काठमाडौँ, २३ फागुन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले निर्धारित समयमा स्थानीय निर्वाचन हुनेमा शङ्का नगर्न आग्रह गरेका छन्।


ADVERTISEMENT


रिपोर्टर्स क्लबले आज आयोजना गरेको साक्षात्कारमा उनले भने – ‘संविधान कार्यान्वयनका लागि स्थानीय तहको निर्वाचन सुरुआत भएको र त्यसपछि अन्य दुई तहको चुनाव पनि गर्ने तयारी भइरहेको छ ।’


ADVERTISEMENT

# # #


मन्त्री नायकले सरकारले सबै दलसँग छलफल गरेर निर्वाचनको मिति घोषणा गरेको उल्लेख गर्दै भने– “सरकारले समयमा नै स्थानीय तहको चुनाव सम्पन्न गराएर लामो समयदेखि हुने जनप्रतिनिधिविहीन अवस्थाको अन्त्य गर्ने छ।”

संविधान संशोधन प्रस्ताव पारित हुने अवस्था अहिले नदेखिएकाले स्थानीय तहको निर्वाचनपछि प्रदेश र केन्द्रीय संसद्को निर्वाचन अघि पारित गराउने गृहकार्यमा सरकार लागेको बताउँदै उनले भने, “संविधान संशोधनको प्रस्ताव अगाडि बढाउन नदिने शक्ति र सो प्रस्ताव जसरी पनि पारित गर्नुपर्छ भन्ने शक्तिले मुलुकमा अस्थिरता थपेका छन्, ती दुवै विचार अतिवाद हुन्, समस्याको समाधानका लागि मध्यममार्ग आवश्यक छ ।”

मन्त्री नायकले स्थानीय तह पुनःसंरचना गर्दा जनसङ्ख्याका आधारमा थप गरिसकेको र जनसङ्ख्याका आधारमा एकाइ बनाउने कुरामा सरकार प्रतिबद्ध रहेको बताउँदै आयोगले सिफारिस गरेका आधारमा सङ्ख्या बढाएर अहिले सात सय ४४ स्थानीय तह पुर्याइएको बताए ।

नेकपा (माले)का महासचिव सिपी मैनालीले तोकिएको मितिमा स्थानीय तहको निर्वाचन गर्नका लागि सरकारलाई प्रतिबद्ध भएर लाग्न सुझाव दिए ।

नेकपा (एमाले)का रामेश्वर फुयाँलले नेपालको कुनै पनि भागमा आवतजावत तथा शान्तिपूर्ण सभाको आयोजना गर्न पाउने संवैधानिक व्यवस्थाअनुसार एमालले मेची–महाकाली अभियान गरेको उल्लेख गर्दै उक्त अभियानले संविधान कार्यान्वयनमा सहयोग पुर्याउने बताए ।

उनले स्थानीय तहको निर्वाचन र संविधान संशोधनबीच कुनै साइनो–सम्बन्ध नै नरहेको बताउँदै मधेसी मोर्चाले अभियानलाई अवरोध गरेर भुल गरेको र यसले मोर्चालाई नै घाटा हुने विचार व्यक्त गरे ।

मधेसी मोर्चाका नेता लक्ष्मणलाल कर्णले जनसङ्ख्याका आधारमा स्थानीय तह र प्रदेशसभामा प्रतिनिधित्व हुनुपर्ने आफूहरुको माग रहेको बताउँदै संविधान संशोधनका माध्यमबाट मोर्चाका माग पूरा नभएसम्म चुनावमा सहभागी नहुने धारणा व्यक्त गरेका थिए