत्तरिया १ सय ३२ केभी प्रशारण लाईन र सबस्टेशनको परीक्षण गरिने भएको छ ।

प्रशारण लाइनको परीक्षण सुरु गर्न प्राधिकरण, कोरियाली ठेकेदार तथा परामर्शदाता, इन्जीनियरहरु लगायत प्राविधिकहरुको टोलीले अत्तरियाबाट परिक्षण कार्य सुचारु गरेको आयोजनाले जनाएको छ । १ सय ३१ किलोमिटर प्रशारण लाईन र सबस्टेशन, विभिन्न उपकरणहरुको परिक्षण कार्य १५ दिन सम्म गरिने छ ।

सन् २००७ देखि सञ्चालन भएको राष्ट्रिय गौरवको आयोजना तथा सुदूरपश्चिमको सबैभन्दा ठूलो आयोजना चमेलिया जलविद्युत् आयोजनाले यसै वर्षदेखि बिद्युत उत्पादन सुरु गर्नेछ ।

अब अडिट टनेल नम्बर २ र ३ ब्लकिङ गर्ने काम र केही उपकरणहरु मात्रै जडान गर्न बाँकी रहेको आयोजना प्रमुख दाहालले जानकारी दिए ।

२०११ मा सम्पन्न हुने भनिएको आयोजनाको काम विभिन्न भौगोलिक, राजनीतिक, भेरिएसन तथा सरकारको बेवास्ता र ठेकेदारको लापरबाहीका कारण आयोजनाको काम लम्बिएर सन् २०१७ डिसेम्बरमा सम्पन्न हुने भएको छ ।

८ अर्ब ५० करोड लगानीमा सम्पन्न गर्ने भनिएको ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको काम सम्पन्न भइसक्दा सम्म १५ अर्ब ६० करोड लाग्ने अनुमान छ । हालसम्म आयोजनाको करिब १४ अर्ब ५० करोड खर्च भइसकेको छ भने काम सम्पन्न भइसक्दासम्म १५ अर्ब ६० करोड खर्च हुने अनुमान गरिएको छ ।