काठमाडौँ – कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले बन्दाबन्दी लागू गरिएपछि बन्द गरिएको पशुपतिनाथको मूल मन्दिर क्षेत्रभित्र मर्मतसम्भार शुरु गरिएको छ ।


ADVERTISEMENT


मूल मन्दिरभित्र छापिएको ढुङ्गा हल्लिएकाले खाली भएका बेला निकालेर मर्मतसम्भार शुरु गरिएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले जानकारी दिए । हल्लिएका ढुङ्गा निकालेर पुटिङ भर्ने काम भइरहेको छ ।


ADVERTISEMENT

# # #


मूल मन्दिरभित्रको चन्दन घोट्ने घर जीर्ण भएकाले भत्काइएको छ । चन्दन घोट्न र भण्डारी सुत्नका लागि महेन्द्र सहारा सत्तल प्रयोगमा ल्याइएको पनि उनले बताए । चन्दन घोट्ने घरसँगैको भान्छा घर गत वर्ष नै भत्काएर पुनःनिर्माण भइरहेको छ । यी संरचना विसं २०७२ वैशाख १२ गतेको भूकम्पले जीर्ण भएका थिए ।

भूकम्पले क्षति पुगेका पशुपतिका ९० वटा संरचनामध्ये ४२ वटाको पुनःनिर्माण सम्पन्न भएको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए । भूकम्पपछि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले काम शुरु गरेको पाँच वर्षमा पुरातात्विक महत्वका सबै संरचना बनाइसक्ने प्रतिबद्धता गरे पनि पशुपति क्षेत्रका ६० वटासम्मको पुनःनिर्माण सकिने भएको कोषले जनाएको छ ।

हाल १४ वटा संरचना पुनःनिर्माणका लागि खरिद प्रक्रियामा रहेको छ । बन्दाबन्दीपछि जयवागेश्वरी मन्दिरको पुनःनिर्माण शुरु भएको छ । प्राधिकरणको कार्यकाल आगामी माघ दोस्रो साता सकिँदैछ । यसैगरी मृगस्थली क्षेत्रका १० शिवालय पनि पुनःनिर्माणका क्रममा छन् । विश्वरुप मन्दिर पुनःनिर्माणका लागि विस्तृत परियोजना प्रस्ताव निर्माण सम्पन्न गरी आगामी आर्थिक वर्षदेखि काम शुरु गर्ने तयारी भएको छ । यसका लागि पुरातत्व विभागको सहमति लिने प्रक्रिया अघि बढेको जनाइएको छ ।

पशुपतिमा भक्तजन प्रवेश गराउन विशेष तयारी शुरु

पशुपतिनाथ मूल मन्दिरमा बन्दाबन्दी शुरु भएदेखि नै भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । असार १ गतेदेखि बन्दाबन्दीलाई खुकुलो बनाइए पनि मठमन्दिर, शैक्षिक संस्था र सार्वजनिक यातायात भने खोलिएको छैन । सरकारले मठ मन्दिरलाई खुला गरेपछि भक्तजनलाई सुरक्षित तरिकाले दर्शन गराएर फर्काउनका लागि कार्यविधि बनाएर तयारी थालिएको पनि कार्यकारी निर्देशक खतिवडाले जानकारी गराए ।

भक्तजनलाई सरकारले तोकेअनुसारको दूरीमा राख्ने, पर्याप्तमात्रामा स्वयंसेवक खटाउने, चन्दन पातमा राखेर दिने निधारमा नलगाइदिनेलगायत व्यवस्था गर्न लागिएको कोषले जनाएको छ । आगामी असार २१ गतेदेखि मठ मन्दिर एवं सार्वजनिक यातायात दूरी कायम गरेर सेवा सञ्चालन गर्ने गरी खुला हुनसक्ने भएकाले त्यसैअनुसार तयारी गरिएको छ ।

असार १ गतेदेखि पशुपति क्षेत्रको सरसफाइका लागि सफाइकर्मीलाई विशेषरुपमा परिचालनसमेत गरिएको छ । चैत ११ गतेदेखि जारी बन्दाबन्दीका क्रममा पशुपति क्षेत्रको सबैतिर सफाइ हुन नसकेको गुनासो स्थानीयवासीबाट आएको थियो ।